ad ad

समाज


सीताको पीडाः कोरोना संक्रमित श्रीमानसँग भेटेर कस्तो छ भन्न पनि पाएकी छैन

सीताको पीडाः कोरोना संक्रमित श्रीमानसँग भेटेर कस्तो छ भन्न पनि पाएकी छैन

सागर न्यौपाने
चैत २४, २०७६ सोमबार १८:२४,

घर नजिकैका मानिसले आफ्ना श्रीमानलाई कोरोना भाइरस (कोभिद १९) संक्रमण भएको सुनाएपछि सीता सुनार झसङ्ग भइन्, उनलाई निकै नरमाइलो लाग्यो।

गोडा फलत्तै गले। केहि बोल्न पनि सकिनन्।

संसारभर डढेलो झैं फैलिएको यो रोगबारे उनले वरिपरिका मानिसबाट केहि दिनयता निकै हल्ला सुनेकी थिइन्। यो कस्तो रोग हो भन्ने उनलाई केहि थाहा थिएन।

उनले रेडियो र नजिकका मानिसहरुबाट कोरोना ‘एउटा डरलाग्दो नयाँ रोग हो, यो लाग्यो भने ज्यानै जानसक्छ’ भन्ने सुनेकी थिइन्। सुन्दै उनको आङ सिरिङ्ग भएको थियो।

३० वर्षीया सुनारले यस्तो डरलाग्दो रोगले आफ्ना चिनजानका कसैलाई नछोओस् भन्ने कामना गरेकी थिइन।

त्यही रोग आफ्नै श्रीमानमा समेत सर्यो भन्ने सुन्नुपर्दा आफूमाथि ठूलो समस्या आइपरेको ठानिन्। यस्तै सोचाई मनमा भनभनी घुम्न थालेपछि उनी बेहोस भएर ढलिन्।

कञ्चनपुर जिल्लाको बेदकोट वडा नम्बर १० चथरीकी स्थायी बासिन्दा हुन् सीता। श्रीमानले ज्याला, मजदुरी गरेर दुई छोराछोरी सहितको चारजनाको पेट पाल्दै आएका छन्। उनीपनि सोही स्थानमा ज्याला मजदुरी गर्छिन्।

फागुनको अन्तिमताका तराईको सो जिल्लामा उखर्माउलो गर्मी सुरु भइसकेको थियो। गर्मी बढ्दै गएपछि आफ्नै गाउँठाउँमा ज्यालादारी गर्ने काम पनि पाइन छोड्यो।

त्यसैले चैत लागेपछि रोजगारीको लागि छिमेकी भारतको उत्तराखण्ड जाने कुरा श्रीमानले सीतालाई सुनाए।

कोरोनाको प्रकोप सबैतिर फैलिएको, मानिसको ज्यानै गइरहेको वरपरका मानिसहरुबाट सुनेकी सीताले श्रीमानलाई ‘अहिले समय राम्रो छैन, सबैले नराम्रो रोग फैलिएको हल्ला चलाएका छन्, भो नजानू’ भन्ने सल्लाह दिएकी थिइन्।

तर श्रीमानले ‘राम्रै काम पाइएको छ, गएपछि अलिअलि कमाई हात लाग्छ’ भनेपछि सीताले रोक्न सकिनन्।

Gaurifanta coronaभारतबाट फर्केकाहरुकाे ठूलाे संख्या नेपाल प्रवेश गर्न नपाएपछि कैलालीको गौरीफन्टा नाकामा जम्मा भएका थिए।

चैतको पहिलो हप्ता उनका श्रीमान भारतको उत्तराखण्ड तर्फ लागे। सुदूरपश्चिमको सो क्षेत्रबाट रोजगारीका लागि अधिकांश मानिस कामको खोजिमा उत्तराखण्ड नै जाने गरेका छन्।

त्यतिबेला नेपालमा एकजना कोरोना संक्रमित भेटिइसकेका थिए र निको पनि भइसकेका थिए।

उनी भारततर्फ गएको ३ दिनमै नेपालमा दोस्रो संक्रमित भेटिएको थियो भने भारतमा पनि फटाफट कोरोना संक्रमित भेटिन थालेको खबर सीतासमक्ष ठोकिन थाले।

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको कुरा सुनेपछि सीतालाई आफ्ना श्रीमानलाई पनि केही हुने पो हो कि भन्ने चिन्ताले सताउन थाल्यो।

श्रीमानले आफू उत्तराखण्ड प्रदेशको कालापहाड पुगेर सडक निर्माणको काम गर्न थालेको सीतालाई बताएका थिए।

नेपालमा कोरोना संक्रमण फैलिनसक्ने संभावनाका कारण एसईई जाँच लगायत महत्वपूर्ण कार्यक्रम सारियो। चैत ११ गतेबाट त सरकारले देशव्यापी लकडाउन नै सुरु ग¥यो।

उता भारतमा पनि त्यसकै भोलिपल्टबाट नरेन्द्र मोदी सरकारले देशैभर २१ दिनका लागि लकडाउन घोषणा गर्योे।

त्यहीबेला सडक निर्माणको काम लगाउने ठेकेदार नै फरार भए, जसले उनीहरूलाई दैनिक दुई सय रुपैयाँ मात्र दिएर काम लगाउने गरेका थिए। त्यसपछि सीताका श्रीमानसँगै अरु ४ जना पनि नेपाल आउन हिँडे चैत १४ गते।

गाडी नचलेका कारण ४ दिन हिँडेरै उनीहरु नेपालको सीमानाका गड्डाचौकी आइपुगे चैत १८ गते।

प्रहरीले चेक जाँच गर्यो।

सँगै आएकामध्ये ३ जनालाई क्वारेन्टिनमा पठाइयो। एकजना भने नाकाभन्दा अर्को बाटो हिँडेर राती १० बजेतिर घर पुगे। उनलाई पनि प्रहरीले भोलिपल्ट बिहानै घरमै लिन गएर क्वारेन्टिनमा लगेर राखे।

क्वारेन्टिनमा बसेकै बेला सबैको स्वाव परीक्षण गरियो ।

चैतको २२ गते, सीताको श्रीमानमा कोरोना संक्रमण देखियो।

श्रीमानलाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखेर उपचार भइरहेको उनले सुनेकी छन्। तर ४१ वर्षीय आफ्ना श्रीमानलाई भेट्न, कुरा गर्न र उनको अवस्था प्रत्यक्ष बुझ्न समेत नपाएर सीता अहिले पनि छटपटिरहेकी छन्।

सोमबार साँझ नेपालखबरसँग कुरा गर्दा सीताले रुँदै पहिलो प्रश्न गरिन्, ‘मेरो श्रीमानलाई कहाँ राखेको छ? मलाई भेट्न किन नदिएको होला? तपाईंलाई केही जानकारी भए भन्नु न।’

भारतबाट नेपाल आउने क्रममा सीमाबाटै प्रहरीले श्रीमानलाई समातेर क्वारेन्टिनमा राखेको सुनेपछि उनी भेट्न गएकी थिइन्। निकै प्रयास गरिन् तर, भेट्न पाइनन्। क्वारेन्टिनमा राखिएका शंकास्पद बिरामीलाई भेट्न हुँदैन भन्ने सीतालाई सायद राम्रो थाहा छैन।

‘सीमामा आइपुग्ने बित्तिकै प्रहरीले पक्रेर क्वारेन्टिनमा लगिहालेछ,’ नेपालखबरसँग सीताले भनिन, ‘१ दिन क्वारेन्टिनमा भेट्न गएँ तर, भेट्नै दिएनन्। भेटेर कस्तो छ भन्न पनि पाइँन।’

क्वारेन्टिनमा बसेको बेला श्रीमानसँग फोनमा २ मिनेट मात्र कुरा भएको सीताले सुनाइन्।

‘भेट्न नपाएपछि फोनमा भएपनि धेरै कुरा सोध्न मन लागेको थियो, बुढाको आफ्नै फोन छैन’, उनले सुनाइन्, ‘अर्काको फोन राखिहाल्नुभयो, मलाई त सारै चिन्ता लागिरहेको छ।’

फोनमा कुरा गरेको बेला श्रीमानले ‘चिन्ता नगर्नु’ भनेको सम्झिन्छिन् तर उनको मन ढुक्क हुनसकेको छैन।

‘जम्मा २ मिनेटजति कुरा गर्दा उहाँले तिमी राम्रोसँग बस्नु, बच्चाको ख्याल गर्नु, चिन्ता नगर्नु, खानपान गर्नु भन्नुभयो,’ रुँदै सीताले थपिन, ‘भारतबाट ४ दिन हिंडेर आएको बुढा आफ्नै ठाउँ आएपछि पनि भेट्न नपाउने यो कस्तो रोग आयो।’

क्वारेन्टिनमा राखेको ३ दिनपछि चैत २२ गते उनको श्रीमानलाई कोरोना संक्रमण भएको पुष्टि भयो। त्यो खबर रेडियो, टिभी र छरछिमेक सबैतिर फैलियो। सीताको कानमा पनि ठोक्कियो।

कोरोना संक्रमण भएको सुनेपछि सीताले आफूलाई सम्हाल्न सकिनन्।

उनका दुबै खुट्टा फतक्क गले अनि थचक्क बसेको उनलाई याद छ। त्यसपछि बेहोस भएकी उनले केहि थाहा पाइनन्। कोरोना संक्रमितमध्ये अधिकांश निको भएर घर फर्कन्छन्, केही समय अस्पतालको आइसोलेसनमा बस्दा भेटघाट गर्न नमिल्ने मात्र हो। तर धेरै मानिस कोरोना भनेपछि अहिले आत्तिने अवस्था छ र, सीताको अवस्था पनि त्यस्तै देखिन्छ।

अहिले श्रीमानलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

भारतमा कसरी र कोेबाट कोरोना सरेको हो भन्ने सीतालाई थाहा हुनै कुरै भएन। श्रीमानलाई भेटेर सोध्न समेत नपाउँदा उनको छटपटी अझ बढेको छ।

‘नेपालबाट गएको दुई हप्तामै कोरोना संक्रमण भएको खबर सुन्नुपर्यो,’ उनले आफ्नो व्यग्रता व्यक्त गरिन्, ‘मैले पनि भेट्न नपाउने के यस्तो समस्या आइलाग्यो?’

लकडाउन गरिएको मंगलबार १५ दिन हुँदैछ। नेपालमा स्थानीय संक्रमण भएको बिरामी समेत भेटिएपछि सरकारले लकडाउन, क्वारेन्टिनलगायत रोकथामका उपायलाई अझ कडाइका साथ लागु गर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन अवधि एक हप्ता थपेर बैशाख ३ सम्म पुर्याएको छ।

लकडाउनकै कारण उनीहरु घरबाट बाहिर निस्कन पाएका छैनन्। श्रीमानको शुभखबर सुन्न आतुर सीता साना छोराछोरीसहित छटपटीका साथ घरमै बसेकी छन्।

आइसोलेसनमा उपचारका क्रममा उनका श्रीमानको थप परिक्षण गरिने छ। ती परीक्षणमा कोरोना भाइरस नरहेको (नेगेटिभ) रिपोर्ट आएपछि मात्र उनलाई छाडिनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .