दिनरात कडा मेहनत गर्ने हो भने छोटो समयमै ठूलो सफलता पाउन सकिने रहेछ। यसको पछिल्लो एउटा उदाहरण बनेकी छन्, प्रहरी नायब निरीक्षक कुन्जाङ छोपेल शेर्पा।
कराते खेलाडी। प्रहरी अधिकृत। उनलाई सानैबाट अरुभन्दा फरक हुन मन पर्थ्यो। त्यसैकारण उनको परिचय पनि थपिँदै गएको छ। अब उनी प्रहरी अधिकृत मात्र रहिनन्, नेपाल प्रहरीबाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला पनि बनेकी छन् कुन्जाङ।
गत जेठ ५ गते ८८४८ मिटर अग्लो सिवश्वकै सर्वोच्च चुचुरो सगरमाथाको सफल आरोहण गरेपछि उनको बर्दीमा एउटा फुली त थपिएको छ नै, व्यस्तता पनि ह्वात्तै बढेको छ।
सगरमाथा चढ्न जानुअघिसम्म असइसा’प रहेकी उनी फर्कंदा सइसा’प बनिसकेकी थिइन्। कतिपय अवस्थामा प्रहरी अधिकृतहरूलाई सहायक निरीक्षकबाट नायब निरीक्षक बन्न वर्षौं लाग्न सक्छ। तर, उनले यो सफलता अढाई वर्षमै हासिल गरिन्। त्यसका लागि उनको मेहनत कम छैन।
बुबालाई जवाफ– तपाईंकी छोरी इतिहास रचेर आउँछे
सगरमाथाको सफल आरोहण गरेर काठमाडौँ फर्केलगत्तै नेपालखबर ‘तत्कालै’मा कुन्जाङले आफ्नो अनुभव सुनाइन्। प्रहरीको आधारभूत तालिम लिँदै गर्दा उनलाई दौडिन फिटिक्कै मन पर्दैनथ्यो। साथीहरूदेखि प्रशिक्षकसम्मलाई यो कुरा थाहा थियो। कहिलेकाहीँ उनी रनिङमा फेल पनि हुन्थिन् र गाली खान्थिन्।
तर, सगरमाथा आरोहणको तयारी गर्दैगर्दा उनलाई आफ्नो सबलता थाहा भयो।
‘रक क्लाइम्बिङ गर्ने बेलामा मेरो बलियो पक्ष थाहा पाएँ। अनि सोचेँ, मैले त यो गर्ने नै हो। अरुलाई गाह्रो हुने काम म सजिलै गरिरहेको हुन्थेँ। रक क्लाइम्बिङको प्रशिक्षण गर्ने बेलामा पुरुष साथीहरूले हामीले त सकेनौँ तिमीले कसरी गर्छौ भन्नु हुन्थ्यो। मैले उहाँहरूलाई पनि मोटिभेट गर्थेँ,’ थापाथलीस्थित नेपालखबर स्टुडियोमा उनले आफ्नो अनुभव सुनाइन्।

आफ्नो खुबी थाहा पाएपछि उनी सगरमाथा आरोहण गरिछाड्ने अठोटमा पुगिन्। आरोहणअघि प्रहरी प्रधान कार्यालयबाट स्वीकृति पत्र लिएर उनी बुबालाई देखाउन घर पुगिन्।
‘यसमा त धेरै पैसा लाग्छ, जोखिम पनि हुन्छ, तिमीले के गर्न आँटेको?’ बुबाले सोधे।
उनले जवाफ दिइन्, ‘पैसा कति लाग्छ, कसरी कमाउने, सक्छ सक्दैन, केही नसोच्नू। यति सोच्नू– छोरीले इतिहास रचेर आउँछे।’
बुबाले फेरि सोधे, ‘तिमीलाई सक्छुजस्तो लाग्छ त?’
‘आफ्नो छोरीमाथि विश्वास छैन तपाईंलाई?’ उनले प्रतिप्रश्न गरिन्।
‘विश्वास त छ,’ बुबाले भने।
बुबालाई मनाउन कठिन भए पनि दाइदिदी र ममीले उनको समर्थन गरे।

जब अक्सिजन सकिएर ढलिन्
कुन्जाङको लक्ष्य सगरमाथा चढ्नु मात्र थिएन। उनलाई महिला र बालबालिकाको मुद्दा चुचुरोबाट सबैले सुन्नेगरी उठाउनु थियो। त्यसैले उनले सगरमाथामा नेपालको झण्डा, नेपाल प्रहरी र सितोरियो करातेको झण्डा फर्फराउनुका साथै ‘महिला र बालिकाविरुद्ध हुने हिंसा अन्त्य गर्न सबै एकजुट हौँ’ भनेर सातवटा भाषामा लेखिएको नारा प्रदर्शन गरिन्।
‘अपराध न्यूनीकरणका लागि यो गम्भीर मुद्दा थियो। नेपाल प्रहरीको तर्फबाट पहिलो महिला प्रहरी भएर म एक्लै पक्कै पनि सगरमाथातर्फ गएको थिइनँ। सबै महिला र महिला प्रहरीको साहस लिएर गएको थिएँ,’ आफैमा साहस थप्दै कुन्जाङ भन्छिन्।
सगरमाथाको आरोहणका क्रममा आफूले मृत्युलाई नजिकैबाट देखेको कुन्जाङको भनाइ छ।
‘साउथ समिटमा पुग्नुअघि हिलारी स्टेपबाट अलि माथि मौसम राम्रो छ भनेर हेरेर गएको थिएँ। त्यो दिन अलिक धेरै मान्छे हुनुहुन्थ्यो। तर मौसमको के भर! एकैछिनमा यस्तो खराब भयो! त्यहाँ पालैपालो हिँड्न पर्ने, ओभरटेक गरेर जान पनि नमिल्ने हिउँको थुप्रो मात्र। त्यसमा धेरै बेर अडिन पनि नसकिने। बाटो जाम हुँदा अक्सिजन पनि छिटो सकिने भयो,’ उनले सुनाइन्, ‘मलाई अलिक अगाडिदेखि नै रिमरिम भइरहेको थियो, आफैलाई बलियो बनाउने प्रयास गरिरहेको थिएँ। तर, त्यसपछि केही देखिनँ। ढलेको थाहा पाइनँ।’

कुन्जाङ ढलेपछि शेर्पाहरू उनलाई सहयोग गर्न दौडिए।
उनले थपिन्, ‘शेर्पाहरू दौडेर आउनुभएछ, पछाडि अंकल पनि हुनुहुन्थ्यो, उहाँहरू आउनुभयो। मेरो अगाडि पनि दुईजना शेर्पाहरू हुनुहुन्थ्यो, उहाँहरू पनि आउनुभएछ। त्यो बेलामा मेरो अक्सिजन सकिएको रहेछ, मेरो अक्सिजन फेर्दिनुभयो। दुई मिनेट मात्र ढिलो भएको भए, म मर्ने रहेछु्। उहाँहरूले क्विक रेस्पोन्स गर्दिनुभयो। त्यही भएर अहिले यहाँ छु।’
बेहोसीमा आफूले झल्झली मृत्युको दृश्य देखेको उनको भनाइ छ।
‘मलाई पुलिसको झण्डा ओडाएर मेरो अन्तिम संस्कार गरिरहेको, ममीले केही हुँदैन, उसले आफैले खोजेर गएको, उसले रोजेको कुरा हो, अरुले पठाएको हैन भन्दै हुनुहुँदोरहेछ। बाबा चाहिँ हैन यसले अझै धेरै गर्थी होला भन्दै हुनुहुन्थ्यो, दाइदिदी तनावमा हुनुहुन्थ्यो। बेहोसीमै त्यस्तो देखेँ,’ उनी भन्छिन्।
तर, त्यस्तो कठिनाको माझ पनि उनी हार मान्न तयार थिइनन्।
‘मैले दोस्रो अप्सनको बारेमा कहिल्यै सोचिनँ। गिभ अप गरौँ भन्ने मेरो रगतमै छैन जस्तो लाग्छ,’ कुन्जाङ भन्छिन्, ‘हिमाल चढेर फर्केपछि परिवार, आफन्तहरू विमानस्थलमा लिन आउनुहुन्छ। म हात हल्लाउँदै हिँड्छु। बुबाआमा, आफन्त खुसी हुन्छन्, शेर्पा समुदायले पनि गर्व महसुस गर्छ। उहाँहरूको पेसालाई मैले सरकारी सेवामा भएर पनि साथ दिएँ भन्ने सोचेर आफूलाई मोटिभेट गर्थें।’
शिखरमा पुग्दासम्म पनि उनको दिग्भ्रम पूरै हराएको थिएन।
‘मेरो शेर्पाले मलाई ‘दिदी तपाईंको ब्यानर’ भने। मैले ‘के ब्यानर?’ भनेँ। म किन आएँ, के भइरहेको छ भन्ने भयो। यसो हेरेको, पुलिसको निलो ड्रेस, फुली र नेम प्लेट देखेँ अनि म पुलिस हो। म यस्तो गर्न आएको। मेरो संगठनले बिदाइ गरेर यसरी पठाएको छ भन्ने लाग्यो निन्द्राबाट ब्युझिएँजस्तो भयो,’ उनले सुनाइन्, ‘मैले सुनेको थिएँ, हिमालमा मान्छे अक्सिजनको कमी भएपछि दिमागले काम नगरेर सेफ्टी गियर खोलेर तिब्बततिर हाम फाल्न खोज्छन् भन्ने। त्यो मैले पनि महसुस गरेँ। मलाई नि यो सबै खोलेर तिब्बततिर हाम फाल्दिऊँ भन्ने भयो।’

नभन्दै हिमाल चढेर आएपछि उनको धूमधामको स्वागत भयो।
‘मलाई लिन प्रहरीका म्यामहरू आउनुभएको थियो। उहाँहरूलाई देख्दा यस्तो खुसी लाग्यो। प्रहरी प्रवक्ताले मलाई झण्डा ओढाइदिनु भयो। केही समयअघि त्यही सपना देखेको थिएँ, त्यो बेलामा मैले झण्डा अगाडि ओढेको देखेको थिएँ, उहाँले पछाडि ओढाइदिनु भयो। यो सपना हो कि विपनाजस्तो लाग्यो,’ उनी सुनाउँछिन्, ‘मैले सोचेँ, म बलियो मान्छे हो, रुनुहुँदैन। अनि म रोइनँ।’
सगरमाथा चढेर आएपछि जीवनलाई हेर्ने दृष्टिकोण नै फेरिएको महसुस उनले गरेकी छन्।
भन्छिन्, ‘एक मुठी सास जान केही बेर नलाग्ने रहेछ। झन् त्यहाँ शेर्पाहरू देखेर त केको घमण्ड गर्ने, किन स्वार्थी हुने भन्ने लाग्यो। बेस क्याम्पबाट राति हिँड्न पर्ने। न भोक, न आराम केही छैन, शेर्पाहरूमा ईर्ष्या, थकान केही छैन। डेथ जोनमा पुगेर त्यस्तो गर्दा जीवन के रहेछ र भन्ने हुने रहेछ। शेर्पाहरूलाई सम्मान गर्नैपर्छ।’
शेर्पाहरूको दुःख देखेर आफ्नो मन कटक्क भएको उनले सुनाइन्।

असाधारण काम गर्ने चाहना
कुन्जाङलाई सानोमा प्रहरीले अनुसन्धान गरेर अपराधी पत्ता लगायो भनेको सुन्दा अचम्म लाग्थ्यो। प्रहरी भनेका गाउँका धामीझाँक्रीभन्दा खतरा हुन्छन् क्या हो भन्ठान्थिन्।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–९ कुरिमामा जन्मेकी कुन्जाङले घरभन्दा दुई दिन टाढा रहेको सोलु दुधकुण्ड नगरपालिका–१ फुङबुचे र जुनबेसीबाट माध्यामिक विद्यालय पढेकी हुन्। एसईईपछि काठमाडौँ आएकी उनले रिलाइन्स इन्टरनेसनल एकेडेमीबाट ११ र १२ कक्षा उत्तीर्ण गरिन्। त्यतिबेलै उनले बौद्ध डोजोबाट ब्ल्याकबेल्ट गरिन्। तर, खेलाडी हुन्छु भनेर उनले कराते सुरु गरेकी थिइनन्।
जुनबेसीमा कक्षा नौमा पढ्दै गर्दाको एउटा घटनाले उनलाई करातेतर्फ फर्काएको थियो। त्यो बेलामा एउटा साथीसँग उनको झगडा भयो। तर, उनको साथी आफ्ना दाइहरू लिएर उनलाई पिट्न आए।
‘त्यतिबेला मलाई पिट्ने प्रयास भएपछि म सेल्फ डिफेन्सतर्फ लागेँ। अनि मैले कराते सिकेँ। त्यही घटनाका कारण मैले कराते खेलेँ,’ उनले सुनाइन्, ‘अहिले मैले सगरमाथामा सितोरियो करातेको पनि झण्डा लगेर फहराएँ। अनि पो थाहा पाएँ, करातेबाट त्यहाँ झण्डा फहराउने पनि पहिलो खेलाडी भएछु।’
६ वर्षभन्दा लामो समय करातेमा बिताएपछि उनी प्रहरीमा भर्ना भइन्। आफ्नो रहरले भन्दा पनि साथीहरूको संगतका कारण। कोभिडको समय थियो। असइको फाराम खुलेको थियो। उनले परिवारलाई थाहा नदिई फाराम भरेर परीक्षा दिइन्। नाम निस्कियो।
तर उनलाई नै विश्वास थिएन। पहिले बुबा र बाजेको नाम हेरिन्, अनि मात्र ढुक्क भइन्।
असइमा नाम निस्किँदा पनि उनी खासै उत्साहित भने भइनन्।
‘मलाई कहिले पनि ओ वाउ भन्ने एक्साइटमेन्ट हुँदैन,’ उनी भन्छिन्, ‘तर पनि एउटा उदेश्य पूरा भयो, एउटा क्षेत्रमा करिअर फिक्स भयो भन्ने लाग्यो।’
लोकसेवाको अन्तर्वार्ता होस् या भरतपुरमा भएको १४ महिने आधारभूत तालिम। शेर्पा नामका कारण उनलाई हिमालले पिछा गरिरह्यो। अपराध अनुसन्धानको कक्षा लिने समयमा पनि सिनियरहरूले उनलाई सोधिरहन्थे, ‘शेर्पा भएर सगरमाथा नचढेर कहाँ सरकारी जागिर खान आएको?’
बारम्बार यस्तो प्रश्न सुन्दा उनी रेडिमेड जवाफ दिने गर्थिन्, ‘शेर्पाको छोरी हिमाल पनि चढ्न सक्छ, सरकारी जागिर पनि खान सक्छ।’

सगरमाथा आरोहणपछि नेपाल प्रहरीले संगठनप्रतिको योगदानको कदरस्वरूप उनको विशेष बढुवा गरिदियो। आईजीपी दीपक थापाले उनलाई सइको फुली लगाइदिए।
‘असइको फुली लगाउने बेलामा नै लागेको थियो, म यो धेरै समय लगाउँदिनँ,’ कुन्जाङ भन्छिन्, ‘अहिले विशेष बढुवा दिनुभयो। साढे दुई वर्षमा दुईवटा फुली भयो। एक वर्ष त तालिममै बित्यो। बाँकी दुई वर्षमा साइबर ब्युरोमा काम गरेँ। अनलाइन ठगी हेरेँ।’
हामीले उनलाई सोध्यौँ– अबका योजना के छन् त?
‘म मेरा योजनाहरू सुनाउँदिनँ। एकैपटक धमका गर्छु,’ उनले ठट्टा गरिन्।
सगरमाथा विजयपछि पनि असाधारण काम गर्ने उनको जोस सेलाएको छैन।
‘हामीलाई तालिम दिँदा एकजना प्रशिक्षकले भन्नुहुन्थ्यो– अर्डिनरी पिपुल जो पनि हुन्छ। तर, अर्डिनरीको अगाडि एक्स्ट्रा थपिदिने एक्स्ट्राअर्डिनरी बन्छ भन्नुहुन्थ्यो,’ उनले सुनाइन्, ‘मलाई त्यस्तै गर्न मन पर्छ।’
हेर्नुहोस्, सगरमाथा विजय गरेर फर्केकी प्रहरी नायब निरीक्षक कुन्जाङ छोपेल शेर्पासँग नेपालखबर ‘तत्कालै’ :
भिडिओ/तस्बिर: सरोज नेपाल

प्रतिक्रिया