पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को २३औँ स्मृति दिवस प्रेस सेन्टरले मंगलबार देशैभरि विभिन्न कार्यक्रम गरेर मनाएको छ।
यस अवसरमा प्रेस सेन्टरको केन्द्रीय समितिले काठमाडौँमा अन्तक्रियात्मक कार्यक्रम गरेको छ।
प्रेस सेन्टरको उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेश समितिको सहभागितामा आयोजित उक्त कार्यक्रमको पहिलो चरणमा सेनको बारेमा प्रेस सेन्टरले तयार पारेको श्रव्य-दृश्य सामग्री प्रसारण गरिएको थियो।
त्यसैगरि दोस्रो चरणमा ‘गणतन्त्र र समाजवादको यात्रा’ र ‘कृष्ण सेन ‘इच्छुक’ र जनपक्षीय पत्रकारिता’बारे पीसीएन संवाद गरिएको प्रेस सेन्टरका अध्यक्ष कमल गिरीले जानकारी दिए।
‘गणतन्त्र र समाजवादको यात्रा’ विषयक संवादमा माओवादी केन्द्रकी स्थायी समिति सदस्य तथा पूर्वसञ्चारमन्त्री रेखा शर्मा, राष्ट्रिय सभा सदस्य सुरेश आलेमगर, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली, मधेस प्रदेशका प्रदेशसभा सदस्य रहबर अन्सारी र धादिङको बेनिघाट रोराहाङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया वक्ता थिए। संवादको सहजीकरण नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव रोशन पुरीले गरेका थिए।
त्यसैगरि पीसीएन संवादको दोस्रो शृंखलामा ‘कृष्ण सेन ‘इच्छुक’ र जनपक्षीय पत्रकारिताका’ शीर्षकमा संवाद गरिएको थियो।
उक्त संवादमा अखिल नेपाल जनसांस्कृतिक महासंघका इन्चार्ज ईश्वरचन्द्र ज्ञवाली, पत्रकार किशोर श्रेष्ठ, प्रेस सेन्टरकी संस्थापक संगीता खड्का र खबरहबडटकमका सम्पादक अरुण बराल वक्ता थिए। संवादको सहजीकरण पत्रकार नरेश ज्ञवालीले गरेका थिए।
कार्यक्रमको अन्त्यमा माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले मुलुकको समसामयिक राजनीतिक परिरिस्थति र माओवादी केन्द्रले सञ्चालन गरिरहेको अभियानका सम्बन्धमा बोलेका थिए।
त्यसक्रममा वक्ताहरुले पत्रकार इच्छुकले सामाजिक रुपान्तरण र गणतन्त्र स्थापनाको आन्दोलनमा पत्रकारिता र साहित्यको माध्यमबाट पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रममा प्रेस सेन्टरले स्थापना दिवसको अवसरमा प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कारको पनि घोषणा गरिएको छ। पुरस्कार छनोट सिफारिस समितिको सिफारिसबमोजिम कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार-२०८२ लेखक, वामपन्थी विश्लेषक, पत्रकार नरेन्द्रजंग पिटर, बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार-२०८२ प्रेस सेन्टर नेपालकी निवर्तमान उपाध्यक्ष तथा रेडियो नेपालमा कार्यरत पत्रकार रुबी श्रेष्ठ र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार-२०८२ बाट नयाँ पत्रिका दैनिकका सिराहा संवाददाता मणिलाल विश्वकर्मालाई दिने निर्णय प्रेस सेन्टरले गरेको छ।
उनीहरुलाई प्रेस सेन्टरको स्थापना दिवस (माघ १५ गते)को अवसरमा पुरस्कार प्रदान गरिने प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरले जानकारी दिए।
०५९ साल जेठ १३ गते इच्छुकको प्रहरी हिरासतमै हत्या भएको थियो।
Shares

प्रतिक्रिया