समाज


पाँचपटकको पेसीपछि रविको निवेदन हेर्न मिल्ने न्यायाधीशको इजलासमा

पाँचपटकको पेसीपछि रविको निवेदन हेर्न मिल्ने न्यायाधीशको इजलासमा

नेपालखबर
जेठ ५, २०८२ सोमबार १०:६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन पाँचपटकको पेसीपछि आज हेर्न मिल्ने न्यायाधीशको इजलासमा पर्ने भएको छ। 

यसअघि पाँचपटकको पेसी हेर्न नमिल्ने न्यायाधीशको इजलासमा ताेकिएपछि सर्वोच्च अदालतले अब हेर्न मिल्ने न्यायाधीशकोमा पार्न आइतबार आदेश दिएको थियो। 

यसबमोजिम आज उनको निवेदन हेर्न मिल्ने न्यायाधीशको इजलासमा पेसी तोकिने सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए। 

‘अदालतले आदेश दिइसकेको छ, हामी अहिले प्रक्रियामै छौँ, अब उहाँको निवेदनको पेसी हेर्न मिल्ने न्यायाधीशकै इजलासमा तोकिन्छ’, उनले नेपालखबरसँग भने।

योसँगै अब लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ हुने देखिएको छ। 

पछिल्लोपटक आइतबार रविको उक्त रिट निवेदन न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलकै इजलासमै पेसी तोकिएको थियो। तर न्यायाधीश पोखरेलले हेर्न नमिल्ने भन्दै सुनुवाइ गरिरहेका थिएनन्। 

यसअघि वैशाख २८ गते पनि न्यायाधीश पोखरेल रहेकै इजलासमा पेसी तोकिएको थियो। 

न्यायाधीश हरि फुयालले पनि यो निवेदनमा सुनुवाइ गरेका थिएनन्। 

वैशाख ९ गते कारण देखाऊ आदेश जारी गरेका न्यायाधीश अब्दुल अजिज मुसलमानले पनि त्यसपछि हेर्न नमिल्ने भन्दै सुनुवाइ गरेनन्। 

रविसँगै पूर्वडीआईजी छविलाल जोशीको निवेदन पनि साथै राखेर पेस गरिएको छ।

उनीहरू दुवै जना रुपन्देही कारागारमा छन्। जिल्ला अदालत रुपन्देहीले छविलाई पुर्पक्षका लागि थुनामा पठाउँदा रविलाई एक करोड धरौटीमा रिहा गरेको थियो। 

तर उच्च अदालतट बुटवलले रविलाई पनि थुनामा पठाउने आदेश गरेको थियो। उनलाई थुनामा पठाउने आदेश आएकै दिन प्रहरीले पक्राउ गरेको थियो।

तर आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेर तीन दिनपछि मात्रै कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग लामिछानेले रिटमा गरेका छन्।

यस्तै थुनामा पठाउने उच्च अदालतको आदेश पनि पनि बदर गर्न माग गर्दै उनले सर्वोच्चमा निवेदन दिइसकेका छन्। यी सबै निवेदन साथै राखेर पेस गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad