अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेका भ्रष्टाचारसम्बन्धी तीनवटा मुद्दामा विशेषको फैसला चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगले विष्णुपुर गाउँपालिका, सप्तरीका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेक नारायण यादव र कम्प्युटर अपरेटर विरेन्द्र कुमार यादव उपर जिल्ला सप्तरी विष्णुपुर गाउँपालिका वडा नं. ६ मा सोलार बत्ती जडान कार्य सम्पन्न भएपश्चात भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत लिएको विषयमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उनीहरूविरुद्ध ५ लाख बिगो कायम गरी आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८० चैत २३ को फैसलाबाट सफाइ दिएकोले सो फैसलाउपर बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगले जनाएको छ।
यस्तै, आयोगबाट वैदेशिक रोजगार विभाग, ताहचलमा कार्यरत लेखापाल प्रमोद निरौला उपर सेवाग्राहीले राखेको धरौटी रकम फिर्ता गर्ने क्रममा १५ हजार रुपैयाँ घुस मागेको आरोपमा आयोगले दायर गरेको मुद्दामा विशेषले २०८१ जेठ ३ को फैसलाबाट सफाइ दिएको थियो। सो फैसलाउपर आजै सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगले जनाएको छ।
यसैगरी संजय शर्मा, प्रणिता उपाध्याय, सुनिल पौडेल, राम बहादुर बुढा, रमेश प्रसाद पोखरेल भन्ने रमेश पोख्रेल, राम शरण गायक र मधु कुमार मरासिनी समेतउपर राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको नेसनल पेमेण्ट गेटवे खरिदका क्रममा सरकारी/सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही तथा बद्नियत गरी २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ हानी नोक्सानी गरेको भन्दै हानी नोक्सानी गरे-गराएको सम्पत्ति असुल उपर हुन मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विशेषले २०८१ वैशाख २५ को फैसलाबाट उनीहरूलाई आंशिक सफाई दिएकोले उपरोक्त फैसलाउपर यही वैशाख २५ गते आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
Shares

प्रतिक्रिया