समाज


गुल्मीको सत्यवती गाउँपालिकाद्वारा एचआइभी सङ्क्रमितलाई आर्थिक सहायता

गुल्मीको सत्यवती गाउँपालिकाद्वारा एचआइभी सङ्क्रमितलाई आर्थिक सहायता

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १७:२९, काठमाडौँ

जिल्लाको सत्यवती गाउँपालिका यतिबेला एचआइभी सङ्क्रमितको लागि आर्थिक सहायता प्रदान गरिएको छ। आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा र बुटवलमा रहेका एआरटी केन्द्रसम्म औषधि लिन जानुपर्ने २५ जना सङ्क्रमितलाई उक्त सहयोग प्रदान गरिएको हो।

एचआइभी सङ्क्रमितको पारिवारिक अवस्था अत्यन्तै कमजोर, न्यून आम्दानी एवं आर्थिक अभावका कारण एआरटी केन्द्रसम्म पुग्न नसक्दा कतिपयले औषधि लिन तथा स्वास्थ्य जाँच गराउन नसकेर बीचमा छोड्नुपर्ने अवस्था थियो। उक्त समस्या समाधान गर्न गाउँपालिकाले सङ्क्रमितको जीवनशैलीमा परिवर्तन ल्याउनाका साथै पोषण स्थितिमा सुधार ल्याउन वार्षिक रूपमा यातायात खर्चबापत लाग्ने रकम सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले बताए।   

जिल्लामा लामो समयदेखि एचआइभी सङ्क्रमितको क्षेत्रमा काम गर्दै आएको ‘हाम्रो जीवन प्लस’द्वारा सङ्कलित तथ्याङ्क र व्यक्तिले दिएको निवेदनका आधारमा यातायात खर्चको रकम सम्बन्धित व्यक्तिको बैङ्क खातामा पठाइदिने व्यवस्था गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए।

गाउँपालिकाले यस वर्ष २५ जना सङ्क्रमितका लागि उक्त रकम उपलब्ध गराइसकेको पालिकाका स्वास्थ्य शाखा प्रमुख हिमलाल भण्डारीले बताए। एचआइभी सङ्क्रमित हरेक तीनतीन महिनामा स्वास्थ्य जाँच र औषधिका लागि अनिवार्य रूपमा एआरटी केन्द्रसम्म पुग्नुपर्ने भएकाले कोही पनि उपचारबाट वञ्चिन नहुन् भनेर आर्थिक सहयोग गरिएको उनको भनाइ छ।

सत्यवती गाउँपालिकामा हाल ३६ जना एचआइभी सङ्क्रमित रहेपनि २५ जनाले मात्र उक्त सहयोग लिएका पालिका कार्यालयले जनाएको छ। कतिपय सङ्क्रमित समाजमा खुल्न र सम्पर्कमा आउन नचाहेकाले रकम उपलब्ध गराउन नसकिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए।

हाम्रो जीवन प्लसले एचआइभी सङ्क्रमितका लागि घर समुदायमा आधारित हेरचाह कार्यक्रम सञ्चालन गरिरहेको छ। सो कार्यक्रमअन्तरगत सेवाग्राहीको घरसम्म पुग्ने, नियमित औषधि खाए÷नखाएको हेर्ने, परामर्श दिने, प्रेषण गर्ने (रिफर)लगायत काम गर्दै आएको संस्थाकी अध्यक्ष जुना ज्ञवालीले बताए।

संस्थाले जन्मेदेखि १८ वर्षसम्मका एचआइभी सङ्क्रमित बालबालिकाका लागि शिक्षा र स्वास्थ्यमा राहत पुगोस् भन्ने उद्देश्यले मासिक रु दुई हजारका दरले सहयोग उपलब्ध गराउँदै आएको उनले जानकारी दिए।

अध्यक्ष ज्ञवालीका अनुसार घर समुदायमा आधारित कार्यक्रमअनुसार हाल २७ जना सङ्क्रमित बालबालिकालाई उक्त सुविधा प्रदान गरिएको छ्। उनले जिल्लामा सञ्चालनमा आइरहेको सामुदायिक हेरचाह केन्द्र बन्द भएपछि सङ्क्रमित सेवाग्राहीको अवस्था समस्यामा परेको बताए। जिल्लामा हाल तीन सय १२ जना एचआइभी सङ्क्रमित छन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad