जलवायु न्याय र मर्यादित श्रमका विषयमा काठमाडौँमा अनौपचारिक क्षेत्रका श्रमिकहरूको सम्मेलन हुने भएको छ।
नेपाल महिला एकता समाज, युथ एडभोकेसी नेपाल र एक्सनएड नेपालको आयोजनामा सोमबारबाट हुने सम्मेलन दुई दिन चल्नेछ।
‘अभियानः मर्यादित श्रम र जलवायु न्याय’ विषयक सम्मेलनमा मुलुकका १४ जिल्लाका १५० जना महिला श्रमिक र २०० जना युवाको सहभागिता रहने आयोजक संस्था नेपाल महिला एकता समाजकी कार्यकारी निर्देशक भगवती नेपालले जानकारी दिइन्।
शुक्रबार सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बताइएअनुसार, नेपालको श्रमशक्ति सर्वेक्षण २०१७-२०१८ का अनुसार कुल रोजगारीको ८४.६ प्रतिशत जनसंख्या अनौपचारिक श्रममा संलग्न छ भने ९० प्रतिशत महिलाको संलग्नता रहेको छ। तर विद्यमान आर्थिक प्रणालीले श्रमशक्तिबीच ठूलो असमानता सिर्जना गरेको छ, जहाँ अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु न्यून र विभेदपूर्ण ज्याला, सीमित अवसर, असुरक्षित रोजगारी, कार्यस्थलमा उच्च जोखिम तथा हिंसा, लैङ्गिक असमानता र श्रम शोषणजस्ता समस्याहरूसँग संघर्ष गर्न बाध्य छन्। ‘यसले संविधानद्वारा प्रदत्त बिनाभेदभाव र सम्मानपूर्वक जीवनयापनको अधिकारलाई चुनौती दिइरहेको छ,’ अधिकारीको भनाइ थियो, ‘बनेका नीतिहरूको पनि वास्तविक रुपमा कर्यान्वयन नभएको अवस्था छ। यिनै विषयमा अनौपचारिक श्रममा आबद्ध श्रमिकहरूसँग बसेर गम्भीर रूपमा छलफल र विमर्श गर्न लागिएको हो।’
युथ एड्भोकेसी नेपालका सल्लाहकार नरेन खतिवडाले जलवायु न्यायको विषयलाई लिएर पब्लिक कमन्सको उद्देश्य के छ, यसका चुनौती के हुन् र ती चुनौतीलाई सम्बोधन गर्न के गर्नुपर्छ भनेर त्यही क्षेत्रमा काम गर्ने श्रमिक, नागरिक समाजका प्रतिनिधि र नीति निर्माणको प्रक्रियामा आबद्ध पदाधिकारीहरूको बीचमा सामूहिक ढङ्गले छलफल गरी रणनीति निर्माण गरिने बताए।
Shares

प्रतिक्रिया