शिक्षकहरूले आन्दोलन जारी राखेर कक्षा १२ को परीक्षा बहिष्कार गरिरहँदा केही विद्यालयले भने प्रवेशपत्र लिनका लागि विद्यार्थीलाई बोलाउन थालेका छन्।
झापाको कन्काइ नगरपालिकास्थित कन्काइ माध्यामिक विद्यालयले कक्षा १२ को परीक्षाका लागि आवश्यक प्रवेशपत्र लिन आउन विद्यार्थीलाई आह्वान गरेको छ।
प्रधानाध्यापक कर्णबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस विद्यालयमा हाल कक्षा १२ मा अध्ययनरत नियमित विद्यार्थी र रजिष्ट्रेसन नम्बर सुरुका दुई अंक ७८, ७९ र ८० भएका आंशिक परीक्षार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११देखि सञ्चालन गर्ने परीक्षामा सामेल हुनका लागि प्रवेशपत्र बुझिलिन तपसिल बमोजिमको समय तालिकामा विद्यालय उपस्थित हुनका लागि यो सूचना प्रकाशित गरिएको छ।'
डाँगीले विद्यार्थीहरू परीक्षा दिन अर्कै विद्यालय जाने भएकाले प्रवेशपत्र वितरण गर्दा केही फरक नपर्ने बताए।
'विद्यार्थीहरू परीक्षा दिन अर्कै विद्यालय जाने हुन्। हामीले प्रवेशपत्र दिँदा के फरक पर्छ र?,' उनले नेपालखबरसँग भने, 'तपाईंले अरु विद्यालयमा पनि बुझ्दा हुन्छ- मोरङ सुनसरीतिर पनि भित्रभित्रै प्रवेशपत्र दिइरहेका छन्।'
यता शिक्षकहरूले आन्दोलनलाई जारी राखेर परीक्षा बहिष्कार गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले भने निजामती कर्मचारी खटाएरै भए पनि परीक्षा सञ्चालन हुने जनाएको छ।
त्यस्तै गोरखाको अजिरकोट गाउँपालिकाको सिम्जुङको हिमालय माविका शिक्षक दिलिप अधिकारीले फेसबुकमार्फत प्रवेशपत्र लिन परीक्षा केन्द्रमा जान आग्रह गरेका छन्।
'अत्यन्तै जरुरी! हिमालय मावि अजिरकोट-४, सिम्जुङ, झ्यावाँ,गोरखाबाट कक्षा १२ को परीक्षा दिन लाग्नुभएका सम्पूर्ण परिक्षार्थीहरूको प्रवेशपत्र परिक्षा केन्द्र जौवारीबाट नै प्राप्त गर्न सकिने कुरा सम्बन्धित सम्पूर्णलाइ जानकारी गराइन्छ' अधिकारीले फेसबुकमार्फत भनेका छन्।
Shares

प्रतिक्रिया