ad ad

समाज


विपन्नलाई परिवार संख्याको आधारमा महानगरको राहत

विपन्नलाई परिवार संख्याको आधारमा महानगरको राहत

नेपालखबर
चैत १८, २०७६ मंगलबार १०:५८,

काठमाडौं महानगरपालिकाले अति बिपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध गराउने भएको छ।

नगर कार्यपालिकाको ४३ औं बिशेष बैठकले ‘कोरोना भाइरस सम्बन्धी राहत वितरण मापदण्ड -२०७६’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

कोरोनाभाइरसको संक्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लक डाउनबाट अत्यावश्यक सेवावाहेक सबै सेवा बन्द गरेका कारण मानिसहरु घर बाहिर निस्कन पाएका छैनन्।

यसबेला दैनिक ज्यालादारीका रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकोले समस्यामा परेका सबैलाई समान प्रकारको राहत र सहयोग उपलब्ध गराउन मापदण्ड बनाइएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए।

मापदण्डले अभिभावक नभएका, आफ्नो आयश्रोत तथा जायजात नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहाय भनेको छ। यस परिभाषाभित्र महानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिद आदिमा आश्रित व्यक्तिलाई पनि राखिएको छ।

त्यस्तै आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौ धौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ।

दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भन्नाले संगठित संस्थामा काम गर्ने बाहेक काठमाडौं महानगरमा विगतदेखि दैनिक रुपमा ज्याला मजदुरी गर्दै आएका, काठमाडौंमा घर जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने कामदार तथा मजदुर भनिएको छ।

राहत दिनका लागि परिवार संख्याका आधारमा खाद्य सामाग्रीको प्याकेट बनाउनु पर्नेछ। यदि एकजना मात्र व्यक्ति बस्ने रहेछ भने यसका लागि तयार पारिएको प्याकेटमा ४ किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र १ किलो तरकारी हुनेछ।

दोश्रो प्याकेटमा १२ किलो चामल, २ किलो दाल, १ किलो नुन, आधा लिटर तेल, २ किलो चिउरा र ३ किलो तरकारी हुनेछ। यो २ जनादेखि ४ सम्मको परिवारका लागि हो। यदि कुनै परिवारमा ५ जनाभन्दा धेरै रहेछन् भने उनीहरुका लागि १६ किलो चामल, ३ किलो दाल, १ किलो नुन, १ लिटर तेल, ३ किलो चिउरा र ४ किलो तरकारीको प्याकेट हुनेछ।

यसका अतिरिक्त वडाले आवश्यक ठानेमा असहाय र अति विपन्न व्यक्तिलाई तयारी खाना, खाजा वितरणको व्यवस्था समेत गर्न सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .