नेकपा एकीकृत समाजवादीले आफ्नो कार्यालयमा आज भएको आगजनी र तोडफोडको निन्दा र भर्त्सना गरेको छ। एकीकृत समाजवादीले हिंसात्मक गतिविधिमा संलग्न राजतन्त्र समर्थकहरूलाई ‘पुनरुत्थानवादी तत्त्वले जम्मा गरेको हुल्लडबाज’का संज्ञा दिएको छ।
सो पार्टीका महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै दिउँसो ३ः१५ बजे आफ्नो पार्टीको कार्यालयमा आक्रमण गरेर आगजनी र तोडफोड गरेको जनाएका छन्। आक्रमणबाट केन्द्रीय कार्यालयका ढोका र झ्यालहरू तोडफोड भएको, कागजात र फर्निचर जलेको बताएका छन्।
'लुटपाट र आगजनीजस्ता क्रियाकलापबाट समाजलाई नियन्त्रण गर्न खोज्ने यस्ता तत्त्वलाई तिरस्कार तथा प्रतिवाद गर्न र नागरिकहरूको रक्षाप्रति सचेत रहन सम्पूर्ण जनसमुदायलाई हाम्रो पार्टी हार्दिक अपिल गर्दछ।'
पार्टी कार्यालयको वरिपरि हुनसक्ने घटनाबारे आज बिहान ११ बजे नै प्रहरीलाई खबर गरिएको र आक्रमण हुन थालेपछि फेरि तुरुन्तै प्रहरीलाई खबर गर्दा पनि समयमै सुरक्षाको प्रबन्ध नगर्नु सुरक्षा प्रशासनको घोर लापरवाही भएको भुसालले आरोप लगाएका छन्।
विज्ञप्तिमा भनिएको छ, 'यसबाट सरकारले सुरक्षा प्रबन्ध गर्न नसकेको तथ्य स्पष्ट भएको छ। हाम्रो पार्टी सरकारी संयन्त्रको यस प्रकारको लापरवाहीको घोर निन्दा गर्दछ र नागरिक जीवनको सुरक्षाको प्रत्याभूति गर्न र तोडफोड तथा आगजनीमा संलग्न सबै अपराधीलाई यथाशीघ्र कडा कारबाही गर्न जोडदार माग गर्दछ।'
Shares

प्रतिक्रिया