झापाको कनकाई नगरपालिका-५, नारायणदल चोकमा महिना मृत अवस्थामा फेला परेकी छन्।
उनका पति पनि गम्भीर घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले बताए।
ताप्लेजुङको सिलाम घर भई कनकाई नगरपालिका-५ नारायणदल चोक निवासी ४० वर्षीया मनीषा मग्राती मृत फेला परेकी हुन्।
उनी झुन्डिएर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ। उनी मृत फेला परेको स्थाननजिकै सल पनि भेटिएको छ।
उनी झुण्डिएको र पतिले पासो खुस्काएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी केसीले नेपालखबरलाई बताए।
घटनास्थलमा उनका श्रीमान् लालबहादुर सार्की पनि घाँटीमा चोट लागेको अवस्थामा फेला परेका छन्।
उनले आफूलाई आफैँले खुकुरीले हानेको र श्रीमती झुण्डिएपछि पासो खुस्काएको बताएको प्रहरीको भनाइ छ।
घटनाअघि श्रीमान्-श्रीमतीबीच झगडा भएको देखिएको छ। उनीहरू दुवैका मोबाइल घटनास्थलमै फुटेको अवस्थामा फेला परेका छन्।
घाइते लालबहादुरलाई प्रहरीले बीएन्डसी अस्पताल लगेको छ। त्यहाँबाट प्रादेशिक अस्पताल लैजाने तयारी भएको छ।
Shares

प्रतिक्रिया