निजी विद्यालय सञ्चालकहरुको संस्था निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (प्याब्सन) को नयाँ कार्यसमिति सदस्यहरूले शपथ ग्रहण गरेका छन्।
बुधबार काठमाडौँमा भएको १६ औँ राष्ट्रिय महाधिवेशनमा नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।
नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले आफ्नो कार्यकालमा प्याब्सनमा आबद्ध विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानमा गर्न थप भूमिका खेल्ने बताए।
उनले नेपालका निजी विद्यालयहरुले दिएको गुणस्तरीय शिक्षाका बारेमा विश्वभर चर्चा हुने गरेको भन्दै यसलाई निरन्तरता दिन शिक्षाको विश्वव्यापीकरण गर्ने दाबी गरे।
हालै सरकारले ल्याएको शिक्षा विधेयक आफ्नो पहिलो प्राथमिकतामा रहेको उनको भनाइ छ। उनले कम्पनीअन्तर्गत रहेका निजी विद्यालयहरुलाई कम्पनीमै रहने र पुस्तान्तरण हुने व्यवस्था निरन्तरताका लागि आफूले पहल गर्ने बताए।
उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता भनेको शिक्षा विधेयक नै हो। शिक्षा विधेयकमा हाम्रो विद्यालयहरु कम्पनीमा रहनुपर्छ। २०५८ सालमा हामी कम्पनीमा आएका हो। यो आजीवन कम्पनीमा रहनुपर्छ भन्ने हाम्रो पहिलो मुद्दा हो। दोस्रो मुद्दा शिक्षा र पाठ्यक्रमका बारेमा छ, गुणस्तरका बारेमा छ। हामी गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौँ। तेस्रो मुद्दा भनेको प्याब्सनमा रहेका ५ हजार निजी विद्यालयलाई एउटा असल विद्यालय बनाउने र त्यसभित्र गुणस्तर दिने र प्याब्सनका विद्यार्थी, प्याब्सनका शिक्षक र अभिभावकहरूलाई एउटा राम्रो परिस्थितिमा लैजाने हाम्रो तेस्रो मुद्दा छ।’
अध्यक्ष अधिकारीले प्याब्सनको सही कामले संस्थाको गरिमा बढेको दाबी गरे।
प्याब्सनको सहअध्यक्षमा गोपाल आचार्य, वरिष्ठ उपाध्यक्षमा दिपिका रिमाल, उपाध्यक्षहरूमा आशिष श्रेष्ठ, थकिनकुमार गुरुङ, महासचिव आरबी कटुवाल, कोषाध्यक्षमा गणेशबाबु पोखरेल, तथा केन्द्रीय सदस्यहरूमा प्रल्हाद खनाल र कर्मवाङ्गेल लामा निर्वाचित भएका छन्।
Shares

प्रतिक्रिया