समाज


बुद्धजन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने

बुद्धजन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने

नेपालखबर
फागुन २२, २०८१ बिहिबार २१:३९, लुम्बिनी

बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच सय जनाको कुलपुत्र प्रवज्या, चौथौ त्रिपिटक वाचन चलिरहेको बेला शनिबार राति लुम्बिनीस्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिने भएको हो।

धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना कुलपुत्रहरुको सहभागितामा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखिएको हो।

धम्मकायका अध्यक्ष भिन्ते फ्रा थाभोर्न थाभ्राले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्जवलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने बताए। उनले गत वर्ष पनि दीप प्रज्वलन गरिएको उल्लेख गर्दै आगामी वर्ष यसलाई अन्तरराष्ट्रियस्तरको बनाउने योजना रहेको बताए। दीप प्रज्वलनमा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिका सहित विभिन्न देशबाट आएका पाहुनाको सहभागिता रहने जनाइएको छ।

बौद्धमार्गीहरुमा दीप प्रज्वलनको निकै महत्व रहेकाले दीप प्रज्वलनले सकारात्मक सन्देश जाने लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताए। उनले बौद्ध शिक्षालाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए।

धम्मकायले दीप प्रज्वलनसँगै धम्मयात्राका लागि विशेष तयारी गरेको छ। अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घ, लुम्बिनी विकास कोषको आयोजना तथा बौद्ध समाज नेपाल सहआयोजनामा आगामी चैत २ गते शनिबार भैरहवामा बुद्धको अस्तिधातुसहितको धम्मयात्रा गर्ने हुनेभएको हो। धम्मयात्रामा लुम्बिनीमा भइरहेको पाँच सय जना प्रवजित अल्पकालीन भिक्षुहरु, भन्तेहरु सहभागी हुनेछन्। भैरहवाको रङ्गशालादेखि बुद्धचौकको लुम्बिनीगेटसम्म धम्मयात्रा हुनेछ।

यस्तै सोही दिन बिहान देवदह, बुटवल, रामग्राममा धम्मयात्रा हुनेछ। चैत ३ गते प्रमाणपत्र वितरण, चैत ४ र ५ गते विभिन्न नगरमा भिक्षाटन गराइने आयोजकले जनाएका छन्।

लुम्बिनीमा अहिले पाँच सय जनाको प्रवज्या र चौथो अन्तरराष्ट्रिय त्रिपिटक वाचन भइरहेको छ। मायादेवी मन्दिर परिसरमा २० गते उनीहरूलाई चिवर प्रदान गरी प्रवजित गराइएको हो भने बुधबार मात्रै त्रिपिटक पाठ समारोहको शुभारम्भ गरिएको हो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad