नयाँ सदस्य नियुक्त भएपछि न्याय परिषद्को पहिलो बैठक आज बस्दै छ।
नयाँ सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्का नियुक्त भएपछि आज बैठक बस्न लागेको हो।
करिब दुई महिनाको रिक्ततापछि गत माघ २१ गते खड्का सदस्य नियुक्त भएका हुन्। परिषद्ले पूर्णता पाएपछि अब लामो समयदेखि सर्वोच्च अदालतमा रहेको न्यायाधीश रिक्तता पनि तोडिने अपेक्षा गरिएको छ।
के आजको बैठकमा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्छ त?
प्रधानन्यायाधीशनिकट स्रोत अनुसार, आज नयाँ सदस्य खड्काको पहिलो बैठक भएकाले परिचय र स्वागत हुनेछ।
त्यसपछि न्याय परिषद् सदस्यहरूबीच कार्यविभाजनबारे छलफल हुने बैठकको कार्यसूची छ।
केही न्यायाधीश सरुवा तथा काजसम्बन्धी पनि निर्णय हुन सक्नेछ। परिषद् पदाधिकारीका अनुसार, उच्च अदालत, विराटनगरको ओखलढुंगा अस्थायी इजलासमा थप न्यायाधीश खटाउनुपर्ने अवस्था आएको छ। त्यहाँ धीरबहादुर चन्द र बबिता उप्रेती दुई जनाबीच एउटा मुद्दामा रायबाझी भएको छ। तेस्रो न्यायाधीश नहुँदा निर्णयमा समस्या परेको छ। उच्च अदालतका दुई न्यायाधीशबीच रायबाझी हुँदा निर्णयका लागि तेस्रो न्यायाधीशको इजलासमा पेस गर्ने नियम छ। त्यसैले उक्त मुद्दामा निर्णयका लागि तेस्रो न्यायाधीश खटाउन पनि आजको न्याय परिषद् बैठक डाकिएको हो।
न्यायाधीश नियुक्तिको एजेन्डा आजको बैठकमा छैन। तर, प्रारम्भिक छलफल भने हुन सक्ने ती पदाधिकारीले नेपालखबरलाई जानकारी दिए।
संविधानबमोजिम २१ न्यायाधीश हुनुपर्ने सर्वोच्चमा हाल १७ जना मात्र छन्। ४ न्यायाधीशको पद रिक्त हुँदा न्याय सम्पादनको काम नै प्रभावित भइरहेको छ।
संविधान र न्याय परिषद् ऐनमा भने न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअगावै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइसक्नुपर्ने व्यवस्था छ। अपर्झट खाली भएमा त्यसको एक महिनाभित्र नियुक्त गरिसक्नुपर्छ। तर, विभिन्न शक्तिकेन्द्रबीच भागबण्डा नमिल्दा अनेक बहानामा नियुक्ति पर धकेलिएको छ।
Shares

प्रतिक्रिया