समाज


माल्टामा मृत्यु भएकी गौरीको परिवारलाई एनआरएनएको १६ लाख सहयोग

माल्टामा मृत्यु भएकी गौरीको परिवारलाई एनआरएनएको १६ लाख सहयोग

नेपालखबर
माघ २८, २०८१ सोमबार २२:४, माल्टा

युरोपेली मुलुक माल्टामा सडक दुर्घटनामा परी मृत्यु भएकी बर्दिबासकी गौरीकुमारी बरालको परिवारलाई एनआरएनए माल्टाले आर्थिक सहयोग गरेको छ।

एनआरएन माल्टाले नेपाली समुदायलाई मृतकको शव नेपाल पठाउन तथा परिवारलाई आर्थिक सहयोग गर्न 'गो गेट फन्डिङ' मार्फत अपिल गरेको थियो।

सहयोग अभियानबाट संकलन भएको रकमबाट शव नेपाल पठाएर बाँकी रहेको १६ लाख ५७ हजार १ सय ४० नेपाली रूपैयाँ आमा तुलसा बरालको सिन्धुलीस्थित राष्ट्रिय वाणिज्य बैंक भिमान शाखामा रहेको खातामा जम्मा गरिदिएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए।

यस्तो विषम परिस्थितिमा परिवारलाई केही टेवा पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको उनको भनाइ छ।

एउटा नेपालीको दुःखमा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने कर्तव्य ठानेर यो आर्थिक संकलन अभियानमा सहयोग गर्ने माल्टाका सबै नेपाली तथा संघसंस्थालाई अध्यक्ष खनालले धन्यवाद दिए।

रोजगारीको सिलसिलामा माल्टा आएकी २५ वर्षीया बराल जनवरी ५ मा सडक दुर्घटनामा परेकी थिइन्। दुर्घटनाबाट गम्भीर घाइते उनको उपचारको क्रममा ११ जनवरीमा अस्पतालमा मृत्यु भएको थियो। उनको शव जनवरी १८ मा पशुपतिमा दाहसंस्कार भइसकेको छ।

गौरीकी आमा तुल्सा र दाइ विमलकुमार बरालले यस दुःखद् घडीमा गैरआवासीय नेपाली संघसहित प्रवासमा रहेका नेपालीहरूबाट पाएको साथ र सहयोगको लागि धन्यवाद दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad