आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा देशका विभिन्न स्थानबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। उनीहरु रौतहट, बर्दिया, चितवन र सर्लाहीबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ चिडियादह टोलबाट सोही ठाउँका ३१ वर्षीय सागर श्रेष्ठ र बर्दिया बढैयाताल गाउँपालिका–२ फुटाहसाघुनघारीबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन्।
त्यसैगरि चितवनको कालिका नगरपालिका–६ गुम्बा चोकबाट चार सय ५० ग्राम गाँजा बोकेका १८ वर्षीय किशोर र नियन्त्रित लागूऔषध लिएका सोही स्थानका २७ वर्षीय समीर परियार पनि पक्राउ परेका प्रहरीले जनाएको छ।
यसैगरी, भरतपुर महानगरपालिका–४ लङ्कुलक्ष्मी पथबाट गाँजा करिब ५० ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल, प्रोमेथ, बोमिन र नगद रु ९५ हजार ७ सय ५ सहित ४ जना पक्राउ परेका छन्।
त्यसैगरि सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट भारतीय मुद्रा पाँच सय दरका एक थान र एक सय दरका २९ थान नक्कली नोटसहित भारतीय नागरिक पक्राउ परेका प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत सीतामढी पुरान्दा राजवाडा–९ का २७ वर्षीय मुकेशकुमार सोनी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया