सिन्धुलीको सुनकोसी नदीमा मोटरसाइकल खस्दा बेपत्ता भएका दुई युवा सम्पर्कमा आएका छन्। नदीमा मोटरसाइकल खस्दा त्यसमा सवार दुई यात्रु सामान्य घाइते मात्रै भएको खुलेको प्रहरीले जनाएको छ।
बीपी राजमार्गमा पर्ने सुनकोसी गाउँपालिका-७ स्थित सडकबाट तल सुनकोसी नदीमा खसेको अवस्थामा आज बिहान ज १० प २६०४ नम्बरको मोटरसाइकल फेला परेको थियो।
नदीमा डुबेको अवस्थामा मोटरसाइकल र झोला फेला परे पनि त्यसमा सवार यात्रुलाई भने सुरुमा प्रहरीले फेला पारेको थिएन।
दुर्घटनामा परेको मोटरसाइकल चालक केही बेरअघप सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर सुनिल चौरसियाले जानकारी दिए।
‘सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर-७ घर भएका मोटरसाइकल चालक राजाबाबु यादव र साेही ठाउँका अर्का युवा आशिष मण्डल सम्पर्कमा आएका छन्,’ इन्सपेक्टर चौरसियाले नेपालखबरसँग भने, ‘मोटरसाइकल दुर्घटना भएपछि उनीहरु अर्को सवारी साधनमा चढेर राति नै काठमाडौँ गएको खुलेको छ। यादव र मण्डल सामान्य घाइते मात्रै भएका छन्। खुट्टामा सामान्य चाेट लागेका उनीहरुको उपचार भइरहेको जानकारी हामीले पाएका छौँ।’
आज बिहान सुनकोसीमा खसेको अवस्थामा झोलासँगैको ब्लुबुक र मोटरसाइकल फेला परेपछि प्रहरीले त्यासमा सवार यात्रु सुनकाेसी नदीमा बेपत्ता भएकाे अनुमान गरेर खाेजी कार्य सुरु गरेकाे थियो।
यो घटनालाई प्रहरीले शंकास्पद मानेर अनुसन्धान अघि बढाएको छ। ‘मोटरसाइकल दुर्घटना हुनेबित्तिकै उनीहरुले प्रहरीलाई किन जानकारी गराएनन्, हामी अनुसन्धान गरिरहेका छौँ,’ इन्सपेक्टर चौरसियाले भने।
दुर्घटना गएराति भएको प्रहरीले जनाएको छ। खुर्कोटस्थित इलाका प्रहरी कार्यालयले भने घटनाबारे आइतबार बिहान ८ बजे मात्रै जानकारी पाएको थियो।
Shares

प्रतिक्रिया