समाज


भरतपुर महानगरले शिक्षकको आवास भत्ता बढायो, अबदेखि १२ महिनाकै दिने

भरतपुर महानगरले शिक्षकको आवास भत्ता बढायो, अबदेखि १२ महिनाकै दिने

रोश्ना सुब्बा
माघ ११, २०८१ शुक्रबार १९:२३, काठमाडौँ

भरतपुर महानगरपालिका, चितवनले चालु आर्थिक वर्ष २०८१/८२ मा वडा नम्बर २९ का सामुदायिक विद्यालयका शिक्षकलाई १२ महिनाको आवास भत्ता उपलब्ध गराउने भएको छ।

महानगरपालिकाले मासिक २ हजार रुपैयाँका दरले आवास भत्ता वितरण गर्न लागेको हो।

गत आर्थिक वर्ष २०८०/८१ देखि महानगरपालिकाले आवास भत्ता वितरण गर्न सुरु गरेको हो। गत वर्ष शिक्षकहरूले ९ महिनाको भत्ता पाएका थिए। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका उपसचिव सुवास आचार्य भन्छन्, ‘यो वर्ष हामी १२ महिनाकै आवास भत्ता दिँदैछौँ।’ 

महानगरपालिकाले वडा नम्बर २९ का राजमार्गसँग नजोडिएका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूका लागि आवास भत्ताको व्यवस्था गरेको छ।

यो वडामा ११ वटा सामुदायिक विद्यालय छन्। यीमध्ये १० वटा विद्यालय राजमार्गसँग जोडिएका छैनन्। यिनै विद्यालयमा कार्यरत वडाबासी बाहेकका शिक्षकले मात्र यस्तो भत्ता पाउँछन्।

उपसचिव आचार्यका अनुसार ३३ जना शिक्षकले भत्ता पाउँछन्। स्वीकृत दरबन्दी तथा संघीय अनुदानमा कार्यरत शिक्षकका लागि यस्तो व्यवस्था गरिएको छ।

वडा नम्बर २९, कमलपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद पौडेल भन्छन्, ‘गत वर्ष ९ महिनाको भत्ता पाएँ। यहाँ प्रायः कच्ची घर छन्। यहाँको लागि आवास भत्ताले लगभग पुगेको छ। भत्ता दिनु महानगरपालिकाको सकारात्मक पहल हो। तर, १२ महिनाको दिनुपर्छ। शिक्षकलाई प्रोत्साहनका लागि रकममा वृद्धि हुनु पर्छ।’ 

प्रधानाध्यापक पौडेल २ वर्षदेखि यहाँ कार्यरत छन्। उनको घर बर्दिया हो। वडा नम्बर २९ कै अर्को विद्यालय राष्ट्रिय माध्यमिक विद्यालय, चौकीडाँडाका प्रधानाध्यापक नवराज रिसाल पनि भरतपुरको महानगरपालिकाको यो काम प्रशंसनीय भएको बताउँछन्।

‘यो ठाउँ विकट क्षेत्र हो। यहाँबाट शिक्षक अन्त नजाउन् भन्ने उद्देश्यले  महानगरपालिकाले सुरु गरेको यो काम राम्रो छ। शिक्षकलाई प्रोत्साहन भएको छ,’ प्रधानाध्यापक रिसालले भने।  

उनी गत फागुनमा पदस्थापना भएर यो विद्यालयमा आएका हुन्। यो वर्ष उनले पनि आवास भत्ता पाउँदैछन्।  गत वर्ष मंसिरको अन्त्यतिर पालिकाले सूचना निकालेर १५ दिनभित्र कागजात पेस गर्न भनेको थियो। भरतपुर महानगरपालिका शिक्षकलाई आवास भत्ता उपलब्ध गराउने सम्भवतः पहिलो स्थानीय तह हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad