समाज


सहारा चितवन सहकारीको पनि अनुसन्धान सकियो, रविसहित १४ जनालाई प्रतिवादी बनाउन राय

सहारा चितवन सहकारीको पनि अनुसन्धान सकियो, रविसहित १४ जनालाई प्रतिवादी बनाउन राय

नेपालखबर
माघ ४, २०८१ शुक्रबार २२:७, काठमाडौँ

चितवनको सहारा चितवन सहकारी ठगीमा पनि प्रहरीले दोस्रो चरणको अनुसन्धान टुंग्याएको छ।

शुक्रबार अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कायाृलयमा बुझाएको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए।

सहारा चितवन सहकारी ठगीमा प्रहरीले पुरक अभियोगमा १४ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, प्रहरीकै पूर्व असई रामबहादुर खनाल र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय छ।

यसअघि पहिलो चरणको अनुसन्धानमा जीबी भन्ने गितेन्द्रबाबु राईससहित १७ जनालाई प्रतिवादी बनाइएको थियो। तर सरकारी वकिलको कार्यालयले अनुसन्धान पूर्ण नभएको भन्दै त्यतिबेलै गोर्खा मिडिया नेटवर्क लगायतका कम्पनीमा गएको रकमबारे थप अनुसन्धान गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

बचतकर्ताको ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ भराउनुपर्ने प्रहरीको राय छ। यस्तै सहकारीबाट त्यो भन्दा बढि रकम जीबीसहितका प्रतिवादीका नाममा रहेका विभिन्न ५ वटा कम्पनीमा गएको निस्कर्ष प्रहरीले निकालेको छ।

ती कम्पनीमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ गएको एसपी मिश्रले नेपालखबरलाई बताए। त्यसमध्ये गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख रुपैयाँ गएको छ।

जीबी ग्रुपअफ कम्पनीमा ९ करोड ७० लाख, नेचर हब्समा ९ करोड ७३ लाख र बाँकी रकम स्प्रिङ उड रियलस्टेट एण्ड हाउजिङ प्रालि र नेचर नेस्ट कम्पनीका नाममा गएको पाइएको छ।

यसमध्ये कसलाई कति बिगो कायम गर्ने भन्ने जिल्ला सरकारी वकिल कार्यालयले अन्तिम टुंगो लगाउने छ। उनीहरुलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीको राय छ।

यसअघि लामिछानेसहितका प्रतिवादीविरुद्ध रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगीमा मुद्दा दर्ता हुने भएको छ। बुटवलमा आइतबार मुद्दा दर्ता हुने भएको छ।

त्यहाँको थुनछेक बहस सक्ने बेलासम्ममा चितवनमा मुद्दा दर्ता गरिसक्ने सरकारी वकिल कार्यालयको तयारी छ। लामिछानेले अब बुटवलमा उपस्थित हुनु पर्ने र त्यसपछि चितवनमा मुद्दा अगाडी बढाउने तयारी भएको हो।

यसपछि उनीविरुद्ध पर्साको सानो पाइला सहकारीमा पनि अनुससन्धान अन्तिम चरणमा पुगेको छ। त्यहाँ पनि केही दिनमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी रहेको प्रहरीले जानकारी दिएको छ।

यसअघि पोखराको सूर्यदर्शन सहकारीमा ६५ लाख र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीमा ६० लाख धरौटी बुझाएर लामिछाने छुटेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad