धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना पर्वतारोहीको शव काठमाडौँ ल्याइएको छ।
६ हजार ८ सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव ल्याइएको पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले जानकारी दिए।
हिजो (मंगलबार) मात्रै आईएम ट्रेकिङ एन्ड एक्सपिडिसनका प्रतिनिधिलाई बोलाएर शव संकलनका लागि महानिर्देशक डा रेग्मीले ताकेता गरेका थिए।
धौलागिरि हिमालको आरोहण गर्न १४ जनाको रूसी टोली गत भदौ तेस्रो साता गएको थियो।
अलेक्जेन्डर दुसेको नेतृत्वको टोलीलाई पर्यटन विभागले भदौ १९ गते धौलागिरि-१ हिमाल आरोहणका लागि अनुमति दिएको थियो। विभागले रूसकै प्रख्यात आरोहीहरूको टोली भनेर यस समूहलाई अनुमति दिएको थियो।
टोलीको पर्वतारोहण व्यवस्थापन आईएम ट्रेकिङ एन्ड एक्पिडिसन नामक एजेन्सीले गरेको थियो। ८ हजार १ सय ६७ मिटर उचाइ रहेको यो हिमाल चढ्नका लागि आरोहण दललाई दुई समूहमा विभाजन गरी योजना अघि बढाइएको थियो।
तर, यीमध्ये ६ जनाले स्वास्थ्यको कारण जनाउँदै पहिले नै आरोहण परित्याग गरेका थिए। आरोहण व्यवस्थापन गर्ने एजेन्सी र सम्पर्क अधिकृतबाट विभागले संकलन गरेको जानकारीअनुसार, २ जना भने आरोहण सम्पन्न गरी बेसक्याम्पमा आइसकेका थिए। उनीहरू अहिले सकुशल छन्।
धौलागिरिको खोँचबाट यसरी निकालियो रुसी आरोहीको शव, भिडिओमा हेर्नुहोस् :
बाँकी ६ जना असोज २० गते आरोहणतर्फ गएका थिए। तीमध्ये पनि एक जना स्वास्थ्यकै कारण बीच बाटोबाटै तल झरे र बाँचे। भलेरी स्पालेइभोई नामका ती आरोहीले केही समयपछि माथि रहेका अरू ५ जनालाई पनि तल फर्कन अनुरोध गरेको पाइएको छ।
विभागका अधिकारीका अनुसार, ८ हजार मिटर उचाइको नजिक पुगिसकेकाले ती पाँच जनाले शिखर पुग्ने योजना तत्काल नछाडेको पाइएको छ। तर केही समयपछि भने रेडियो सेटमा सबै जनाले आरोहण परित्याग गरी तल झर्दै गरेको बताएका थिए। विडम्बना, असोज २० गतेकै राति ११ बजेबाट उनीहरू सम्पर्कविहीन भए।
असोज २१ गते सम्पर्क अधिकृत र एजेन्सीले ५ जना आरोही हराइरहेको जानकारी पर्यटन विभागमा गरेको देखिन्छ। विभागले तत्कालै हेलिकोप्टर पठाउन खोजे पनि त्यस दिन धौलागिरि क्षेत्रको मौसमी प्रतिकूलताका कारण उद्धार उडान हुन सकेन। भोलिपल्ट असोज २२ गते बिहानै हेलिकोप्टर उडेर त्यस क्षेत्रमा गयो। हेलिकोप्टरबाट हेर्दा पाँचै जना लडिरहेको देखियो।
यसरी ज्यान गुमाउनेमा अलेक्जेन्डर दुसेको, ओलेग कुर्गलोभ, भ्लादिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र दिमित्री सालिलेभोइ रहेका छन्।
उद्धार टोलीबाट प्राप्त जानकारीअनुसार, उनीहरूका शव ६ हजार ८ सय मिटर उचाइको खोँचमा भेटिएका हुन्। उनीहरू ४ देखि ५ सय मिटर माथिबाट खसेको अनुमान गरिएको विभागका महानिर्देशक डा रेग्मीले बताए।
सम्बन्धित खबर
Shares

प्रतिक्रिया