समाज


कोरोनासँग जुध्ने यस्तो छ सरकारी तयारी

कोरोनासँग जुध्ने यस्तो छ सरकारी तयारी

यज्ञराज जोशी
फागुन १८, २०७६ आइतबार १०:३४,

सरकारले कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई रोक्ने रणनीति सार्वजनिक गरेको छ।

विश्वभर संक्रमण फैलिँदै गर्दा नेपालमा सुरक्षा अपनाउन स्वास्थ्य मन्त्रालयले तीन चरणको तयारी सार्वजनिक गरेको हो।

पहिलो चरणमा कोरोना संक्रमण लाई आउनै नदिन सावधानी अपनाइने भएको छ। जसका लागि विमानस्थलमा कोरोना प्रभावित मुलुकबाट आउने सबै यात्रुको अनिवार्य जाँच गरिएको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार दोस्रो चरणमा कोरोना संक्रमण भित्रिए त्यसलाई निर्मूल पार्न सम्पूर्ण जनशक्ति लगाइने छ। जसअन्तर्गत स्वास्थ्यकर्मी तथा अस्पतालहरुलाई पूर्व तयारीमा राखिएको उनले बताए।

त्यस्तै, कोरोनाले महामारीको रुप लिए स्वास्थ्य संकटकाल घोषणा गरेर भएका सबै अस्पताललाई उपचारमा प्रयोग गरिने तेस्रो चरणको तयारी रहेको पनि मन्त्री ढकालले बताए।

नेपालले प्रकोप रोक्न आवश्यक तयारी नगरेको भन्दै सरकारको तीव्र आलोचना भएपछि सरकारले तयारीका कार्यक्रम सार्वजनिक गरेको हो।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक तयारी जुट्न मातहतका निकायलाई निर्देशन दिएका थिए।

विमानस्थलमा ३ वटा थर्मल मेसिन थपियो

कोरोना भाइरस प्रभावित मुलुकबाट नेपाल आउने सबै यात्रुको तापक्रम नाप्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा इन्फ्रारेड रेडियसन थर्मोमिटर थप गरिने भएको छ।

त्यसका लागि आवश्यक जनशक्ति थप गरिसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाको प्रकोप विश्वभर फैलिँदै गर्दा नेपालमा आवश्यक तयारी नगरिएको भन्दै आलोचना बढेपछि सरकारले तयारीका कदम बढाएको हो।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक तयारी जुट्न मातहतका निकायलाई निर्देशन दिएका थिए।

सो निर्देशनअनुसार नै योजना बनाएर काम थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार तातोपानी र रसुवागढी नाकामा चिकित्सक निगरानीका लागि चिकित्सक खटाइएको छ।

त्यस्तै, प्रदेशससँग समन्वय गरी त्यहाँका नाकामा निगरानी गर्न व्यवस्था मिलाइएको छ।

कोरोना संक्रमणको उपचारमा आवश्यक सामग्रीको मौज्दात थप गरिएको पनि मन्त्रालयले जनाएको छ।

चालक दलका सबै सदस्य स्वस्थ

चीनको वुहानबाट १ सय ७५ नेपालीलाई लिएर फर्केको विमानका चालकदलका सबै सदस्य स्वस्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपाल वायुसेवा निगमको विमानका १८ जनै चालकदलका सदस्यमा दुई सातासम्म पनि कुनै स्वास्थ्य समस्या नरहेको स्वास्थ्य सचिव खगराज बरालले जानकारी दिए।

‘उहाँहरुलाई १५ दिन नगरकोटमा अलग्गै राखिएको थियो,’ सचिव बरालले भने।

उनका अनुसार शनिबार सबै जनाको दोस्रो स्वास्थ्य परीक्षण गरिएको थियो। जसमा कोही पनि संक्रमित भएका छैनन्।

फर्काइएका १ सय ७५ जनालाई भने खरिपाटीमा क्वारेन्टाइनमा राखिएको छ। उनीहरुको पनि परीक्षणको रिपोर्ट सोमबारसम्ममा आउने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad