ad ad

समाज


मनसुन भित्रिएको २५ दिनमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति

मनसुन भित्रिएको २५ दिनमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति

नेपालखबर
असार २०, २०८१ बिहिबार १६:१३, काठमाडौँ

नेपालमा गत जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो। नेपालको पूर्वी क्षेत्र हुँदै अहिले मनसुन देशभर सक्रिय छ। साथै आगामी आइतबारसम्म अत्याधिक वर्षा हुने भएकाले सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।

आगामी दिनमा सिमित क्षेत्रमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसम विज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष सतर्कता अपनाउनुपर्ने जलवायु विज्ञ डा. धर्म उप्रेतीले बताए।

उनले साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउनसक्ने जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारले समयमा नै ध्यान दिनुपर्ने बताए।

मनसुन भित्रिएको २५ दिनमा ८ करोड बढीको क्षति
विज्ञ उप्रेतीकाअनुसार नेपालमा मनसुन भित्रिएको २५ दिनमा ४५ जनाले ज्यान गुमाएका छन् भने ८ करोड २० लाख भन्दा बढीको हानी नोक्सानी भएको छ। त्यस्तै भारी वर्षा सुरु हुनु भन्दा अगावै भएको यो क्षतिलाई हेर्दा पनि आागमी तीन महिनाभित्र नेपालमा विपद्बाट ठूलो नोक्सानी हुने देखिएको बताए।

उनले मनसुन भित्रिएको २५ दिनमा ४६ वटा भौतिक संरचनाहरू बाढी र पहिरोका कारण ध्वस्त भएको बताए। यस समयमा २५९ पशुचौपाया मरेका छन् भने ४ सय वटा जलवायुजन्य घटनाहरू (बाढी, पहिरो, डुबान, चट्याङ) भएका छन्।

उनले भने, ‘हिजोसम्मको क्षतिलाई विश्लेषण गर्दा लगभग ४७ जनाले ज्यान गुमाएको देखिन्छ। ८ करोड २० लाख बराबरको आर्थिक क्षति पनि यो २५ दिनमा भएको छ। ४६ वटा भौतिक संरचनाहरू पनि यही बीचमा बाढी पहिरोका कारणले ध्वस्त भएका छन्। मान्छेको जीविकोपार्जनसँग जोडिएको पशुचौपाया लगभग २५९ वटा मरेका छन्। २५ दिनमा ४ सय वटा जलवायुजन्य घटनाहरू (बाढी, पहिरो, डुबान, चट्याङ) का घटना भए। त्यसमा भएको क्षति हो भयो।’

आगामी तीन महिनामा नेपालमा अत्याधिक वर्षा हुने
विज्ञ उप्रेतीले असारमा औषत भन्दा कम पानी पर्दाको क्षति ठूलो भइसकेको भन्दै आगामी तीन महिनामा नेपालले व्यहोर्नुपर्ने क्षतिको भार नेपालले व्यहोर्न नसक्ने बताए। उनले समयमा नै सरकारले विशेष ध्यान दिन र शतर्कता अपनाउन नसके विपद्‍बाट ठूले क्षति हुने निश्चित रहेको बताए। नदी किनारमा भएका बस्तीहरू, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, लिएर खानेपानी, कृषि सबैमा विपद्को प्रभाव बढेको बताए।

उनले मनसुनको न्युनचापीय रेखा नेपालमा रहेकाले यस समय भारी वर्षा हुने बताए। उनले विपद्पूर्व नै विपद् हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँका स्थानीयहरूलाई सचेत गराउन आवश्यक रहेको बताए।

न्युनचापीय रेखा नेपाल नजिक, आइतबारसम्म भारी वर्षा हुने
विज्ञ उप्रेतीले मनसुनको न्यूनचापीय रेखा नेपालको नजिक रहेको र यस समय बढी वर्षा हुने भन्दै आईतवारसम्म सावधानी अपाउन आग्रह गरे। उनले पोखरा, काठमाडौं, सुदूरपश्चिममा दिपायल, कोशी प्रदेशका केही भूभागमा अत्याधिक वर्षा हुने बताए। उनले भूबनावटले थेग्ने भन्दा वर्षा भएको खण्डमा पहिरो जाने उच्च सम्भावना रहेको बताए।

पानी पर्ने तरिकामा परिवर्तन भयो
विज्ञ उप्रेतीले पछिल्ला केही दिन यता पार्नी पर्ने तरिकामा पनि परिवर्तन भइरहेको बताए। उनले एकै ठाउँमा मुसलधारे पानी पर्ने र त्यसको असर समुदायमा पर्ने गरेको बताए। एकै ठाउँमा धेरै वर्षा हुँदा मानिसहरू डराउने गरेको उल्लेख गरे।

आगामी दिनमा पनि सिमित क्षेत्रमा ठूलो र लामो समय पानी पर्ने भएकाले शतर्क रहन आग्रह गर्नुभयो। तराई र शहरी क्षेत्रमा बाढी आउने मात्र नभइ डुबान पर्ने सम्भावना रहेको बताए। क्षेत्रलाई निर्धारण गरी सोहीअनुसारको पूर्वसूचना प्रणाली बनाउनसके मानिसहरू सचेत हुने र विपद्‍बाट हुने क्षति न्यूनीकरण गर्न सकिने स्पष्ट पारे।

भौतिक संरचना जलवायुमैत्री बनाउनु पर्छ, तत्काल काम रोक्नुपर्छ
निर्माण क्षेत्रले आगामी दिनमा जलवायुमैत्री भौतिक संरचना निर्माण नगर्ने हो भने विपद्को क्षति झनै धेरै बढ्ने विज्ञ उप्रेतीले बताए। उनले नदी किनारमा बनाइएका संरचनाहरूः जस्तै उर्जाको भौतिक संरचना, खानेपानीको भौतिक संरचनाहरू बनाउँदा दीर्घकालीन रुपमा सोचेर बनाउनुपर्ने बताए।

उनले भौतिक संरचनामा प्रयोग गरिने सिमेन्ट,रडहरू बाढीको जोखिम कम हुने क्षेत्रमा राख्नुपर्ने सुझाव दिए। उनले बाढी, पहिरोको जोखिम भएका ठाउँमा तत्काललाई काम रोक्नुपर्ने बताए।

उनले नेपाल र छिमेकी देश भारतले सीमानाकामा बनाउने संरचना जलवायुमैत्री बनाउन आवश्यक रहेको विज्ञ उप्रेतीले बताए। उनले बाढीको पूर्वसूचनालाई प्रभावकारी बनाउन र स्थानीय, प्रदेश र राष्ट्रिय आपत्कालीन केन्द्रलाई प्रभावकारी बनाइ कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाई छ।

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .