आइतबार बिहान ९ बजे खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र परिसरमा एउटा गाडी आइपुग्यो। गाडीबाट झरे, मुखमा मास्क र निलो चिकित्सकीय पोशाक लगाएका १० जनाको टोली।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ (भाइरोलोजिस्ट) डा. रञ्जीत साहको नेतृत्वमा रहेको त्यो टोली त्यहाँ बिहानको झिसमिसेभन्दा पहिले नै चीनबाट ल्याइएका नेपालीहरुको घाँटी र नाकको स्वाब स्याम्पल संकलन गर्न आएको थियो।
कोरोना भाइरस (कोभिद १९) ग्रस्त चीनको वुहानबाट स्वदेश ल्याइएका १ सय ७५ जना नेपालीहरुको घाँटीको र नाकको स्वावको नमूना संकलन गर्न साह नेतृत्वको टोली बिहान ९ बजे खरिपाटीस्थित क्वारेन्टाइन स्थल पुगेको थियो।
साहले क्वारेन्टाइनबाहिर रहेको कन्ट्रोल रुमबाट माइकबाट परिचय दिदैँ भने, ‘हामी तपाईंहरुको नमूना संकलन गर्न आएका हौं। कृपया नडराई तयार भइदिनुहोला।’
उनले नमूना संकलन गर्ने प्रक्रिया र ध्यान दिनुपर्ने कुराहरुबारे पनि सविस्तार जानकारी गराए।

नेपालीहरुलाई ल्याइएको चीनको त्यही शहरबाट हो, जहाँबाट फैलिएको कोराना भाइरसले मंगलबारसम्म १८ सय ७३ जनाको ज्यान लिइसकेको छ। यसबाट ७३ हजार ४ सय संक्रमित छन्। श्वास–प्रश्वासको माध्यमबाट फैलिने यो रोगको हालसम्म औषधि समेत पत्ता लागेको छैन।
विश्व स्वास्थ्य संगठनले नै विश्वमा स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ। यसको उपचारमा संग्लन चिकित्सकहरुको समेत निधन भएको खबर समेत सार्वजनिक भइसकेको छ।
नेपालमा समेत यो रोगबाट संक्रमित भएको आशंकामा एकजनालाई निगरानीमा राखि थप जाँचबाट सामान्य पाइएपछि छाडिएका छन्। सीमा जोडिएको उत्तरी मुलुक चीनमा फैलिएको सो भाइरस आफूहरुमा पनि संक्रमण हुने हो कि भन्ने डरले नेपालीहरुलाई पनि तर्साएको छ।

डा. साहले क्वारेन्टाइनमा रहेकाहरुलाई नडराई तयार भैदिनुहोला भनेर माइकबाट सन्देश पठाउनुको मतलव परिक्षणमा जानुअघि उनको मनमा पनि कहीँ न कहीँ डर थियो भन्ने देखिन्छ। तर, आफ्नो डरलाई सायद ती डक्टरले आँटले जिते र चिकित्सक टोलीको नेतृत्व गर्दै क्वारेन्टाइनमा वुहानबाट ल्याइएका नेपालीहरुको घाँटी र नाकको स्वाव नमूना लिन पुगे।
‘यो सजिलो काम थिएन। हरेक कुरामा जोखिम थियो। मान्छेहरुको नजिकै गएर नमूना लिनुपर्छ। श्वास–प्रश्वासबाट सर्ने यो रोगको संक्रमणको जोखिम पनि उत्तिकै हुन्छ’, डा. साहले मंगलबार नेपालखबरसँग भने, ‘तर आफ्नो देश, नेपाली नागरिक र आफ्नो पेशा प्रतिको कर्तव्य सम्झेर हामीलाई आँट आयो।’
क्वारेन्टाइनमा रहेकाहरुलाई तयार हुन माइकिङ गरेपछि साह नेतृत्वको टोली समेत आफ्नो तयारीमा लाग्यो। एकहप्ताअघि नै उनीहरुले उच्च संक्रमण क्षेत्रमा हुने जोखिमबाट कसरी जोगिने र नमूना संकलन गर्ने भन्ने तालिम लिइसकेका थिए।

त्यही अनुरुप सुरुमा उनीहरुले व्यक्तिगत सुरक्षाका साधन अन्तर्गतको सेतो सुट लगाए।
‘यही सुट नै हामीलाई भाइरसको त्रासबाट जोगाउने मुख्य साधन थियो,’ साह भन्छन्, ‘त्यसबाहेक हातमा पञ्जा, मास्क, खुट्टामा जुत्ता लगायतका साधनहरु लगाउँदै हामीहरु काममा खटिन तयार भयौं।’
यो चिकित्सक टोलीले सुरुमा खरिपाटी क्वारेन्टाइनमा चार वटा स्टेशन बनायो। ती प्रत्येक स्टेशनमा दुई दुई जना बाँडिए। एकजना नमूना संकलन गर्थे भने अर्काले त्यसलाई प्याकिङ गरेर आइस बक्समा राख्थे। बाहिरी संक्रमण नहोस र दूषित नहोस भनेर नमूनाहरुलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तीनवटा लेयर (तह) मा प्याकिङ गर्नुपर्थ्याे।

साहले माइकबाट सबै १ सय ७५ जनालाई नाम भन्दै अलग अलग ल्याबमा जान भने। १२:३० बजे थालिएको नमूना संकलन चार घण्टामा सकियो। यदि कसैमा भाइरसको जिवाणु भए त्यो क्वारेन्टाइनबाट बाहिर निस्कँदा चिकित्सकहरूले लगाएको सुटमा पनि सरेको हुन सक्ने जोखिम हुन्थ्यो। उनीहरुले तालिम प्राप्त गरे बमोजिम त्यसमा रसायन छर्के र फ्याँके। अनि, नमूना लिएर प्रयोगशाला फर्किए।
‘प्रयोगशालामा सबै कुरा मिलाइसक्दा त्यस्तै रातिको ८–९ बजिसकेको थियो। सोमबार र मंगलबार हामीले नमूना परिक्षण गरेका छौं। सरकारले बुधबार नतिजा आइसक्ने यसअघि नै बताइसकेको छ,’ इन्फ्लुयन्जा र कोरोना भाइरस जाँचको नेतृत्व गरिरहेका डा. साहले भने।
आफूमात्रै विश्वस्त भएर हुन्थेन। साहको काँधमा टिमका अरु सदस्यलाई पनि त्रासविहिन रुपमा काम गर्ने वातावरण सिर्जना गर्नु थियो।
‘हामीले पहिला आफ्नै सुरक्षा गर्नुपर्छ भनेर टिमलाई सम्झाएका थियौं,’ उनी भन्छन्, ‘राम्रो तरिकाले मास्क लगाइएन भने संक्रमण हुन्छ। कसैका थुकका छिटाहरु पनि आफ्ना अनुहारमा पर्न नदिन भनेका थियौं। आफूले प्रयोग गरेको पञ्जालाई कुनैपनि हालतमा मुख, नाकतिर नलग्ने निर्देशन दिएका थियौं।’

नमूना संकलनको टिममा रहेकी माइक्रो बायोलोजिस्ट स्मृति श्रेष्ठलाई पनि सुरुमा केही डर लागेको थियो। तर, कर्तव्य ठूलो ठान्दै डरलाई जितेरै आफूहरु नमूना संकलनमा गएको उनी बताउँछिन्।
‘सबैको मनमा अलिअलि डर त छँदैथियो तर डरभन्दा पनि यो गर्नैपर्छ, हामी गर्छौं नै भनेर आँटेका थियौं’, स्मृति श्रेष्ठ भन्छिन्, ‘डरलाई जितेरै हामी नमूना संकलन गर्न गएका हौं।’
खरिपाटी क्वारेन्टाइमा खटिने चिकित्सक टोलीमा कन्सल्ट्यान्ट माइक्रोवायोलोजिष्ट डा. महेश अधिकारी, मेडिकल ल्याब टेक्नोलोजिस्ट त्रिभुवन साह, माइक्रोवायोलोजिष्टहरू स्मृती श्रेष्ठ, विमलेश झा र स्विटी उपाध्याय, ल्याब टेक्निसियन अफिसर सोनी डंगोल, ल्याब टेक्निसियनहरू अर्जुन चौधरी, अबिना ओझा र बिनिता महर्जन थिए।
नमूना संकलन सकिएपछि क्वारेन्टाइनका सबैले ताली बजाएर स्वास्थ्यकर्मी टिमलाई धन्यवाद ज्ञापन गरेका थिए। स्वास्थ्यकर्मीको टिम पनि प्रसन्न भएर हातमा हात समाएर अभिवादन फर्काउँदै त्यहाँबाट फर्के।

प्रतिक्रिया