ad ad

समाज


कंगोमा ज्यान गुमाएका सुरेशको परिवारलाई एनआरएनएको साढे २६ लाख सहयोग

‘हरेक महिना नेपालबाट ४ लाख स्वस्थ मान्छे विदेश पठाएर शव बुझ्न बाध्य’
कंगोमा ज्यान गुमाएका सुरेशको परिवारलाई एनआरएनएको साढे २६ लाख सहयोग

नेपालखबर
माघ ६, २०८० शनिबार १३:१४, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीका सिलसिलामा कंगोमा ज्यान गुमाएका डोटी आदर्श गाउँपालिका-६ का सुरेश सिल्लाको परिवारलाई साढे २६ लाख रुपैयाँ सहयोग गरेको छ। 

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्‌का अध्यक्ष डा. बद्री केसीले शनिबार केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित समारोहमा पीडित परिवारलाई २६ लाख ६१ हजार ९२० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। 

चार महिने नाबालक खगेन्द्रसहित उपस्थित सिल्लाकी पत्नी राजु सिल्ला, पिता पदमबहादुर सिल्ला, दाजु वीरेन्द्रसिंह सिल्ला, ठूलो बुवा धनबहादुर सिल्ला र आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले एनआरएनए अध्यक्ष केसीसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीबाट चेक बुझेका थिए। 

परिवारलाई हस्तान्तरण गरिएको रकम राष्ट्रिय समन्वय परिषद् कंगोले संकलन गरेको थियो। एनआरएनए कंगोका अध्यक्ष विष्णु गिरीले सहयोग जुटाउन नेतृत्व गरेका थिए।

एनआरएनए महासचिव गौरीराज जोशीकाअनुसार हस्तान्तरण गरिएको रकममध्ये ४० प्रतिशत हिस्सा नाबालक छोराका लागि, ३० प्रतिशत श्रीमती र ३० प्रतिशत बुवारआमाको खर्च भनेर सहयोग गरिएको हो।

सिल्लाको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. केसीले यो दु:खको घडीमा एनआरएनले थोरै भए पनि मलहम लगाउने प्रयास गरेको बताए।

‘हामी गैरआवासीयको विडम्बना नै यही हो। हामीले चित्कार गरिरहेको विषय नै यही हो। हामी नेपालबाट मासिक रुपमा चार लाख स्वस्थ मान्छे पठाएर शव बुझ्न बाध्य भएका छौँ। यही पीडा कम गराउन गैरआवासीय नेपाली संघ स्थापना भएको हो। संघले स्थापनाकालदेखि नै संघले यो बाकस कति बुझिरहने, यसलाई कम गर्नुपर्‍यो भनेर धेरै काम गरिरहेको छ, यद्यपि रोकिएको छैन। आज सुरेश सिल्लाको पनि त्यही हालत भएको छ’, उनले भने ।  

धेरै नेपाली श्रम स्वीकृत लिएर जाँदाखेरि अझ सुरक्षित भए पनि त्यो वातावरण नरहेको अध्यक्ष केसीले बताए। 

‘धेरैले स्वीकृति लिएर जानुभएको छैन। किनभने बाहिर निस्किँदा एयरपोर्टमै सेटिङ गर्नुपर्छ। कागजहरु हुँदाहुँदै पनि सेटिङ भएन भने, ४०/५० हजारदेखि १/२ लाखसम्म दिएन भने त्यो ठाउँमा जानै पाइँदैन। अफ्रिकाको कथा यही छ। कंगोको कथा यही छ। कंगोमा राम्रो तलबमा काम गर्न जान नेपालीहरु तयार छन्, त्यो ठाउँ छ। तर, कंगोमा नेपाल सरकारले स्वीकृति दिएको छैन। अफ्रिकामा उच्च सीपयुक्त नेपालीहरु जान तयार छन्। तर सरकारले दिँदैन’, उनले भने।

यस्ता देशमा नेपालीहरुले राम्रो तलब पाउँछन् भने किन जान नदिने भनेर श्रम मन्त्रालयसँग सम्वाद गरिरहेको उनले जानकारी गराए। कंगोमा २ हजार नेपाली रहेको र उनीहरु पनि अवैधानिक रुपमै जान बाध्य भएको उल्लेख गर्दै उनले भने, ‘छुट्टीमा नेपाल फर्किन पनि भारतबाट आउनुपर्छ। भारतबाटै फर्किनुपर्छ। सेटिङका कारण नेपालबाट जान नसक्ने बाध्यता छ।’

यो बाध्यताका कारण विभिन्न कालखण्डमा जानेहरु मारिनुपरेको भन्दै अध्यक्ष केसीले यसलाई अन्त्य गर्न प्रयत्न जारी रहने विश्वास दिलाए।

‘आज कलिलो बालक टुहुरो भएको छ। पत्नी विधुवा भएकी छन्। यो दु:खको घडीमा कंगोका साथीहरुले सहयोग पठाएका छन्। धेरै भएर पठाएको होइन, ठूलो मन गरेर पठाएको हो। त्यो पैसा छोराको पढाइमा खर्च गर्नुस्। बच्चाको पढाइका लागि हामी अन्य सहयोग पनि गर्छौं’, उनले भने। 

सहयोग रकम बुझ्दै गाउँपालिका अध्यक्ष गणेश खड्काले राहत संकलन गरेर परिवारलाई सहयोग गरी दु:खको घडीमा मलम लगाउने प्रयास गरेकामा कंगोका नेपालीहरुलाई धन्यवाद दिए।

उनले मृतकको परिवार र बच्चालाई पालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।

‘राष्ट्रका दक्ष युवाहरुको विदेश जाने परिपाटी बढ्यो। देशभित्रै रोजगारी सिर्जना नभएसम्म देश बन्दैन। विदेशमा जति काम युवाहरु गर्नुहुन्छ, त्यति नेपालभित्रै गरेको भए देश बन्थ्यो। तर सरकारले त्यो वातावरण बनाउनुपर्छ। दैनिक लास भित्र्याउने दैनिक रोक्नुपर्छ। सीप र योग्यताका आधारमा नेपालमै काम गर्ने वातावरण बनाउन सरकारलाई दबाब दिनुपर्छ। नेपालमा कृषिको सम्भावना छ। तर बाहिरबाट भित्र्याउनुपरेको छ। तर युवाहरु बाहिर जानुपरेको अवस्थालाई अब अन्त्य गर्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .