ad ad

समाज


अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, नेपालमा धुमधाम

पशुपतिमा शंखनाद, विभिन्न मठमन्दिरमा दीपावलीको तयारी
अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, नेपालमा धुमधाम

नेपालखबर
माघ ४, २०८० बिहिबार १८:४९, काठमाडौँ

हिन्दुहरूका भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राम मन्दिर बनाइँदै छ। मन्दिरको गर्भगृह तयार भएपछि त्यहाँ आउँदो बिहीबार अपरान्ह १२ः३५ बजे (नेपाली समय) रामको भव्य मूर्ति राखेर प्राण प्रतिष्ठा गरिँदै छ। 

भारतीय जनता पार्टी नेतृत्वको सरकारले यस कार्यक्रमलाई आफ्नै प्रतिष्ठासँग जोडेर भव्य बनाउन खोजिरहेको छ।

यस घटनालाई भगवान् राम ५०० वर्षको वनवासपछि अयोध्या फर्किन लागेको भनेर प्रचारसमेत गरिएको छ। 

भगवान् रामको मूर्तिको प्राण प्रतिष्ठासँगै नेपालकी छोरी जानकी (सीता) पनि आफ्नो गृहप्रवेश गर्ने नेपाली हिन्दु धार्मिक कार्यकर्ताहरू बताउँछन्। 

‘भगवान् रामसँगै सीतामाता ५०० वर्षपछि गृह प्रवेश गर्दै हुनुहुन्छ,’ विश्व हिन्दु परिषद्, नेपालका महासचिव जितेन्द्रकुमार सिंह भन्छन्, ‘यो मानव जातिकै लागि खुसीको कुरा हो। जानकी नेपालकी छोरी भएकाले हाम्रा लागि झन् बढी खुसी र गौरवको विषय हो।’

सिंहका अनुसार, प्राण प्रतिष्ठाको कार्यक्रममा सहभागी हुन नेपालबाट करिब ३० जना सन्त–महन्त अयोध्या जाँदै छन्, तीमध्ये १५ जना प्रमुख धर्माचार्य छन्। कतिपय त्यसतर्फ प्रस्थान गरिसकेका छन्।

जनकपुरबाट अयोध्याका लागि पठाइएको भार

जानकीको जन्मस्थल जनकपुरधामबाट पुस २० गते भार (कोसेली) पठाइएको छ। 

जानकी मन्दिर प्रांगणमा विशेष समारोह आयोजना गरी मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, जानकी मन्दिरका महन्त रामतपेश्वर दासलगायतले भार लिएर अयोध्या जाने टोलीलाई बिदाइ गरेका थिए।

मैथिल परम्पराअनुसार छोरीको घरमा हुने शुभकार्यमा माइती पक्षबाट विशेषरूपमा कोसेली पठाउने गरिन्छ। विभिन्न प्रकारका आभूषण, भाँडा, कपडा, मिठाइ लगायतका सामान बाँसबाट बनाइएका विशेष चंगेरमा सजाएर भार तयार गरिएको हुन्छ।

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि सीताको माइतीपक्ष जनकपुरधामबाट १ हजार १ सय भार त्यसतर्फ पठाइएको जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवको भनाइ थियो।

जनकपुरधामबाट जलेश्वर नाथ, मलंगवा, सिम्रौनगढ, गढीमाई, वीरगञ्ज हुँदै भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर गोरखपुरसम्म विभिन्न धार्मिक स्थलको दर्शन गर्दै अयोध्या पुग्ने कार्यक्रम तय गरिएको थियो।

जनकपुरको जानकी मन्दिरका २ जना महन्थ अयोध्या गइसकेका छन्।

त्यस्तै विराटनगरको पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्य, झापाको सतासीधामका आचार्य नन्दकिशोर भारद्वाज, देवघाटका तीन मुख्य महन्त, बराहक्षेत्रस्थित चतराधामबाट सिद्धबाबा भनिने कृष्ण गिरीसहित २ जनालाई राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा उपस्थितिका लागि निम्तो पुगेको छ।

हिन्दु स्वयंसेवक संघ, नेपालका पदाधिकारी निम्तो बाँड्दै

अयोध्यास्थित राम मन्दिर ट्रस्टको निम्तो बाँड्ने जिम्मेवारी हिन्दु स्वयंसेवक संघ, नेपालले पाएको थियो। यो भारतको राष्ट्रिय स्वयंसेवक संघनिकट संस्था हो। संघका पदाधिकारीहरूले सम्बन्धित आश्रम र धामहरूमै पुगेर निम्तोपत्र बुझाएका थिए।

पशुपति क्षेत्र विकास कोषका मूल भट्ट र सदस्य सचिवलाई निम्ता दिएको र उनीहरू पनि अयोध्याको कार्यक्रममा उपस्थित हुने संघको भनाइ छ। 

नेपालभर शोभायात्रादेखि दीपावली

हिन्दु स्वयं सेवक संघका एक प्रचारक प्रल्हाद रेग्मीका अनुसार, अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा नेपालसहित संसारभरकै हिन्दु समुदायलाई मुख्यतः ३ वटा आह्वान गरिएको छ-

एक, उक्त साँझ प्रत्येक हिन्दु घरमा दीपावली गर्न।

दुई, प्रत्येक मन्दिरमा अपरान्ह १२ देखि १ बजेसम्म भजन–कीर्तन, आरती, जयजयकार आदि गर्न।

तीन, रामायण पाठ, शोभायात्रा, कलशयात्रा आदि गर्न।

रेग्मीका भनाइमा, धार्मिक संघसंस्थाहरूले धनगढी र नेपालगन्जमा शोभायात्राको आयोजना गर्दै छन्। केही नगरहरूमा कलशयात्राको कार्यक्रम छ। विराटनगरमा मोटरसाइकल र्‍याली गर्ने र त्यसमा करिब २ हजार सहभागी हुने आकलन छ।

पशुपतिमा शंखनाद
अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा भइरहँदा नेपालका पनि विभिन्न मठ, मन्दिर एवं धामहरूमा दीप प्रज्ज्वलनको कार्यक्रम राखिएको छ।
पशुपतिनाथ परिसरमा रहेको शंकराचार्य मोठनजिकै विश्व हिन्दु परिषद्ले शंखनाद प्रतियोगिता नै गर्दै छ। 

परिषद्का कार्यक्रम संयोजक जगन्नाथ सुवेदीका अनुसार, ८ गते बिहान ८ बजेदेखि २ बजेसम्म वाल्मीकि रामायण पाठ हुनेछ। ३ बजे १०८ जना पण्डितले स्वस्ती वाचन गर्नेछन्। त्यसपछि शंखघोष प्रतियोगिता र साढे ५ बजे सामूहिकरूपमा १०८ वटा शंखघोष गरिनेछ। उत्कृष्ट शंखघोष गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ।

त्रिपुरेश्वरको राम मन्दिरमा पनि दीप प्रज्ज्वलनको कार्यक्रम राखिएको छ। यसैगरी देशका विभिन्न भागमा रहेका मठमन्दिरहरूमा उत्सवका रूपमा मनाउन लागिएको हिन्दु धार्मिक अभियन्ताहरूको भनाइ छ। 

विश्व हिन्दु महासंघको केन्द्रीय कार्यालय, बाँसबारीमा पनि रामायण पाठ गरिने अध्यक्ष अस्मिता भण्डारीले नेपालखबरलाई जानकारी दिइन्। 

राम मन्दिर र नेपाल
अयोध्यामा निर्माण भइरहेको राम मन्दिरकै लागि नेपालको कालीगण्डकीबाट शिला पनि लगिएको छ। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर-६, ठूलोबगरस्थित कालीनदी किनाराबाट १४ र २७ टनका दुईवटा शिला गत माघमा अयोध्या पठाइएको थियो।

राम मन्दिरको प्राणप्रतिष्ठा हुने दिन अभिषेक गर्न नेपालका विभिन्न नदीहरूबाट जलसमेत पठाइएको छ। विश्व हिन्दु परिषद्, नेपालको नेतृत्वमा जल संकलन गरी जनकपुरबाट अयोध्या पठाइसकिएको छ। 

यति मात्र होइन, प्राण प्रतिष्ठा समारोहमा नेपाली पुजारी दुर्गाप्रसाद गौतमलाई पनि उच्च महत्त्वका साथ सरिक गराइँदै छ। ३ वर्षअघि मन्दिरको शिलान्यास हुँदा गौतमले नै त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भूमिपूजन गराएका थिए। त्यसयता मन्दिरका हरेक समारोहमा उनी सहभागी हुँदै आएका छन्। उनले संस्कृतमा आचार्य गरेका छन्।

प्राण प्रतिष्ठा कार्यक्रममा पनि त्यहाँका प्रधानमन्त्री मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ लगायत विशिष्ट पदाधिकारी उपस्थित हुँदै छन्। 

‘भारत र नेपाल मात्र होइन, विश्वकै हिन्दुका निम्ति यो दिन ऐतिहासिक छ। त्यसैले हामी एकदमै उत्साहित छौँ,’ परिषद् महासचिव सिंह भन्छन्।

भारतीय प्रधानमन्त्री मोदीलाई अयोध्यामा भूमिपुजन गराउँदै नेपाली पुजारी दुर्गाप्रसाद गौतम

धार्मिक कि राजनीतिक? 
त्यसो त भारतीय जनता पार्टी, यसको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ र प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरका नाममा राजनीति गरेको भनेर पनि आलोचना भइरहेको छ। मोदीले आउँदो चुनावलाई प्रभावित पार्ने उदेश्यले काम गरिरहेको र यसक्रममा शास्त्री विधिविधानसमेत अनुसरण नगरेको आरोप हिन्दु समाजबाटै पनि लागिरहेको छ।

भारतमै रहेका प्रसिद्ध चारवटा मठका शंकराचार्यले प्राण प्रतिष्ठा समारोहमा उपस्थिति नै अस्वीकार गरेका छन्। उनीहरूले मन्दिरको निर्माण पूरा नगर्दै उद्घाटनका लागि हतार गरेको र शास्त्री विधि पनि अनुसरण नगरेको भनेका छन्। 

विपक्षी दल भारतीय कंग्रेसले त मोदीको राजनीतिक परियोजना भनेर टिप्पणी गरेको छ। उसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भगवान् रामलाई करोडौँ भारतीयहरूले पूजा गर्छन्। धर्म मान्छेको निजी मामिला हो तर वर्षौँदेखि भाजपा र आरएसएसले अयोध्याको राम मन्दिरलाई राजनीतिक परियोजना बनाएका छन्। यो निर्माणाधीन मन्दिर चुनावी फाइदा उठाउनका लागि मात्रै उद्घाटन भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .