ad ad

समाज


‘शिक्षकलाई राजनीतिमा लगाउँदा नेपालको शिक्षा प्रणाली काम नलाग्ने भयो’

‘शिक्षकलाई राजनीतिमा लगाउँदा नेपालको शिक्षा प्रणाली काम नलाग्ने भयो’

तस्बिर : नेपालखबर


नेपालखबर
माघ ३, २०८० बुधबार १३:२१, काठमाडौँ

प्रा. डा. विद्यानाथ कोइरालाले अहिलेको शिक्षा प्रणालीमा व्यापक परिवर्तनको खाँचो औँल्याएका छन्। 

विद्यालय शिक्षासम्बन्धी बिधेयकमाथि संघीय संसद्‍को शिक्षा समितिमा बुधबार भएको छलफलमा सहभागी उनले अहिलेको शिक्षा प्रणालीले मुलुकलाई धान्न नसक्ने बताएका हुन्। 

उनले विद्यालय शिक्षासम्बन्धी प्रस्तावित विधेयक संशोधन मात्रै नभएर पूरै पुनर्लेखन गर्नुपर्ने बताएका छन्। 

विज्ञहरू बोलाएर संसदीय समितिले संशोधन गर्ने बताए पनि त्यो सम्भावना नदेखेको उनले बताए। कोइरालाले संशोधनले मात्रै अबको शिक्षा क्षेत्रको माग धान्न नसक्ने पनि बताए। 

‘हामीसँग भने जस्तो संशोधन मात्र गर्ने हो कि ओभर राइट गर्ने हिम्मत छ? संशोधन मात्रै गर्ने कुरा बेकार हो’, उनले भने, ‘विद्यालय शिक्षासम्बन्धी विधेयक फेरि पुनर्लेखन गर्नु आवश्यक छ। प्रस्तावनामै दर्शन के राख्ने? शैक्षिक सिद्धान्तलाई कुन रुपमा लिएर जाने भन्ने पनि उल्लेख हुनुपर्छ।’

कोइरालाले परम्परागत शैलीका शिक्षक अब काम नलाग्ने पनि बताए। ‘हाम्रा शिक्षक कस्तो हुनुपर्छ भनेर यसमा राख्नुपर्छ। शिक्षकलाई तयार गर्ने विधि के हो? प्रविधि वा अन्य विधि कस्तो हुने त्यो पनि अब सोच्नु पर्छ’, उनले भने, ‘विद्यार्थीलाई अनिवार्य बचत पनि राख्न लगाउनु पर्ने हुन्छ। विद्यार्थीकै पैसा संकलन गर्‍यौँ भने उद्योगी बनाउन सक्छौँ।’

अहिलेको शिक्षाको गुणस्तर स्याल कराउने जस्तो भएको कोइरालाले बताए। ‘शिक्षाको गुणस्तर स्याल कराउने जस्तो भएको छ। शैक्षिक गुणस्तर र शिक्षकको गुणस्तर ध्यान दिनैपर्छ’, उनले भने, ‘गुणस्तरको कुरा एउटा पाटो, शिक्षक पनि गुणस्तरीय हुनैपर्छ। गुणस्तरीय शिक्षा नदिए शिक्षकलाई पनि कारबाही हुनुपर्छ भन्ने प्रस्ताव राखौँ।’ 

कोइरालाले निजी र सरकारी विद्यालयबारे नयाँ व्यवस्थामा स्पष्ट पारिनुपर्ने पनि बताए। ‘विद्यालयको डिजाइन के हो? निजीको लडाइँ धेरै लड्यौँ’, उनले भने, ‘अब यो कानुनमा उनीहरूका ६० प्रतिशत शिक्षक कर्मचारीलाई दिऔँ। त्यसमा पनि बिचार गर्ने बाटो हुन सक्छ।’

उनले निजीलाई सरकारीकरण गर्दा गुठी मात्रै विकल्प भए त्यसले काम नगर्ने बताए। कोइरालाले शिक्षकलाई राजनीतिको बाटो बनाउँदा सबै कुरा बिग्रिएको बताए। 

‘शिक्षकको सम्मानको अर्को कुरा रहेछ। हामीले शिक्षकलाई पनि राजनीतिको बाटो बनायौँ’, उनले भने, ‘यो कुकर्म हो। बरु सकिँदन भने एउटा दलको मान्छे एउटा शिक्षक राखौँ, त्यसले कस्तो काम गर्ने रहेछ त्यो हेरौँ।’ 

उनले आफ्नो विचारमा शिक्षक धेरै भएको तर्क गरे। ‘शिक्षक नभएको होइन, बढी भयो भन्ने मेरो कुरा हो। जोकोही र जहाँ पनि शिक्षक हुन सक्छ’, उनले भने, ‘अब शिक्षणमा प्रविधि जोडौँ। शिक्षकको सम्मानका लागि उसले गरेका राम्रा कामको विवरण पालिकामा वेबसाइट बनाएर राखौँ। त्यसो हुँदा शिक्षक राम्रो कि हाम्रो भन्ने पनि त्यहीँ छुट्टिन्छ।’

कोइरालाले अब हरेक विद्यार्थीलाई गरिखाने सीप सिकाउनुपर्ने बताए। ‘चाहेको सीप विद्यार्थीले यूट्युबबाट लिन्छ। तालिमबाट सिक्छ’, उनले भने, ‘त्यसका लागि टेक्निकल ज्ञान बढाउनु पर्‍यो। अबदेखि व्यावसायिक नभनी प्राविधिक शिक्षकको कुरा गरौ।’

उनले शिक्षण सिकाइमा परीक्षा फरक पाटो भएको बताए। ‘परीक्षा अर्को पाटो हो। जाँच लिएपछि कति कक्षामा पुगिन्छ भन्ने भूत हामीकहाँ छ, त्यो छोडौँ’, कोइरालाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .