समाज


छिँडीमा एक्लो बुढेसकाल काटिरहेकी गायिका चन्द्रकला शाह

छिँडीमा एक्लो बुढेसकाल काटिरहेकी गायिका चन्द्रकला शाह

तस्बिर : सरोज नेपाल


राधिका अधिकारी
माघ २, २०८० मंगलबार ९:७, काठमाडौँ

‘जीवन भन्नु नै गुजारा न रहेछ,’ ढोकाभित्र पस्दै गर्दा गायिका चन्द्रकला शाहले भनिन्। 

उनलाई पीर छ, आउनेहरुले आफ्नो अवस्था हेरेर दुःख मान्लान्। बाँचिआएको जीवनप्रति उनलाई न गुनासो छ, न बाँकी जीवनसँग आशा। भेटमा सबैलाई ठिकठाक छु भन्ने चन्द्रकला आफ्नो दुःख देखाउन चाहन्नन्। तर, उनले भनेको जस्तै सब ठिकठाक भने छैन। 

भित्तामा टाँगिएको श्यामश्वेत तस्बिर हेरेर उनी निकैबेर टोलाइन्। उनीसँगै तस्बिरमा थिए श्याम शाह। श्यामसँग चन्द्रकलाले जीवनका दुई दशक बिताइन्। सन्तान भएनन्। त्यसपछि श्यामले अर्को घरजम गरे। त्यसयता श्यामसँग चन्द्रकलाको भेट भएको छैन। उनलाई थाहा छ, उनका श्रीमान कान्छी श्रीमती सहित सीतापाइलामा घर बनाएर बसेका छन्। कहिलेकसो बाटो हिँड्दा देख्छिन् पनि। तर, उनले बोलाएकी छैनन्। 

भन्छिन्, ‘एकबारको जुनी हो। सबैलाई रमाएर बाँच्ने अधिकार हुन्छ। उहाँलाई त्यो संसारमा खुसी मिलेको छ। बाँच्दासम्म त्यो खुसी नखोसियोस्।’ 

तर चन्द्रकला आफूले भने सुखको अर्को संसार खोजिनन्। उनका श्रीमानले जुन डेरामा छोडेर गएका थिए, त्यहीँ आफ्नो जीवन गुजारिन्। अहिले पनि उनी त्यहीँ ठाउँमा बस्छिन्। फरक यति मात्रै हो, पहिला उनी घरको कोठामा बस्थिन्, अहिले छिँडीमा। 

चन्द्रकला शाहले आफ्नो जीवनको उर्बर समय रेडियो नेपालमा बिताइन्। रेडियोबाट उनको बिदाइ सुखद रहेन। झण्डै ३ दशक रेडियो नेपालको प्रसारण सेवामा काम गरेकी चन्द्रकला केही वर्षअघि रेडियोबाट बिदा हुँदा पनि करार सेवामै थिइन। अघिल्लो दिनसम्म रेडियो गैरहेकी उनको भोलिपल्ट सिस्टमबाट हाजिरी हटाइएको थियो। 

‘यति लामो समय काम गरेको ठाउँ छोडेर हिँड्नु पर्दा यसै पनि नमिठो लागिहाल्छ। त्यसमाथि मेरो बिदाइ अलि असहज भयो। सुरुका केही दिन नमिठो लागे पनि बिस्तारै बानी पर्दै गयो। उमेरसँगै जिम्मेवारी मुक्त भइयो भन्ने कुराले खुसी दिन्छ,’ चन्द्रकलाले सुनाइन्। 

पछाडि फर्किंदा
चन्द्रकलाको जन्म दाङमा भएको हो। उनका दाजु अल्पायुमै बिते। चन्द्रकला जन्मिएपछि उनका बुबा परदेशिए। घर फर्किएनन्। लामो समय छोरो घर नफर्किएपछि चन्द्रकलाका मामाहरुले आमाको अन्तै विवाह गरिदिए। उनकी आमाले दोस्रो विवाह गरेपछि ४ सन्तान जन्माइन्। चन्द्रकला बेलाबेला आमाको खबर त सुन्थिन्। तर, भेट्न जान सम्भव थिएन। 

आमाको विवाह सल्यानमा भएको थियो। अहिलेजस्तो यातायातको सुविधा थिएन। दुरीकै कारण मन भएर पनि आमालाई भेट्न नपाएको चन्द्रकलाले सुनाइन्। पछि उनकी आमा १५ महिनाको कान्छो छोरो बोकेर बाह्रकुने मेलामा आएकी थिइन्। त्यहीँ चन्द्रकलाका आमाछोरीको भेट भयो। उनकी आमाको पनि ०३३ सालमा निधन भयो। बुबाको खबर छैन। 

‘म ७४ वर्ष लागेँ। केही नभए पनि बुबाको उमेर सय वर्ष पुग्यो होला। म १५ महिनाकी हुँदा घर छोडेर हिँड्नु भएको मेरो बुबाको अनुहार पनि याद छैन। जीवनकालमा कहीँ कतै भेटिनु भयो र मैले चिन्न पाइनँ कि जस्तो पनि लाग्छ,’ उनी सुनाउँछिन्।

चन्द्रकला काका र जिजुमाको काखमा हुर्किन्। त्यो बेला गाउँमा स्कुल थिएन। छोरीहरुले पढ्ने र सपना देख्न समय थिएन। उनको साथमा त देखेका सपना मलजल गरिदिने बुबाआमा पनि थिएनन्। तर, चन्द्रकलाले अक्षर चिन्ने मौका पाइन्। उनका फूपाजु जीवराज हमाल त्यो बेला पनि सबैले अक्षर चिन्नु पर्छ भन्ने मान्यता राख्थे। उनैले चाडपर्वममा ससुराली जाँदा चन्द्रकलालाई सिलोटमा अक्षर लेख्न सिकाए। 

गाउँमा पानासोनिक रेडियो कहिले गीत गाउँथ्यो, कहिले समाचार भन्थ्यो। त्यही रेडियोमा बजेका गीतले चन्द्रकलाको मन तान्यो। उनले रेडियो नेपाल आउने सपना देखिन्। किशोरावस्थाको उमेर रेडियो किन जाने, कहाँबाट जाने, गएर के गर्ने, केही थाहा थिएन। उनलाई यति थाहा थियो, ‘रेडियो नेपाल गयो भने कलाकार भइन्छ।’ 

उनलाई कलाकार हुनु थियो। उनी हुर्किएको समाजमा छोरीहरुले खुलेर न नाच्न पाउँथे, न गीत गाउन नै। चन्द्रकलाले पनि लुकेर नाचिन्, गीत गाइन्। एकदिन उनी घरबाट पनि लुकेरै निस्किन्, रेडियो नेपाल पस्न, कलाकार बन्न।

काठमाडौँ आएपछि उनको भेट गोरखाका श्याम शाहसँग भयो। श्याम नेपाल तत्कालीन शाही नेपाली सेनामा थिए। चन्द्रकला र श्यामको माया बस्यो। उनीहरु दुवैले समझदारीमा विवाह गरे। रेडियो हिँडेकी चन्द्रकला बाटोमै अलमलिएकी थिइन्। 

एकदिन श्यामले भने, ‘तिमी रेडियो जाऊ।’ त्यसपछि चन्द्रकलाले फेरि आफ्नो बाटो सम्झिन्। गायिका तीर्थकुमारी थापाका श्रीमान् र श्यामको चिनजान थियो। तीर्थकुमारी रेडियोकी जागिरे। त्यही चिनजानको बाटो समातेर श्यामले चन्द्रकलालाई रेडियो नेपाल पु¥याए। रेडियोमा सुनेका तारादेवी, मीरा राणा, नातिकाजीहरुलाई रेडियोकै प्राङ्गणमा भेटिन्। यो भेटले चन्द्रकलाको सांगीतिक जीवनलाई उर्बर बनायो। उनी गीत संकलन गर्न र गाउन थालिन्। 

अनि रेडियोमा जागिर
चन्द्रकला जागिर होइन, गीत/संगीतका क्षेत्रमा काम गर्ने योजनामा थिइन्। आफू जन्मिएको क्षेत्रको सांस्कृतिक पहिचानका लागि काम गर्ने थियो। तर, परिस्थितिले काम गर्नु पर्ने मोडमा ल्याएर छोडिदियो। ‘श्रीमानले आफ्नो व्यवस्था गरेर जानुभएपछि आफूले पनि केही गर्नै पर्ने भयो। त्यसपछि मैले रेडियोमा करारमा काम सुरु गरेँ,’ जागिरे जीवन सुरु गर्दाको क्षण सम्झँदै उनले भनिन्। 

रेडियो नेपालको संगीत शाखाको जागिरे भएपछि चन्द्रकलाले थुप्रै गीत संकलन गरिन्। उनले संकलन गरेर ल्याएको गीत गायिका तीर्थकुमारी थापाले गाइन्। 

‘माथिबाट बगाई ल्यायो दही खाने बटुकी’ बोलको गीत गायिका थापाले गाइदिएपछि चन्द्रकलाको औपचारिक संगीत यात्रा सुरु भयो। 

‘म ३ वर्षकी हुँदा जिजुमाले जाँतो पिस्दै गाएको गीत थियो यो,’ चन्द्रकलाले स्मरण गरिन्। उनले संकलन गरेका र गाएका ‘मोहनी लगायौ कि’, ‘भन माया गौँथली हैनौ र’ लगायतका थुप्रै गीत लोकप्रिय भए। तर, उनलाई आफ्ना एल्बमको यकिन संख्या थाहा छैन। 

भन्छिन्, ‘३४ वटा जति एल्बम बजारमा आए होलान्। तर कहाँ छन्, के छन् भन्ने थाहा छैन। हरेक स्टुडियोमा गएको बेलामा धेरै गीत गाइयो। त्यसको पनि लेखाजोखा गर्न सकिएको छैन। करिब ५ सयभन्दा बढी गीत संकलन गरेको छु।’ 

त्यसो त गायिका शाहले आधुनिक गीत रचना, भजन र राष्ट्रिय गीत गायन, गजल लेखनजस्ता कार्यलाई पनि सधैँ सँगै लिएर हिंडिन्। उनका गजल, कविता, हाइकु, तान्का संग्रह प्रकाशन भएका छन्। 

केही वर्षअघि रेडियो नेपालले उमेर हद देखाएर बिदाइ गर्यो। बिदाइलाई लिएर चन्द्रकलालाई धेरै गुनासा छैनन्। यत्ति भन्छिन्, उनले जुन अवस्थाबाट उनले रेडियो छोड्नु पर्यो त्यो अवस्था अरुलाई नपरोस्। 

रेडियोबाट बिदा हुँदा पाएको प्रशंसा पत्र भित्तामा झुण्ड्याएकी छिन्। त्यही प्रशंसा पत्र हेरेर बेलाबेला टोलाउँछिन्। यसैसाता भएको भेटमा पनि उनले भनिन्, ‘मैले २८ वर्ष रेडियो नेपालमा काम गरेको हुँ। निस्कने बेला २० वर्ष भनेर उल्लेख गरियो। काम गरेको इतिहास पनि मेट्न खोज्दा नराम्रो लाग्दो रहेछ।’

अहिले चन्द्रकलाको जीवन गुजाराको बाटो सरकारले दिने वृद्धभत्ता हो। लामो समय घर रेखदेख गरेर बसेकी उनलाई कोठा भाडा भने तिर्नु पर्दैन। नाम मात्रैका कोठा भए पनि उनले घामपानीबाट ओत पाएकी छिन्। उनलाई केही वर्षअघि घरको भित्री कोठाबाट घरबेटीले छिँडीमा सार्दा सानेपाका बासिन्दाले भनेका थिए, ‘तिमी यहाँ घर कुरेर बसेको यत्तिका वर्ष भयो। दाबी गर।’ तर, उनलाई त्यसो गर्न मन लागेन। 

‘जीवन बाँच्दासम्म ओत पाए भैहाल्यो। कुनैदिन यो देश नै राजाको नाममा थियो। अहिले राजाका राजगद्दी संग्राहलयमा छ। बस्दासम्म आफूसँग भए पुग्यो। मरेपछि जोसुकैको होस् भन्ने लाग्यो,’ उनले सुनाइन्। 

टुट्यो ३३ वर्ष लामो सांगीतिक सहकार्य 
उनले गायक तथा संगीतकार मधुबाबु थापासँग लामो सांगीतिक सहकार्य गरिन्। उनीहरुका थुप्रै गीत हिट भए। दृष्टिविहीन मधुबाबुलाई चन्द्रकला भाइ भन्थिन्। उनीहरु सांगीतिक यात्राका मात्रै नभएर जीवनका बलियो आधार भएका थिए। २०७३ साल पुसमा चन्द्रकलाका सांगीतिक सारथी मधुबाबु थापाको निधन भयो। 

रेडियोसँग जोडिएको १० वर्षपछि भेटिएका मधुबाबुसँगको बिछोडको घाउ चन्द्रकलाको छातीमा बिझाइरहे। मधुबाबुसँग चन्द्रकलाले ३३ वर्ष सांगीतिक सहकार्यको स्मृतिलाई यसै हृदयमा गाँठो पारेर राख्न मन लागेन। चन्द्रकलाले उनको स्मृतिमा किताब लेखिन्। यसैसाता दाङमा गएर उनले उक्त किताब सार्वजनिक गरिन्। 

जीवनको उत्तराद्र्धमा एक्लै बाँचिरहेकी चन्द्रकला भन्छिन्, ‘एक्लै भए पनि यात्रा गर्न सकिन्छ। भोलि के होला भनेर अहिलेबाटै सोच्न थाल्यो भने त आज पनि अप्ठ्यारो भैदिन्छ। हिजो पनि राम्रो नै भएको थियो। आज पनि ठिकै छ। भोलि पनि राम्रै हुन्छ भन्ने सोचेर बाँच्नु पर्छ। त्यही सोचेर बाँचिरहेकी छु।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .