समाज


केएमसीले मलाई अपराधीजस्तो व्यवहार गर्‍यो : डा. विशद दाहाल

अस्पतालले कसरी सताउँछ आवासीय चिकित्सकलाई?
केएमसीले मलाई अपराधीजस्तो व्यवहार गर्‍यो : डा. विशद दाहाल

राधिका अधिकारी
पुस १८, २०८० बुधबार ८:५९, काठमाडौँ

बोल्नु हुँदैन, उनलाई थाहा थियो। तर, नबोली नहुने अवस्था सिर्जना भइदियो।

उनी बोले, त्यसपछि निलम्बनमा परे। अहिले उनी काठमाडौं मेडिकल कलेजको गेटबाहिर छन्। उनलाई अस्पताल प्रशासनले भित्र पस्न दिएको छैन। उनी हुन् डा. विशद दाहाल।

निजी स्तरबाट सञ्चालित काठमाडौं मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई स्वास्थ्य शिविरका नाममा विभिन्न स्थानमा जबरजस्ती लैजाने गरेको छ। विशदका ब्याचका साथीहरू पनि स्वास्थ्य शिविरका नाउँमा अनेक ठाउँमा पुगे।

यो चिकित्सा शिक्षा आयोगको नियमविपरीत थियो। विशद र उनका साथीहरूले यसका विरुद्धमा आवाज उठाउँदै आएका थिए। तैपनि मेडिकल कलेज प्रशासनले खटाएको ठाउँमा जान छाडेका थिएनन्। 

‘प्युठानमा भएको पछिल्लो स्वास्थ्य शिविरमा आवासीय चिकित्सकहरूलाई धान्न नसक्ने गरी काममा लगाइयो। लगातार शरीरले धान्न नसक्ने गरी कामको बोझ हुँदा एक जना साथी बिरामी नै हुनुभयो। करिब १७–१८ जना चिकित्सकको टोलीले समेत केही गर्न नसक्ने निरीह अवस्थामा पुग्नुभयो। स्वास्थ्य शिविरमा रहेको हाम्रो टोलीले उहाँलाई काठमाडौँसम्म ल्यायो। त्यसपश्चात् कलेज प्रशासनको विरुद्धमा बोल्नैपर्छ भन्ने लाग्यो,’ विशदले सुनाए। 

विशदको यस आवाजमा ७०–८० जना अन्य चिकित्सकले पनि बल दिएका थिए। ३ दिनअघि मात्रै शिविरमा गएर फर्किएका उनका नाममा अस्पतालले अर्को शिविर जिम्मा लगायो। उनी शिविरमा नजाने कुरामा अडिग रहे। त्यसपछि गत बिहीबार अस्पताल प्रशासनले उनलाई निलम्बन गर्‍यो। 

त्यसपछि आवसीय चिकित्सकहरूले उनको निलम्बन फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिए। जसका कारण केएमसीलाई सम्बन्धन दिने काठमाडौँ विश्वविद्यालयले निलम्बन फिर्ता लिन निर्देशन दिँदै पत्र पठाएको छ। जसलाई अटेर गरी केएमसीले डा. दाहाललाई भित्र छिर्न दिएको छैन।

निलम्बनमा परेको खबरपछि उनको मन अमिलो भएको थियो। सहज बाटो छाडेकोमा उनलाई केही पछुतो पनि भयो।

चार वर्षअघि एमबीबीएस सकेपछि उनका अगाडि दुई बाटा थिए। एउटा थियो, विदेश जाने। अर्को देशमै बसेर सेवा गर्ने।

विदेशिने बाटो सहज थियो। सुरक्षित भविष्य र राम्रो आम्दानी पनि।

तर, देशमै बसेर सेवा गर्नु सहज थिएन। यस असहजताका पनि कारण छन्। तथापि विशदले सहज बाटो समात्न सकेनन्। उनले देशमै काम गर्छु भन्ने सपना पाले।

अहिले उनलाई यही सपनाले दुःख दिएको छ। 

अहिले काठमाडौं मेडिकल कलेजका हरेक गेटमा उनका तस्बिर टाँसिएका छन्। उनलाई अस्पताल प्रवेश गर्न नदिन सूचना प्रवाह गरिएको छ। उनी हरेक दिन मेडिकल कलेजको बाहिरी गेटसम्म पुग्छन्, आन्दोलनमा सरिक साथीहरूसँग मिसिन्छन् र घर फर्किन्छन्। 

उनलाई कहिलेकाहीँ लाग्छ, ‘मैले विदेश जाने सहज बाटो हुँदाहुँदै किन यहीँ बस्ने सपना साँचे हुँला?’ त्यसपछि शून्य हुन्छन्। उनले हिँडीआएको यहाँसम्मको बाटो पनि त्यति सहज थिएन। सामान्य सरकारी जागिरे बुवाले पैसाले भन्दा आँटले पढाएका हुन् उनलाई। 

‘हाम्रा आफन्त ओखलढुंगा नै हुनुहुन्छ। मैले पनि बुवाआमा शिक्षित भएर मात्रै पढ्नकै लागि यहाँसम्मको बाटो हिँड्न पाएको हुँ,’ मेडिकल कलेजको गेटबाहिर मंगलबार बिहान भेटिएका डा. विशदले सुनाए। 

देशमै बस्ने सोच बनाएपछि एमडी अध्ययन सुरु गरेका विशद मेरिटका आधारमा काठमाडौँ मेडिकल कलेज सिनामंगल पुगेका हुन्।

उनलाई लागेको थियो, ‘मेरो करिअरको सबैभन्दा महत्त्वपूर्ण समय यही हो।’

मेहनतका साथ अभ्यास गर्ने सोच बनाएका उनी र उनका साथीहरूको धेरै समय स्वास्थ्य शिविरमा बित्न थाल्यो। शिविरमा गयो, २/३ वटा औषधि लेखिदियो, बिरामी घर पठायो। सिकाइ यतिमै सीमित हुन थाल्यो। 

विशदलाई लाग्न थाल्यो, ‘हाम्रो शिक्षण सिकाइ ध्वस्त भयो।’

तैपनि उनी यहाँबाट पनि सिक्दै जाऊँ भन्ने ठानेर कलेजले सञ्चालन गरेका शिविर धाइरहे। शिविरको चटारोले साथी बिरामी परेपछि भने उनले सहन सकेनन्। 

गत बुधबारसम्म आफ्नो भनेको काठमाडौँ मेडिकल कलेजले भोलिपल्टदेखि भित्र पस्न दिएको छैन। निलम्बनमा परेपछि २ पटकसम्म उनले जबर्जस्ती नै भए पनि मेडिकल कलेज पस्न खोजे। तर उनलाई धकेलेरै बाहिर निकालियो। 

‘त्यसपछि मनमा चसक्क बिझायो। सम्मानका साथ भित्र पस्न नपाउँदासम्म जान्नँ भन्ने लाग्यो। अहिले बाहिरैबाट फर्किन्छु,’ विशदको बयान छ। 

‘निलम्बनमा परेपछि धेरै कुरा दिमागमा आउँछ। मेरो अगाडि सहज बाटो थियो र म सक्षम पनि थिएँ। कतै मैले गल्ती पो गरेछु कि भन्ने लाग्छ। अस्पतालमा मलाई आतंककारी, अपराधीजस्तो व्यवहार गरिएको छ। सबै ढोकाहरूमा मेरो फोटो राखेर, सबै सुरक्षाकर्मीलाई मेरो फोटाहरु दिएर यो मान्छेलाई कुनै पनि हालतमा छिर्न नदिनु भनिएको छ। अस्तिसम्म रातदिन नभनी ड्युटी गरेको अस्पताल मेरै जस्तो लागेर छिर्न पनि खोजेको हुँ। मलाई धकेलेरै बाहिर निकालियो। त्यसपछि चाहिँ मन अमिलो भयो,’ विशदले गम्भीर मुद्रामा सुनाए। 

अहिले उनको निलम्बन फुकुवाको माग गर्दै उनीजस्तै आवासीय चिकित्सकहरु आन्दोलनमा छन्। उनीहरु दैनिक रुपमा युनिभर्सिटी, चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, मेडिकल असोसिएसन धाइरहेका छन्। संस्थाहरुले समस्या समाधान गरिदिने आशा देखाएका छन्। उनी र उनका साथी पनि विशद नितान्त आफ्ना लागि मात्रै नलडेको बताउँछन्। 

केएमसीअगाडि चिया पसलमा भेटिएका एक आवासीय चिकित्सकले भने, ‘हाम्रो २ वटा माग छ। एउटा विशदको निलम्बन फिर्ता हुनु पर्यो। अर्को जुन इस्युमा ऊ लड्यो, त्यो सम्बोधन हुनु पर्यो। खास ऊ उसको लागि त लडेकै थिएन। हामी आवासीय चिकित्सकलाई करिकुलममा भएबाहेकका कुनै पनि क्रियाकलापमा जर्बजस्ति सहभागी नगराऊ भनेर लडेको हो। करिकुलममा भएका कुरा हामी जे पनि गर्न तयार छौँ। सिक्नका लागि हामी जुन हदसम्म पनि खटिन र दुःख गर्न तयार छौँ।’

विशदलाई थाहा थियो बोलेपछि अप्ठ्यारो स्थिति सिर्जना हुन्छ। उनले आवाज उठाउने बेलामा धेरै सोचेका पनि हुन्। अहिलेको अवस्था मात्रै होइन, अब पछिको अवस्था पनि उनका लागि असहज हुन्छ भनेर बुझेका छन्। ‘तर आवासीय चिकित्सकका लागि कसैले बोल्नैपथ्र्यो, म बोलेँ,’ विशद भन्छन्। 

उनको यो संघर्षमा काठमाडौँ मेडिकल कलेजका आवासीय चिकित्सक एकजुट हुँदैछन्। उनलाई सबै मेडिकल कलेजका आवासीय चिकित्सकहरुले साथ दिन्छन् भन्ने विश्वास छ। 

भन्छन्, ‘यो मेरो व्यक्तिगत लाभका लागि नभई सम्पूर्ण आवासीय चिकित्सकहरुको हकहितका लागि हो। आगामी नयाँ पुस्ताले यस्ता समस्याको सामना गर्नुनपरोस् भन्नका लागि पनि मेरो आवाज हो। काठमाडौँ मेडिकल कलेजमा मात्रै नभई अन्य निजी मेडिकल कलेजहरुमा समेत यस प्रकारको समस्या छ। यद्यपि यसबारे आवाज उठेको छैन, मेरो आवाज एकीकृत भएको अवस्थामा त्यसले ठूलो रुप लिन सक्छ।’

निलम्बनमा परेपछि औपचारिक रुपमा अस्पताल प्रशासनसँग विशदको कुरा भएको छैन। उनका साथीहरु निलम्बन फुकुवाको माग लिएर पुग्दा, प्रशासनले ‘पृथ्वी पल्टिए पल्टिन्छ तर कुनै हालतमा निर्णय उल्टिँदैन’ भन्ने जवाफ फर्काएको विशद सुनाउँछन्। आवासीय चिकित्सकहरू सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले प्रतिशोध साँधेर डा. विशद दाहाललाई निलम्बन गरेको बताउँछन्। 

काठमाडौँ विश्वविद्यालयका डिन डा. मनोज हुमागाईं पनि दाहाललाई गरिएको निलम्बन नियमसंगत नभएको बताउँछन्। ‘कलेज प्रशासनले पनि कारबाही गर्न पाउँछ। तर जुन हिसाबले दाहाललाई निलम्बन गरिएको छ, त्यो नियमसंगत छैन,’ हुमागाईंले भने, ‘निलम्बन गर्नुअघि पहिले मौखिक स्पष्टीकरण र लिखित स्पष्टीकरण लिनुपर्छ। त्यो गर्दा पनि भएन भने चेतावनी दिने हो। निलम्बन भनेको अन्तिम प्रक्रिया हो।’ 

विशदले पनि अन्य प्रक्रिया पूरा नगरी सीधै निलम्बन गरिएको बताए। 

कलेजले दाहाललाई निलम्बन गर्नुअघि आफूले सम्बन्धन लिएको काठमाडौँ विश्वविद्यालयलाई समेत कुनै जानकारी नगराएको हुमागाईंले बताए।  

दाहालले गत वर्षदेखि नै कलेजले आवासीय चिकित्सकहरूलाई स्वास्थ्य शिविरहरूमा बढी खटाउन थालेकोबारे कुरा उठाउँदै आएका थिए। सुरुमा काठमाडौँभित्र र पछिल्लो समय बाहिरी जिल्लामा शिविर अत्यधिक सञ्चालन हुन थालेका र त्यसमा आवासीय चिकित्कसलाई खटाएर आवासीय चिकित्सकहरूमाथि अस्पतालले शोषण गरेको दाहालको बुझाइ छ। 

‘स्वास्थ्य शिविर सञ्चालन गर्ने कुरा नराम्रो होइन तर यहाँ व्यक्तिगत एजेन्डाका लागि शिविर सञ्चालन भइरहेको थियो। कोही मान्छेको राजनीतिक प्रचारप्रसार र दाउपेचका लागि हामी कतिञ्जेल प्रयोग हुने?’ उनी प्रश्न गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .