समाज


बालकुमारी घटना : गृहमन्त्री र आईजीपी नै अलमलमा, दिन सकेनन् प्रस्ट विवरण

सांसदहरूले सोधे : अत्यधिक बल किन प्रयोग भयो, गोली किन चलाइयो?
बालकुमारी घटना : गृहमन्त्री र आईजीपी नै अलमलमा, दिन सकेनन् प्रस्ट विवरण

फाइल तस्बिर


रुपक चौलागाईं
पुस १६, २०८० सोमबार १८:३५, काठमाडौँ

गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाले देशको राजनीति नै तरंगित छ। प्रतिपक्षी दलसहित सर्वसाधारणको समेत आलोचनाको केन्द्र बनेको छ गठबन्धन सरकार।

कोरियन भाषा परीक्षा (ईपीएस) मा सहभागी हुन पाउनुपर्ने मागसहित आन्दोलित विद्यार्थीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेपछि उक्त घटना भएको थियो।

उक्त घटनामा प्रहरीले धरपकड गर्दा दैलेखका सुजन राउत र अछामका वीरेन्द्रबहादुर शाहको मृत्यु भयो।

दुई युवाले ज्यान गुमाएपछि सरकार र गृह प्रशासनको चर्को आलोचना भइरहेको छ। त्यही घटनाबारे सोमबार बिहान करिब ४ घन्टासम्म सांसदहरूले सरकारका प्रतिनिधिलाई घेरेका छन्। 

सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले उक्त घटनालाई लिएर चिन्ता व्यक्त गरे।

समितिमा छलफलका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई बोलाइएको थियो। 

सुरक्षा निकायको ब्रिफिङ
बैठकमा बालकुमारी घटनाबारे समितिका सभापति रामहरि खतिवडाले सुरुवाती ब्रिफिङका लागि प्रहरी महानिरीक्षक कुँवरलाई आग्रह गरे।

कुँवरका अनुसार उक्त घटनाका बेला २ सय १४ जना प्रहरी र ७७ जना सशस्त्र प्रहरी बल परिचालित थिए। त्यसक्रममा १ सय २४ सेल अश्रुग्यास र केही थान रबरको गोली प्रयोग भएको पनि उनले जानकारी दिए।

घटनाको विवरण दिने क्रममा महानिरीक्षक कुँवरले बालकुमारीमा मन्त्री ज्वाला सवार गाडी नपुगेको भए उक्त घटना नहुने तर्क गरे। 

‘जतिसक्दो कम बल प्रयोग गर्ने हाम्रो नीति थियो,’ उनले भनेका छन्, ‘प्रहरी पुग्नुअघि नै मन्त्रीको गाडी जलिसकेको अवस्था देखिन्छ।’

कुँवरले मन्त्रीका पीएसओसँग समन्वय हुन नसक्दा समस्या आएको पनि बैठकमा सुनाए। गोली कतिबेला चल्यो भन्ने अझै यकिन हुन नसकेको उनले बताए। 

उता, सशस्त्र प्रहरीका महानिरीक्षक अर्यालले सोचेभन्दा फरक गतिविधिबाट उक्त घटना भएकाले आगामी दिनमा ध्यान दिनुपर्ने बताए। 

‘न्यूनतम बल प्रयोग गर्नु नै सुरक्षा बलको प्रमुख कुरा हो,’ अर्यालले थपे, ‘तर न्यूनतम र अधिकतम केलाई मान्ने कुरा परिस्थितिले निर्धारण गर्छ।’ बालकुमारी घटनाबारे अझै अनुसन्धानका क्रममा रहेको उनले खुलाए।

कतिबेला चल्यो गोली?
बालकुमारी घटनामा गोली कतिबेला चल्यो भन्ने विषय अझै अन्योल छ। सोमबार समितिको बैठकमा पनि गोली चलेको समयबारे प्रश्न उठेको छ। 

प्रहरी महानिरीक्षक कुँवरले अझै गोली चलेको समयबारे थाहा नभइसकेको जानकारी बैठकमा गराए। 

‘११ः५२ बजे मन्त्रीज्यू सवार गाडी कोटेश्वरतर्फ गइरहेको थियो। ११ः५४ मा पीएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको देखिन्छ,’ कुँवरले समितिमा भने, ‘१२ः४२ मा मृतक वीरेन्द्र शाहलाई अस्पताल लगेको देखिन्छ। गोली कतिबेला चल्यो अझै थाहा भइसकेको छैन।’

यहीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि प्रश्न उठाए। 

‘पहिलो कुरा त तपाईंहरू आफैं गोली कतिबेला चल्यो भन्ने विषयमा क्लियर हुनुहुन्न?’, सभापति लामिछानेले भने, ‘पहिला गोली चलेको हो कि पछि हो? तपाईंहरूले यसको गोलमोटल जवाफ दिनुभयो।’

सभापति लामिछानेले भिडिओमा देखिएअनुसार पहिला गोली चलेको देखिएको बताए। 

कहाँ चुके प्रहरी र ईपीएस प्रशासन?
सांसदहरूले सरकार र सुरक्षा निकाय चुकेका ठाउँहरू पनि बैठकमा केलाएका छन्। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले ईपीएस कार्यालयले यो घटनालाई सामान्य भनेर ब्रिफिङ गर्नुबाट गल्ती सुरु भएको बताए। 

‘ईपीएस कार्यालयबाट यो घटना ठूलो हैन भनेर जसरी कुरा आयो त्यहाँबाट गल्ती सुरु भएको छ,’ सांसद बडूले भने, ‘अदालतको निर्णय सम्हाल्न सक्नुपथ्र्यो। यस्तो परिस्थितिमा पीएसओले गम्भीरताका साथ लिन नसक्नु अर्को गल्ती भयो।’

उनले यो घटना ईपीएस परीक्षार्थीबाहेक अरु कसैले घटाएको हो कि भन्ने शंका समेत गरे। ‘आगो लगाइहाल्ने व्यक्ति को हुन्? त्यही भीडबाट आएका युवाले नै आगो लगाएका हुन् कि अरु कुनै बाहिरबाट आएर त्यस्तो घटना पो घटाए कि?’

‘इन्टेलिजेन्स टिम’ किन प्रयोग भएन?
समितिको बैठकमा सांसदहरूले सरकारको सक्रियतामाथि प्रश्न उठाए। सांसद सरिता प्रसाईंले इन्टेलिजेन्स टिमको प्रयोग किन नभएको? भन्दै प्रश्न गरिन्।

‘बिहानै ईपिएस कार्यालय प्रमुखलाई सोधेपछि सरकारले इन्टेलिजेन्स टिटम प्रयोग किन गरेन?,’ उनले प्रश्न गरिन्, ‘पिएसओले त्यो बाटोबारे किन ध्यान दिएन?’

बैठकमा प्रहरी प्रशासनलाई आवश्यक सामाग्री नभएकोबारे पनि प्रश्न उठेको थियो।

अर्की सांसद ईश्वरी न्यौपानेले मन्त्रीका लागि प्रयोग भएको ‘सञ्चार सेट’ले काम नगरेकोबारे आपत्ति जनाइन्। ‘मन्त्रीका लागि बसेको पिएसओको वाकीटकीले किन काम गरेन?’, उनले भनिन्।

त्यस्तै, अर्की सांसद डा. चन्दा कार्कीले गोली चलाउनुअघि राज्यले किन उद्धार पूर्वाधार तयार नगरेको भन्दै प्रश्न गरिन्। 

‘गोली चलाउनुअघि राज्यले एम्बुलेन्स तयार गर्न पर्दैन?,’ उनले प्रश्न गर्दै भनिन्, ‘कसरी लाज पचाएर बस्न सकेको? कस्तो लोभ लागेको त्यो कुर्सीको?’

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति इंगित गर्दै नैतिकता देखाउनकै लागि कुर्सी छाड्न आग्रह गरिन्।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले एक्कासि गोली चलाउनुको कारण खोजे। ‘आ–आफ्नो दायित्वमा कोही गम्भीर नबन्दा यो अवस्था आयो,’ उनले भने, ‘एक्कासि गोली किन हानियो?

गोली नहान्ने आदेश थियो : गृहमन्त्री
गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीलाई गोली प्रहार नगर्ने आदेश दिएको समितिको बैठकमा बताएका छन्। 

उनले बैठकलाई ब्रिफिङ गर्ने क्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारीले नै गोली प्रहार नगर्न आदेश दिएको जानकारी दिए। 

‘मैले कुनै हालतमा गोली नचलाउनुस् भनेर निर्देशन दिएकै थिएँ,’ ललितपुरका सीडीओको भनाइ उद्धृत गर्दै गृहमन्त्रीले बैठकमा भने। 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उक्त बाटो प्रयोग गरेकोबारे गृहमन्त्री श्रेष्ठ नै आश्चर्यमा परेका छन्।

‘प्रारम्भिक निष्कर्ष के हो भने त्यो बाटोबाट त्यस्तो बेला मन्त्रीज्यु किन आउनुभयो होला? हाम्रा सुरक्षाकर्मी आर्मीको बडिगार्ड, पिएसओ छ, त्यसका बाबजुद उहाँ त्यो बाटोमा किन छिर्नुुभयो होला,’ उनले भने, ‘उहाँ आर्मीको सेक्युरिटी गार्ड र प्रहरीको पिएसओसहित त्यो बाटो जानुभयो, त्यसकारण हाम्रो भनाइ उहाँहरुले किन रोक्नुभएन। सूचना किन दिनुभएन होला।’

मन्त्री श्रेष्ठले गोली प्रहार हुनुअघि सामान्य लाठीचार्ज मात्रै भएको पनि जवाफ दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .