समाज


जन्मिनेबित्तिकै उखुबारीमा फालिएका नन्दराजको उदाहरणीय जीवनकथा

जन्मिनेबित्तिकै उखुबारीमा फालिएका नन्दराजको उदाहरणीय जीवनकथा

राधिका अधिकारी
पुस १०, २०८० मंगलबार १०:१६, काठमाडौँ

उनकी आमालाई प्रसव व्यथा लागेको थियो। परिवार पहिलो सन्तान प्राप्तिको पर्खाइमा थियो। सन्तान प्राप्ति भएपछि घरमा खुसी छाउनुपर्ने हो। तर, २०४५ सालमा नन्दराज भट्ट जन्मिँदा परिवारमा खुसी होइन, तनाव सुरु भयो।

कारण, जन्मिँदै उनका हात–खुट्टा थिएनन्। 

आमा त प्रसव पीडाबाट बाहिर निस्कन सकेकै थिइनन्। परिवारमा ठूलो बहस भयो। सबैले निष्कर्ष निकाले, ‘पूर्वजन्मको पापका कारण यस्तो बच्चो जन्मियो। यसलाई घरमा राख्नु हुँदैन।’ 

जन्मिएकै दिन परिवारका सदस्यले उनलाई घरपरको उखुबारीमा फालिदिए। 

नन्दराजकी आमाले भने छोरो फालेपछि मन बुझाउन सकिनन्। छोरो घरमा ल्याउन उनले घर–परिवारसँग विद्रोह गर्न पनि सकिनन्। सुटुक्क उखुबारीमा पुगिन्, छोरो टिपेर ल्याइन र गोठको घाँसमा लुकाएर राखिन्। 

७ महिनासम्म उनले यसैगरी गोठमा घाँसमा छोपेर छोरो पालिन्। ७ महिनापछि मात्रै उनले छोरालाई गोठबाट बाहिर निकाल्न पाइनन्।

हजुरबुवा–हजुरआमा घरमा हुँदासम्म आमाले उनलाई राम्रोसँग दूध चुसाउन समेत पाउँदैनथिन्। छोरालाई दूध ख्वाएवापत आमाले सुन्नु परेका वचनले हरेस खाएको भए नन्दराजको जीवन फक्रिन पाउँदैनथ्यो। जब उनका हजुरबुवा–हजुरआमाको निधन भयो त्यसपछि बल्ल उनकी आमाले राम्रोसँग छोराको पालनपोषण गरेकी हुन्। 

आर्थिक रुपमा विपन्न नन्दराजको परिवारलाई छोरोको शिक्षादीक्षाको सपना आकाशको फलजस्तै थियो। उनी स्कुल आउ–जाउ गर्न सक्दैनथे। तर उनकी आमाले हिम्मत हारिनन्। घरमै शिक्षक राखेर छोरो पढाइन्। 

नन्दराज सम्झिन्छन्, ‘सुरुमा शिक्षकले मलाई दुवै हातले लेख्न सिकाउनु भयो। गाह्रो भयो। खुट्टाले लेख्न सिकाउनु भयो। त्यो पनि सजिलो भएन। मैले मुखले पनि लेख्न सिकेँ। खुट्टाले लेख्दा कापी फोहर भयो। मुखले लेख्दा घाँटी दुख्यो। त्यसपछि हातले लेख्ने अभ्यास गरेँ।’

नन्दराजले ३ कक्षासम्म घरमै अध्ययन गरे। उनी परीक्षामा भने सामेल हुन्थे। ३ कक्षासम्म उनी प्रथम भए। 

४ कक्षा पुगेपछि भने उनी स्कुल जान थाले। उनलाई त्यो बेला जसले भेट्यो उसैले स्कुल पुर्‍याउँथ्यो। 

‘म कहिले बुवाको काँधमा, कहिले आमाको पिठ्युँमा त कहिले गाउँका अरु मान्छेका काँधमा स्कुल गएँ। स्कुल समयमा मलाई जसले भेट्यो उसैले बोकेर स्कुल लैजान्थे,’ उनले सुनाए।

आफूसँगैका साथीहरु ठमठम हिँडेर स्कुल जान्थे। नन्दराज अरुको काँधमा। उनलाई यो दृश्य नमिठो लाग्थ्यो। तर, जीवनमा केही गर्नु पर्छ भन्ने अठोट पनि गर्थे। यसैगरी उनले ७ वर्ष गुजारे। २०६१ सालमा प्रथम श्रेणीमा नन्दराजले एसएलसी पास गरे। 

एसएलसीपछि नन्दराज बैतडी सदरमुकाम झरे। ‘प्लस टु’सम्मको अध्ययन गरे। थप अध्ययनका लागि धनगढी आएका उनको काम नगरी पढ्नसक्ने अवस्था थिएन। प्लस टु पढ्दा नै उनले कम्प्युटर चलाउन सिकेका थिए। यो सिकाइ उनको जीवनमा काम लाग्यो। महिला तथा बालबालिका कार्यालय धनगढीमा कम्प्युटर अपरेटरको जागीर पाए। 

भन्छन्, ‘त्यहाँबाट मासिक ३ हजार तलब आउँथ्यो। पढाइ र जागिर सँगसँगै अगाडि बढाए।’ 

यति पैसाले दैनिकी चलाउन गाह्रो हुन्थ्यो। जीवन सहज बनाउनकै लागि नन्दराज अंग्रेजी विषयको ट्युसन पढाउन थाले। ब्याचलर पढ्दाताका उनको दैनिकी निकै व्यस्त थियो। बिहान कलेज र दिउँसो अफिस जान्थे, साँझ ट्युसन पढाउँथे।

बीएपछिको पढाइका लागि उनी काठमाडौँ आए। परिलक्षित नामक संस्थाले उनलाई मास्टर्स पढ्न छात्रवृत्ति दिएको थियो। काठमाडौंमा पनि जीवनयापन सहज थिएन। जीविकाका लागि ट्युसन सेन्टर खोले। ब्याचलर लेभलका विद्यार्थीलाई पढाए। 

त्यहीबेला उनले आईएफईएस आईएनजीओमा जागिरका लागि आवेदन दिए। यो संस्थाले अपाङ्गता भएका व्यक्तिहरुको निर्वाचनमा सहभागिता कसरी गराउने भनेर काम गरिरहेको थियो। यसका लागि कैलालीमा काम गर्ने मान्छे संस्थालाई चाहिएको थियो। नन्दराज कैलालीका लागि छनौट भए। त्यही काम गर्दागर्दै उनले मास्टर्ससम्मको पढाइ सके।

त्यसपछि उनले लुथरन वल्र्ड फेडेरेसन (एलडब्ल्यूएफ) नेपालमा काम गरे। ३ वर्ष यहाँ काम गरेपछि उनले एसिया फेडेरेसनको कन्सल्ट्यान्टका रुपमा काम गर्न थाले। अहिले उनी राष्ट्रिय अपाङ्ग महासंघमा प्रदेश सचिवका रुपमा कैलालीमा कार्यरत छन्। कैलाली भजनीको दिगो विकास समाजमा रहेर विपद् व्यवस्थापनको क्षेत्रमा विज्ञका रुपमा पनि काम गरिरहेका छन्।

अहिले उनलाई देख्नेहरु उनको जीवन सहजै यहाँसम्म आएको कल्पना गर्छन्। तर पहाडको उकाली–ओरालीमा उनको जीवन निकै कष्टका साथ बितेको हो। बैतडीको वीरेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरेका उनको जीवन उच्च शिक्षा हासिलका क्रममा कैलाली अलि सहज भयो। समथर भौगोलिक बनावट र यातायातको सुगमताले तुलनात्मक रुपमा सहज भए पनि शारीरिक अवस्थाको कठिनाइ छँदैथियो। 

अझ धनगढी आएपछि अपाङ्गताकै कारण कलेजले भर्ना लिन नमानेको नमिठो अनुभूति पनि उनले संगालेका छन्। अपाङ्गमैत्री भवन नभएको भन्दै धेरै कलेजहरुले भर्ना लिन नमानेको विगतले उनलाई आज पनि बेलाबेला नमिठो महसुस हुन्छ। समाजसेवी घनबहादुर शाहको साथ पाएपछि मात्रै उनले कैलाली बहुमुखी क्याम्पसमा भर्ना हुन पाएका थिए। भर्नाले मात्रै पनि उनको जीवन सहज हुन सकेन। विगत सम्झँदै भन्छन्, ‘सबै विद्यार्थीका बीचमा म एउटा अपाङ्गता भएको विद्यार्थी थिएँ। साथीहरुले जिस्काउँथे। त्यतिबेला मन अमिलो हुन्थ्यो। तर मैले हरेस खाइनँ।’

बैतडीको सुर्नया गाउँपालिका–३ मा हुर्केका नन्दराजका शरीरमा जन्मँदा हात र खुट्टाको कुहिनोसम्म मात्र थियो। उनले मात्र होइन, बुवा–आमाले समेत अवहेलना खेप्नु पर्यो। तर, नन्दराज आज अपाङ्गता भएका व्यक्तिका लागि मात्रै होइन, समग्र समाजका लागि प्रेरणाको स्रोत बनेका छन्। उनको सक्रिय जीवनशैली हेरेर हिजो घृणा गर्नेहरु प्रशंसा गर्छन्। 

‘समाजले अपाङ्गताको सही अर्थ नबुझेका कारण हामीलाई गाह्रो भएको हो। म जन्मँदा मेरा आमाबुवालाई अपाङ्ग छोरा पालेर के गर्छौ, कतै लगेर फालिदेऊ भन्नेहरु हिजोआज मेरो प्रशंसा गर्नुहुन्छ,’ उनी भन्छन्, ‘मेरा लागि सबैभन्दा ठूलो खुसी पनि यही हो।’ 

धेरै बाबुआमाले नन्दराजलाई उदाहरणका रुपमा लिने गरेका छन्। उनीहरु नन्दराजका बुवाआमालाई भन्छन्, ‘छोरा होस् त तिम्रो जस्तो।’ उनका बुवाआमा मुस्कुराउँछन्। नन्दराजलाई जीवनमा यो भन्दा ठूलो खुसी चाहिएको छैन।

उनी ओठ र नाकको सहायताले मोबाइल र कम्प्युटर सजिलैसँग चलाउँछन्। २०७१ सालमा प्रेम विवाह गरेका उनको गृहस्थ जीवन पनि सजिलै चलेको छ। उनकी श्रीमती सेती प्रादेशिक अस्पतालमा काम गर्छिन्। नन्दराजकी एक छोरी पनि छिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .