जातीय छुवाछूतका कारण मोरङको बूढीगंगा गाउँपालिका–१, पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमबाट निकालिएकी शोभा सुन्दासले सुनसरीको इटहरीमा रहेको ‘मायाघर नेपाल’मा आश्रय पाएकी छन्।
मोरङको उर्लाबारी–१ की वडासदस्य टीका भुजेलले ६२ वर्षीया सुन्दासलाई आइतबार मायाघर पुर्याइएको जानकारी दिइन्।
शुभद्रा प्याकुरेल सञ्चालक रहेको मायाघर नेपालले ज्येष्ठ नागरिक, हिंसापीडित महिला, बालबालिका तथा आश्रयविहीन सडक मानवको उद्धार तथा सेवा गरिरहेको छ।
‘उहाँ (शोभा सुन्दास) बिरामी हुनुहुन्थ्यो, ५ दिनपछि हिजो अस्पतालले डिस्चार्ज गरेपछि उहाँलाई मायाघरको जिम्मा लगायौँ’, वडासदस्य भुजेलले सोमबार बिहान भनिन्।
उर्लाबारी नगरपालिका–३ ठेगाना भएकी शोभाका श्रीमान् बेपत्ता भएको धेरै वर्ष भइसकेको छ भने सन्तान पनि छैनन्।
यसअघि गत मंसिर १४ गते जागृति वृद्धाश्रम लगिए पनि शोभा दलित समुदायकी भन्ने थाहा पाउनासाथ सञ्चालक भुवनेश्वरी आचार्यले फिर्ता पठाइदिएकी थिइन्।
जसका कारण उनीविरुद्ध जिल्ला अदालत मोरङमा जातीय भेदभाव तथा छुवाछूत कसुरमा मुद्दा पनि परेको छ।
तर २ दिनको हिरासतपछि उनी अदालतको आदेशमा १० हजार रुपैयाँ धरौटी राखेर मंसिर २८ गते रिहा भइसकेकी छन्। मुद्दा अदालतमा विचाराधीन छ।
Shares

प्रतिक्रिया