ad ad

समाज


पारलैंगिक महिलाको भोगाइ: परदेशले डिपोर्ट गर्‍यो, देशमा काम पाइनँ, बाध्य भएर यौनकर्मी बनेँ

‘महिला हुँ भन्दा बुबाआमाले पनि स्वीकारेनन्, श्रीमतीले छाडिन्’
पारलैंगिक महिलाको भोगाइ: परदेशले डिपोर्ट गर्‍यो, देशमा काम पाइनँ, बाध्य भएर यौनकर्मी बनेँ

दुई छोराले सुनितालाई ‘ममी’ भनेर बोलाउन थालेका छन्। तस्बिर : सरोज नेपाल


राधिका अधिकारी
मंसिर १६, २०८० शनिबार ९:१३, काठमाडौँ

मकवानपुरमा ४ दशकअघि जन्मिएका राम तामाङ (परिवर्तित नाम) लाई सानैबाट लिपस्टिक र टीका असाध्यै मन पर्थ्यो। स्कुल पढ्दै गर्दा उनले एक जना केटा साथीलाई असाध्यै मन पराएका पनि थिए। तर, उनको त्यो मनलाई कसैले बुझेनन्। स्वयं उनका साथीले पनि उनको प्रेमको गहिराइ बुझेनन्। राम ग्रिटिङ कार्डमा साथीलाई प्रेम पोखेर लेखिपठाउँथे। रामका साथी बेस्ट फ्रेन्डका रुपमा उनको प्रेम स्वीकार गर्थे। 

जमाना अहिलेजस्तो थिएन। आफूले महसुस गरेको फरकपनको कारण थाहा पाएनन् रामले। तर, उनलाई आमा–बुबाले छोरा भनेर बोलाउँदा नमज्जा लाग्थ्यो। दाजुदिदीले भाइ भन्दा अचम्म लाग्थ्यो। फेरि पनि रामले आफूलाई छोराका रुपमा स्वीकार गरेका थिए। 

रामको परिवारको आर्थिक अवस्था असाध्यै कमजोर थियो। त्यसैले उनी सानो हुँदै बुबाआमाले काभ्रे उनकी फूपुको घरमा पठाए। १२ वर्षको उमेरमा घर फर्किंदा परिवारले उनलाई झण्डै चिनेन। उनलाई अहिले लाग्छ, ‘त्यो बेला मेरो हाउभाउ पनि फरक भएको थियो होला। त्यसैले उहाँहरु पनि झुक्किनु भएको रहेछ सायद।’

उनी घरीघरी लिपस्टिक र टीका लगाउँथे। आमा–बुबाले गाली गर्थे। दाजुहरु हकार्थे, ‘छोरा मान्छे भएर यस्तो गर्न लाज लाग्दैन?’ समय बित्दै थियो। रामको विवाह भयो। विवाह गर्ने बेला पनि उनलाई छोरी मान्छेसँग विवाह गर्न मनै थिएन। तर, परिवारको अगाडि उनको केही लागेन।

भन्छन्, ‘श्रीमतीसँग बस्दा, सम्बन्ध स्थापित गर्दा मलाई उकुसमुकुस हुन्थ्यो। एन्जाइटी जस्तो हुन्थ्यो।’ उनका दुई छोरा पनि जन्मिए। रामले आफ्नो पहिचान थाहा नपाएर थुप्रै वर्ष बिताए। 

उमेरसँगै जिम्मेवारी पनि बढ्दै गयो। एकदिन उनले परदेश जाने निधो गरे। सन् २०१० मा उनी वैदेशिक रोजगारीका लागि मलेसिया गए। 

त्यसपछि सुरु भयो उनको दुःखको कथा। उनले झण्डै मलेसिया एयरपोर्टबाटै फर्किनु परेको थियो। ‘एयरपोर्टका कर्मचारी घरी मेरो अनुहारमा हेर्थे, घर पासपोर्टको फोटो र नाममा यो मान्छे तैँ होस् भनेर प्रश्न गर्थे। म झण्डै २ घण्टा एयरपोर्टमै अल्झिएँ,’ पुराना दिनको सम्झना गर्दै उनले भने। 

मलेसियामा उनले राम्रो कम्पनीमा काम पाएका थिए। आम्दानी पनि ठिकै। बेठिक थियो त्यहाँको बसाइ। कम्पनीले केटाहरुको गु्रपमा राखिदियो। रामलाई भने सहज महसुस हुँदैनथ्यो। उनीहरुले छुँदा पनि हिंसा भएको महसुस हुन्थ्यो। केटाहरु जिस्काउँदै भन्थे, ‘तँ केटै होस् र? लुगा खोलेर देखा त।’ 

अन्य छोरा मान्छेको भन्दा रामको हिँड्ने चाल, बोल्ने शैली सबै फरक थियो। उनलाई कम्पनीका सुपरभाइजरले पनि नियालिरहेका रहेछन्। दुई महिनापछि उनले भने, ‘यहाँ तिमीहरु जस्तै मान्छेको संस्था छ जाऊ।’ उनलाई आफूजस्ता मान्छे भनेको के–हो, थाहा भएन। तर, त्यस दिनदेखि उनी एक्लै कोठामा बस्न पाए, केटाहरुसँग बस्नु परेन। एक्लै कोठामा बसेपछि उनका रहरले झन हाँगा फैलाए। नङ लामा बनाएर पाल्ने, पोलिस लगाउने, लिपस्टिक–टिका लगाएर हिँड्ने गर्न थाले। कपाल काट्न मन लागेन। उनलाई नियालिरहेका कम्पनी साहुले त्यसपछि नेपाल फर्काइदिए। फरक यौनिकता भएकै कारण वैदेशिक रोजगारीबाट विमुख भएका उनले त्यतिबेलासम्म पनि आफूले आफैँलाई स्वीकार गर्न सकेनन्। उनी अझै आफू पुरुष भएकै भ्रममा थिए। 

यसरी यौनिकता पहिचान भएपछि फर्काइएका अरु पनि थुप्रै भएको उनको अनुमान छ। कहिले उनीसँग गुनासो समेत गरेका छन्। तर, आफ्नो पहिचान खुलाउन तयार छैनन्। त्यसैले डिपोर्ट भएकाहरुको संख्या भेटिए पनि लैङ्गिक अल्पसंख्यक समुदायको भएकै कारण डिपोर्ट भएकाहरुको संख्या चाहिँ एकिन नभएको मितिनी नेपालकी प्रोगाम अफिसर विमला गुरुङ बताउँछिन्। 

भन्छिन्, ‘नेपाल फिर्ता पठाइएका लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरूको यकिन तथ्यांक हामीसँग छैन। उहाँहरु बल्ल आफ्ना समस्याका बारेमा बोल्न थाल्नु भएको छ। हामी अहिले गुनासो सुन्ने चरणमा छौँ।’

देश फर्किए पनि सकिएका थिएनन् अभावका दिन। उनले काठमाडौंँमै गाडीमा काम गर्न थाले। गाडीका मानिसले पनि अनौठो व्यवहार गर्थे। अरु मानिस देखाएर भन्थे, ‘ऊ हेर त तिमी जस्तै मान्छे।’ 

एकदिन पशुपतिमा हिँडिरहेका बेला एकजना साथी भेट भए। उनले धेरैबेर कुरा गरेपछि नीलहिरा समाज लिएर गए। त्यहाँ भने उनले आफ्नो जस्तै हाउभाउ भएका थुप्रै मानिस देखे। त्यसपछि बल्ल थाहा भयो आफू पारलैगिंक महिला भएको कुरा। वर्षौंदेखि पहिचानको अलमलले थिचिएको उनको मन हल्का भयो। 

उनले त्यसपछि आफ्नो मन जस्तै नाम राखिन्– सुनिता लामा। आफ्नो फरक यौनिकताका बारेमा उनले श्रीमतीलाई भनिन्। श्रीमती पत्याउन तयार थिइनन्। उनले भनिन्, ‘तपाईंलाई धेरै त्यस्ता मान्छे भेटेर त्यस्तो लागेको होला। तपाईं पुरुष नै हो।’ 

उनलाई छोरीको रुपमा स्वीकार गर्न उनका बुबाआमा पनि तयार थिएनन्। उनले थुप्रै प्रकारका आलोचना खेप्नु पर्यो। 

उनी भने पिँजडाबाट निस्किएको चरी झैँ भएकी थिइन्। त्यतिबेला फरक यौनिकता भएकाहरु यौन व्यवसायमा संलग्न थिए। सुनिताले पनि त्यही बाटो समातिन्। उनको पहिचान खुलेपछि श्रीमतीसँग सम्बन्धविच्छेद भयो। सुनिता महिलाको पहिरनमा निस्कन थालिन्। उनलाई आफू असाध्यै राम्री लाग्यो। तर, समाज र परिवारले उनलाई स्वीकार गरेन। काम गर्न सहज भएन। उनी पूर्णकालीन यौनकर्मी भइन्। यो बाटो पनि उनका लागि त्यति सहज थिएन। 

भन्छिन्, ‘मानिसहरु मलाई छक्का, हिजडा भन्न थाले। उनहरु इसारा गरीगरी मलाई देखाउँथे। पीडा यति भयो कि मलाई आत्महत्या गर्नेसम्म सोच आयो। मेरो मन र भावना नबुझ्ने यो दुनियाँ मलाई मन पर्नै छाडेको थियो। तर दुई छोरा सानै थिए। उनीहरुलाई असल नागरिक बनाउने सपनाले पनि मलाई फर्कायो।’

सुनिताले यौन व्यवसाय छोड्न थुप्रै पटक कोसिस गरिन्। कहिले होटल व्यवसाय सञ्चालन गरिन्। केही समय राम्रैसँग चलेको पनि थियो। तर, उनको फरक यौनिकता थाहा पाएपछि होटल सुक्यो। मेकअप सिकिन्। मेकअप आर्टिस्टका रुपमा काम गरिन्। यो मौसमी कामले पनि उनको जीविकोपार्जन भएन। उनले यौनकर्म छोड्न पाइनन्। 

यो यात्रामा उनले आफूजस्ता थुप्रै साथी भेटिन्। उनीहरुका समस्या सुनिन्। फरक यौनिकता भएका आफूजस्तै मानिसहरुका अधिकारका लागि बोल्न थालिन्। आज पनि बोल्छिन्। उनीहरुलाई स्वीकार नै नगर्ने नेपाली समाज पनि बिस्तारै उदार हुँदै गएको छ। सुनिताको आत्मविश्वास पनि बढेको छ। 

उनी छोरीको पहिरनमा निसंकोच हिँड्न सक्छिन्। छोराहरुले पनि उनलाई ‘ममी’ भनेर बोलाउँछन्। सुनिता खुसी छन्। तर, उनलाई आफ्नो पहिचानका आधारमा अहिले पनि दाजुहरुले स्वीकार गरेका छैनन्। भन्छिन्, ‘दाजुहरुसँग मेरो कनेक्सन नै छैन। दिदीले चाहिँ माया गर्नु हुन्छ। बुबा–आमा मलाई नस्विकारेरै बित्नु भयो।’ 

लामो समय शरीर पुरुषको मन, महिलाको लिएर हिँडेकी सुनिताले १० वर्षअघि अंग परिवर्तन गरिन्। अनुहारको रौँ हटाइन्। मन सजिलो भयो, जीवन सहज भएन। आर्थिक उपार्जनका लागि काम गर्न जाने ठाउँ कम हुँदै गए। चाहेर पनि यौनकर्म छोड्न नपाउँदाको घाउ सुनिताको छातीमा बेलाबेला दुखिरहन्छ। 

भन्छिन्, ‘हाम्रो समुदायको मानिसले गर्ने काम भनेको यही मात्रै हो भन्ने भयो। अबको जेनेरेसनलाई चाहिँ हामीले राम्रो बाटोमा डोर्‍याउनु पर्छ। मलाई त परदेशले पनि डिपोर्ट गर्‍यो, देशले रोजगारी दिएन, विवशताले यौनकर्मी भएँ। अबको पुस्ता त खुल्न पनि थालेको छ। परिवारले पनि फरक यौनिकता लिएर जन्मिनु उसको गल्ती होइन भनेर बुझ्न थालेको छ। मैले आफ्नाबाट बहिष्कृत हुनु पर्दाको पीडा, भोगेको यातना अहिले हाम्रो समुदायका मानिसलाई हेर्ने परिवर्तित समाज देखेर भुल्ने गरेकी छु।’

सुनिता आफूलाई एलजीबीटीआईक्यूआईए समुदायकी पारलैंगिक महिलाको रुपमा चिनाउँछिन्। जीवनको सबैभन्दा ठूलो सपना यो देशको संसद् भवनमा गएर आफ्नो समुदायका समस्या सुनाउने रहेको सुनिता सुनाउँछिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .