चीनको १८औँ विकसित सहरको सूचीमा रहेको खुनमिङ सहर प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। भौगोलिक बनावटको हिसाबले झण्डै काठमाडौं जस्तै देखिने यो सहरभित्र अहिले करिब ५० लाख चिनियाँको बसोबास छ।
तीव्र गतिमा विस्तार भइरहेको यो सहरको वायु चीनमै सबैभन्दा सफा र शुद्ध मानिन्छ। यहाँ तीव्र सहरीकरण भइरहँदा चीन सरकारले वनस्पतिको जगेर्नामा पनि उत्तिकै ध्यान दिएएको छ।
साधरणत: १४ देखि २५ डिग्री आसपास तापक्रम रहने यो सहरले आफ्नो वैभव बढाउँदै जाँदा सरकारले ठूला सडकदेखि साना गल्लीसम्म रुख र अन्य बोटविरुवाको संरक्षणमा विशेष प्राथमिकता दिएको छ।
शुद्ध वायुका कारण चीनमा प्रख्यात यो सहरले सडकका दायाँबायाँ सानादेखि ठूलासम्म रुख जोगाएको छ।
तपाईं हामी काठमाडौंको स्वयम्भू या चन्द्रागिरि जस्ता अग्ला ठाउँमा गएर हेर्दा हाम्रो संघीय राजधानी सिमेन्टको चिहानाघारी जस्तो देखिन्छ।
फुङ्ग उडेको, धुवाँ र धुलोले ढाकिएको हाम्रो राजधानी सहर विस्तारै मृत भइरहँदा खुनमिङले आफ्नो प्राकृतिक सुन्दरतालाई अझै फैल्याइरहेको छ।
सन् १९९० को दशमा कुरुप बनेका फाङलोङ नदी र तियान्ची ताललाई अहिले खुङमिङले सफा बनाइसकेको छ। जहाँ वर्षेनि हजारौँ पर्यटक आइपुग्छन्।
अर्कातिर सहरका हरेक कुना र गल्लीहरू जहाँ पसे पनि हरियाली भेट्न पाइन्छ। जथाभावी धुवाँ फ्याक्ने सवारी साधन गुड्दैनन्। त्यसैले मानिसहरूले ढुक्कसँग सडकमा निस्किन सकेका हुन्छन्।
खुनमिङले अधिकांश विद्युतीय गाडीलाई प्राथमिकता दिएको छ। दुई पांग्रे सवारी त सतप्रतिशत विद्युतीय चल्छन् यो हरित सहरमा।
चीन सरकारले सडक र विशाल संरचनामा अर्बौँ युआन लगानी गरिरहेको छ भने वातावरण संरक्षणमा पनि उत्तिकै पहल देख्न सकिन्छ।
काठमाडौंमा रुखहरू केही अग्ला भए भने सिधै बन्चरो र खुकुरीले काटिन्छ, ढालिन्छ। तर यो सहरमा ढल्न लागेका अग्ला रुखको उपचार हुन्छ। आवश्यक मलजल दिइन्छ, औषधोपचार गरिन्छ अनि उभिइरहन सहारा पनि दिइन्छ।
अर्थात्, बुढा भएका या रोग लागेका रुखको समेत उपचार गरेर सरकारले उनीहरूलाई टेको लगाइदिन्छ। खुनमिङका मुख्य सडकदेखि बाहिर भागमासमेत यस्ता रुखको उपचार गरेर टेको लगाइएको छ।
२०७२ को भूकम्पपछि हामीले काठमाडौंमा कयौँ टेको लगाइएका घर देखेका छौँ। अहिले पनि पाटन, भक्तपु र वसन्तपुरतिर टेको लगाएका कयौँ घर छँदैछन्।
खुनमिङमा भने घरमा होइन रुखमा टेको लगाइन्छ। यहाँ घरहरू भूकम्पप्रतिरोधी छँदैछन्। सरकारको कडा नियमनका कारण घर निर्माणमा कुनै कमजोरी हुन दिइँदैन।
त्यहीकारण घरलाई टेको आवश्यक पर्दैन। काठमाडौंमा जस्तै पुराना घरलाई यहाँ रेट्रोफिटिङ गरेर मर्मत गरिएको छ। तर टेको छैनन्।
नेपालको अभ्यासमा ढल्न लागेका, भाँचिएका र कमजोर रुखहरू तत्कालै काटिन्छन्। तर चीनले त्यस्ता रुखहरूको उपचार गरेर बचाएको छ, टेको लगाएको छ।
त्यही टेकोले यहाँको प्राकृतिक सुन्दरता पनि अझै बढाउन सघाएको छ। चीनले खुनमिङ जस्तै ग्वान्झाओसहितका ठूला सहरमा पनि मर्न लागेका रुखको उपचार र टेको लगाएर जोगाएको दृश्य नेपालका लागि उदाहरण हुन सक्छ।
Shares
प्रतिक्रिया