धनुषाको पूर्व-पश्चिम हुलाकी सडकअन्तर्गत कमला नगरपालिका ३ स्थित नगरपालिका कार्यालयमा सोमबार दिउँसो ४ बजे मानिसहरूको निकै चहलपहल झट्ट हेर्दा कसैको बिहे अथवा व्रतबन्ध भइरहेकाे जस्ताे लाग्थ्याे। ट्याक्टरमा राखिएको लाउडस्पिकरमा डिजेबाजा घन्किरहेको थियो। बूढापाकादेखि बालबालिकासम्म सहभागी थिए।
तर तिनकाे ध्यान बैन्ड बाजातिर थिएन। बरु केही पर रहेको स्कारपिओ गाडीतर्फ उनीहरूको नजर केन्द्रित थियो। बडो कौतूहल र उत्सुक्तासाथ सबै उतै हेरिरहेका थिए। अनि एकछिनमै सबै जना त्याे स्कारपिओतर्फ दौडिए। बाजा झनै जोडजोडले बजाउन थालियाे।
अनि स्कारपिओ गाडीबाट निस्किए- त्यही गाउँबाट झण्डै १४ वर्षअघि वैदेशिक रोजगारीका लागि साउदी गएका ३९ वर्षीय उमेश यादव।
सँगै थिए, उनका श्रीमती सन्जु, दुई छोरा कमलेश र हितेश। अनि उमेशलाई देख्नेबित्तिकै गाउँलेले फूलमाला लगाइदिए।
उमेश उत्तरतर्फ अघि बढे। उनकी श्रीमती सञ्जु र दुई छोरा अनि सामाजिक अभियन्ता सरोज राय पनि उनी सँगै अघिपछि लागे। गाउँलेको भीडले उनलाई पछ्यारह्यो। सबै जना हर्षले गदगद् देखिन्थे। लाग्थ्याे, बेहुली लिएर आएका बेहुला र जन्तीलाई गाउँले स्वागत गरेर भित्र्याइरहेका छन्।
उमेशका आँखाबाट आँसुको भेल बगिरहेको थियो। रोक्ने प्रयास गरिरहेका थिए तर सकिरहेका थिएनन्। बेलाबेला रुमालले आँसु पुछ्दै भक्कानिन्थे उनी।
हुलाकी सडकबाट करिब १ किलोमिटर उत्तर पुगेपछि एउटा गाउँ आयो, जहाँ स्थानीय बूढापाका, वयस्क, महिला, बालबालिका सबै उमेश हेर्न व्यग्र प्रतीक्षामा थिए। गाउँकाे थोरै भित्र पेसपछि झन्, उनलाई हेर्नेकाे ताँती बढ्दै गयाे।
सडकछेउ पश्चिमतर्फ टेन्ट हालेर उमेशका गाउँलेले मञ्च नै बनाएका रहेछन्, बाजागाजाकाे व्यवस्थासहित। त्यहाँ पुग्नेबित्तिकै उमेशलाई चारैतिर भीडले घेर्याे।
उता सानो कच्ची घरको कुनामा ७० वर्षीया एकजना बूढी आमाै जोडजोडले हात भुइँमा बजार्दै चिच्याइरहेकी थिइन्। अनि गाउँलेले उमेशलाई तिनै बूढीआमातर्फ लिएर गए। छेउमा पुगेपछि केही मान्छेले ती आमैलाई हात समातेर बिस्तारै आँगनमा ल्याए र उमेशसँग भेट गराए।
उमेशले जब उनकाे खुट्टा ढोग्न खोजे तब ती आमैले आफूलाई सम्हाल्न सकिनन् र भुइँमै थचक्क बसेर उमेशलाई अँगालो हालिन्। दुवै डाँकाे छाडेर राेए। गाउँलेका अगाडि आफूलाई सम्हाल्ने कोसिस गरिरहेका थिए, तर रुवाई रोक्न सकिरहेका थिएनन्।
स्थानीयले दुवैलाई पाखुरामा समातेर बल्लबल्ल भुइँबाट उठाए। त्यसपछि ती आमैले कसैले थालमा ल्याएको फूलमाला उमेशको गलामा पहिर्याइदिइन्। आरती देखाइन्।
वास्तवमा ती वृद्धा थिइन्- माया मारिसकेकाे छाेराे सकुशल भेट्ने साैभाग्य पाएकी कुमैरदेवी यादव अर्थात् उमेशकी आमा।
आमासँगको अंकमालपछि उमेश अघि बढे, प्यारालाइसिस (लकवा) ले ग्रस्त बुवा भोला यादवतर्फ। भोलाले पनि उमेशलाई माला लगाइदिए। याे दृश्य हेरिरहेका उपस्थित कसैले आँशु थाम्न सकिरहेका थिएनन्। कतिपय त यो दुर्लभ दृश्य देखेर डाँकै छाडेर पनि रोइरहेका थिए।
यो सबै यसकारण भइरहेको थियो, साउदीको अदालतले मृत्युदण्ड सजाय सुनाइसकेका उमेश यादव १४ वर्षपछि जब सकुशल घर आइपुगे।
घरको अवस्था राम्रो बनाउला र परिवारलाई खुसी पारौँला भन्ने सपना बोकेर सन् २००६ मा चर्को ब्याजमा ऋण काढेर साउदी अरेबिया उडेका उमेश १ महिनापछि नै सँगै काम गर्ने पाकिस्तानी नागरिकको हत्या आरोपमा जेलमा परे।
झण्डै १२ वर्ष जेल जीवन भाेगेछि सन् २०१८ मे १५ मा उनलाई जुबेला अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो। घाँटी काटेर २४ घण्टासम्म झुण्ड्याउने अदालताको फैसला थियो।
तर जनकपुरका सामाजिक अभियन्ता सरोज रायको पहलमा चन्दा संकलन गरी मृतकका परिवारलाई ब्लडमनी बुझाएपछि अदालतले उनलाई आममाफी दिँदै रिहा गराएकाे हाे।
उमेश गत मंगलबार मात्र जेलबाट रिहा भएका हुन्। त्यसकाे भाेलिपल्टै अर्थात् बुधबार बिहानै काठमाडौं आइपुगेका हुन्। काम विशेषले चार दिन काठमाडौंमै बसेर उनी आइतबार आफ्नो गाउँ पुगेका हुन्।
उमेश आएपछि उनको घरपरिवारमा मात्र हाेइन, गाउँमै खुसियाली छाएको हाे। उमेशलाई स्वागत गर्न स्थानीयको सहयोगमा घरछेउमै मञ्च बनाइएको थियो। मञ्चमा नगरपालिकाका मेयर रामउदगार यादव, वडाध्यक्षलगायतले उनलाई फूलमाला र अबिरले स्वागत गरे।
अनि मृत्युदण्डमा परिसककाे उमेशलाई बचाउन पहल गर्ने सरोज रायलाई सबैले धन्यवाद दिए।
याे पनि :
-१४ वर्षपछि श्रीमती र छोरा भेट्दा भक्कानिए उमेश
प्रतिक्रिया