नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा बुधबार बिहान एमालेले काठमाडौंको नारायणचौरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष ओलीले संविधानका उपलब्धिलाई समाप्त पार्न छिटपुटरूपमा प्रयास भइरहेका बताए।
‘कहीँकतै हाम्रा उपलब्धिलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलाप छिटपुटरूपमा हुने गरेका देखिएका छन्’, उनले भने, ‘त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु। राष्ट्रिय एकतालाई खल्बल्याउने खालका कुरा सकारात्मक हुन सक्दैनन्।’
उनले देशको उन्नति तथा जनताको एकतामा विभाजन ल्याउन खोज्ने प्रवृत्तिप्रति सचेत रहनुपर्ने बताए।
‘जनतामा फाटो ल्याउने, राष्टिय एकतामा खलल पुर्याउने प्रवृत्ति कुनै राजनीतिक मतभावको हिसाबले गरिने क्रियाकलाप राष्ट्रिय एकताको पक्षमा छैनन्,’ उनले भने, ‘नेपाली जनताले आफ्नो उद्देश्य, बाटो बिर्सन हुँदैन। एकतालाई कमजोर हुन दिनु हुँदैन।’
अध्यक्ष ओलीले संविधान दिवसले एकताको सन्देश दिएको भन्दै आगामी वर्षमा दिवसलाई राष्ट्रियस्तरमा मनाइने बताए।
कार्यक्रममा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायका नेताको पनि उपस्थिति थियो। रासस
Shares

प्रतिक्रिया