समाज


बन्द खामभित्रका ७० वर्षे तन्नेरी सरुभक्त

भन्छन् : मलाई नरोजेको खुसी होइन, रोजेको दुःख प्रिय लाग्छ
बन्द खामभित्रका ७० वर्षे तन्नेरी सरुभक्त

सरुभक्त मदन पुरस्कारप्राप्त लेखक हुन् (तस्बिरः सरुभक्तको फेशबुक पेजबाट)


वाशुदेव मिश्र
असोज १, २०८० सोमबार १३:४९, पोखरा

यो सालको तीजको दिन अर्थात आज एकाबिहानै नेपाली साहित्यकी मेधावी हस्ताक्षर सरस्वती ‘प्रतीक्षा’ ले सामाजिक सञ्जालमार्फत् अर्का मूर्धन्य साहित्यकार ‘सरुभक्त’लाई जन्मदिनको शुभेच्छा व्यक्त गर्दै लेखिन्,‘सधैँ भदौमा पर्ने हरितालिका तीज योपटक असोजमा परेको छ। आज तिथिले तपाईंको जन्मदिन। जीवन अझै सुन्दर र सृजनशील होस्! जीवनको यो उत्तरार्धमा गहन अनुभव,अनुभूति र दर्शनले भरिएका किताबहरु आउन्! जन्मदिनको धेरैधेरै शुभकामना बाबा...’

हो, नेपाली साहित्यमा मानवतावादी प्रेम र शून्यवादी जीवनदृष्टिका प्रयोगधर्मी सरुभक्त आजबाट ७० वर्षमा प्रवेश गरेका छन्। ‘बन्द खामभित्र’ मुक्तक संग्रहबाट नेपाली साहित्यिक मञ्चमा प्रवेश गरेका सरुभक्त निरन्तर लेखनकर्ममा होमिएका छन्।

मदन पुरस्कारप्राप्त पागल बस्ती उपन्यासदेखि पछिल्लो प्रतिगन्ध उपन्यासम्मका सर्जक सरुभक्तले नछोएको साहित्यिक विधा सायदै छन्।

उनका समकालीन साहित्यकार तथा बालसखा तीर्थ श्रेष्ठको भनाइ सापट लिने हो भने ‘सरुभक्त समकालीन नेपाली साहित्यका देवकोटा हुन्।’

सरुभक्त गहिरो स्वअध्ययन, त्याग, क्रियाशीलता र नेतृत्व क्षमताको जगमा उभिएका साहित्यकार हुन्। पोखरामै रहँदा उनले रंगमञ्चमा अभिनय र निर्देशन गरे। मुक्तकबाट सुरु भएको लेखन कर्मलाई विज्ञान कथा, नाटक, गीत, लोककाव्यसम्म जोड्न सके।

केही पुस्तकको सम्पादन पनि गरे, केही हदसम्म साहित्यिक पत्रकारितामा पनि आफूलाई अभ्यस्त गराए। मुख्य कुरा, पोखरामा बसेर सरुभक्तले आफूलाई पूर्णकालीन साहित्यकारमा दर्ज गराए।  

उनै सरुभक्तले अरु केही साथीहसँग मिलेर २०५३ सालमा संरक्षण कविता आन्दोलन चलाए। कविताको माध्यमबाट प्रकृति संरक्षणको एजेण्डा लिएर उनीसँगै हरिदेवी कोइराला, सरस्वती श्रेष्ठ ‘सरु’, नवराज अधिकारी, भूपीन ब्याकुलहरु गाउँगाउँ पुगे।

‘तल्लो तहका ग्रामीण जनतासम्म वाङ्मयिक अभियान पुर्‍याउन र प्रकृति संरक्षणको चेतना जगाउन संरक्षण कविता आन्दोलनको देन छ,’ कवि तीर्थ बालसखा सरुभक्तको योगदानको चर्चा गर्दै भन्छन्, ‘पोखरेली युवा सांस्कृतिक परिवारको संस्थापक सदस्य, पोखरामा सार्वजनिक पुस्तकालय निर्माण, शून्यवादी र अहम्वादी चिन्तन तथा नेपाल संगीत नाट्य एकेडेमीको नेतृत्वसम्म पुगेर भक्तले आफू व्यवस्थापक भएको पनि प्रमाणित गरेका छन्।’

चाक्लो निधार अनि लामो कपाल सरुभक्तको परिचय हो। त्यसो त, उनी सरल छन्। बोलाएको कार्यक्रममा जान्नँ भन्न सक्दैनन्। अनुज पुस्ताको सहयोग लिन पनि हिच्किचाउन्नन्।

उनको सरलपनबारे जानकारी दिँदै एक साहित्यिक कार्यक्रममा छोरी सरस्वतीले भनेकी थिइन्,‘ प्रतिगन्ध नाटकको पाण्डुलिपी करिब १ लाख २० हजार शब्दको थियो। प्रकाशकको आग्रहमा त्यसको सम्पादन भयो र ८० हजार शब्द वरपर झारियो।’  

अहम्वादको प्रयोग गरिसकेका सरुभक्तले आफ्ना अहम् देखाएको भए सायदै त्यस्तो सम्पादन सम्भव थियो।

त्यसका अलावा नामका कारण उनी पाठकमाझ रहश्यमयी भएका छन्। पोखरा बागबजारका भक्तराज श्रेष्ठले यौवनवयमै आफ्नो नाममा जोडिएको जातको पुच्छर हटाए अनि नामको अगाडि ‘सरु’को फुर्को जोडेर अगाडि बढे। भक्तराजबाट सरुभक्त बनेपछि उनी रहस्यमयी मात्र बनेनन्, प्रेम र समर्पणका पर्याय पनि भने।

पोखराको गण्डकी बोर्डिङमा पढ्दादेखि नै साहित्य कर्ममा होमिएका हुनाले किन नामको अगाडि ‘सरु’ जोडे? आखिर को हुन् त सरु? सरुभक्तलाई ‘भक्त’ भनेर सम्बोधन गर्ने उनका समवयीहरु पनि खुल्दैनन्। सरुभक्तले त भन्ने कुरै भएन। सरुबारे यो पंक्तिकारले एउटा रेडियो कार्यक्रममा लिँढेढिपीकै तालमा प्रश्न बर्साएपछि उनले केही रिसाएर भनेका थिए,‘सबै कुराका उत्तर हुँदैनन्, म मेरा कुरा आत्मकथामा लेख्छु।’

उनको आत्मकथा आएको छैन। तर, जगजाहेर छ, सरुभक्त जवानीका कुनै बेला कुनै सुन्दरीलाई मन पराउँथे। यो विषयमा साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ले एउटा साहित्यिक अनलाइनमा सानो प्रसंग उठान गरेका छन्।

सरुभक्तले आफ्नो स्वभाव अनुसार गोविन्द गिरीका भनाइको खण्डन गरेका छैनन्। हुन पनि हो! आखिर सबै प्रेमहरु प्राप्ति वा मिलनमा गएर टुंगिदैनन्। सरुभक्तलाई पनि सायद, यस्तै भयो। उनी सरुको नाममा जीवनभर अविवाहित रहे/छन्।  

‘मलाई मैले नरोजेको सुखभन्दा रोजेको दुःख प्रिय लाग्छ र विवाह मैले नरोजेको सुख हो। संसारमा धेरै सुख र आवश्यकता छन् जसलाई रोज्न सकिन्छ, अपनाउन सकिन्छ तर मैले यस्तो जीवन रोजेँ, जुन दुःखपूर्ण, कष्टपूर्ण, समस्यायुक्त भए पनि मैले एक्लो बस्ने निणर्य गरेँ,’ उनको उत्तर अक्सर यस्तै हुन्छ।

घरका जेठा छोरा सरुभक्त विवाहित हैनन्। तर, उनी एक्ला छैनन्। उनी परिवारमै बस्छन्। सरस्वती प्रतीक्षालाई छोरी बनाएका छन्। सरस्वती स्वयं सरुभक्तजस्तो पिता पाएकोमा गर्वित छन्।

सायद, अविवाहित हुनुको भरपुर फाइदा सरुभक्तले उठाएका छन्। उनी पारिवारिक झन्झटबाट मुक्त छन् तर आफैंभित्र उठ्ने सिर्जनको हुटहुटी र पाठकहरुको अपेक्षाको भारले भने उनी थिचिएकै छन्। 

सरुभक्तबाट पाठकहरु पुनः पागल बस्ती’ जस्तै प्रयोगधर्मी उपन्यासको अपेक्षा राख्छन्, बजारमा ‘तरुनी खेती’ आउँदा समालोचकहरु मुख खुम्च्याउँछन्। चुली उपन्यासमा रमाउँछन्। अनि ‘हङकङ पोखरा’ वा ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’ जस्ता गीत गुन्गुनाउँदै उनलाई सम्झन्छन्।

समकालीन नेपाली साहित्यका धरोहर सरुभक्तको ७० औँ जन्मोत्सवमा उनकै चर्चित गीतसहित हार्दिक शुभकामना!
 
हिउँ त हैन फाप्रेको डंगुर
माया भयो अमिलो अंगुर
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र?

विदेसिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा
जिउ त होइन ढुङ्गाको छपनी
आँउला माया नमरे म पनि
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र?

भीरको सुरी भीरबाट सर्दैन
जहाँ गए नि यो माया मर्दैन
मन त हैन रुखको त्यो डाली
माया तिमी रेशमी कि जाली
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र?

शब्द – सरुभक्त
स्वर – विवेक श्रेष्ठ (कन्दरा)
संगीत – कन्दरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .