ad ad

समाज


सुनसान हुन थाले बागलुङका होमस्टे

सुनसान हुन थाले बागलुङका होमस्टे

तस्बिर : रासस


नेपालखबर
भदौ १२, २०८० मंगलबार ८:५२, बागलुङ

बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका होमस्टे सुनसान बनेका छन्। बर्खाको कारण पर्यटक नआउँदा होमस्टे सुनसान भएका हुन्। 

होमस्टेमा पाहुना नभएका कारण सञ्चालकसमेत खेतबारीको काममा व्यस्त हुन थालेका छन्। 

पर्यटकीयस्थल वरपर सञ्चालनमा आएका होमस्टेले आगन्तुकलाई सहज हुनुका साथै स्थानीयलाई रोजगारको अवसर पनि मिलेको छ। तर, अहिले होमस्टेमात्रै होइन, जिल्लाका पर्यटकीय स्थल पनि सुनसानजस्तै छन्। 

जिल्लाको चर्चित होमस्टेमध्येको काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुंगा सामुदायिक होमस्टे, अतिथि सत्कार होमस्टे भकुण्डेलगायतमा पाहुना कम पुग्ने गरेका छन्।

बागलुङ बजार आसपासको बागलुङ कालिका मन्दिर, बागलुङ–पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुल, पञ्चकोट र शालिग्राम सङ्ग्रहालयबाहेक अन्य स्थलमा कम आगन्तुक पुगेको पाइन्छ। 

पश्चिम बागलुङको ढोरपाटन र पातीहाल्नेमा पुग्ने पर्यटकको सङ्ख्यामा पनि कमी आएको छ। बेलढुंगा सामुदायिक होमस्टेका सञ्चालक गोपाल श्रीषले असोज लागेपछि मात्रै होमस्टेमा पर्यटकको आगमन बढ्ने बताए। 

बर्खाका कारण बेलढुङ्गासम्म पुग्ने सडकको विभिन्न स्थानमा पहिरो गएको र बाटोमा घाँस पलाउँदा पाहुना कम आएको उनको भनाइ छ। 

गाउँसम्म पुग्ने सडक व्यवस्थित बनाउन नसक्दासम्म बर्खामा होमस्टे र पर्यटकीयस्थलमा पर्यटक भित्र्याउन नसकिने उनले बताए।

 ‘अहिले त होमस्टे बन्दजस्तै छ, पाहुना आएपछि त खाना खुवाउनुपर् यो, खुवाइन्छ, बास पनि दिइन्छ, तर हिउँदमा जसरी भरिभराउ हुन्थ्यो, अहिले त्यसको तुलनामा निकै न्यून छ, होमस्टेलाई व्यवस्थित बनाउने र पाहुनमैत्री बनाउने विषयलाई बढी ध्यान दिएका छौँ’, श्रीषले भने, ‘अहिले मकै पाक्ने बेला भयो, मकै भित्र्याउने, आलु खन्ने, बारीमा काम गर्नेबाहेक अरु केही गर्न सकिएको छैन। पाहुना नआउने भएपछि अरु काममै व्यस्त हुने गरेका छौँ।’

बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक होमस्टेको सञ्चालक मुना थापामगरले अहिले पाहुनाको आगमन निकै कम भएको बताइन्। बर्खामा बादल लाग्ने र दृश्यावलोकन गर्न नपाइने हुँदा पर्यटक कम पुग्ने उनको भनाइ छ। 

बागलुङ बजारबाट यहाँ पुग्न करिब डेढ घण्टा लाग्छ। कहिलेकाहीँ मात्रै पाहुना होमस्टेमा बस्न आउने गरेका उनले बताए। तीज सुरु भएपछि भने पर्यटक बजारबाट भकुण्डे उक्लिने आश उनले गेका छन्।

‘बजारबाट दूरीका हिसाबले टाढा होइन, जिल्लामा बागलुङ बजारबाट सबैभन्दा नजिकको होमस्टे अतिथि सत्कार हो, नजिक भएर के गर्नु यहाँसम्म आउने सडकको अवस्था निकै खराब छ, त्यसले गर्दा पाहुना आउन कम भएको छ’, उनले भनिन्, ‘पाहुना नआएपछि घरको काम कम भएको छ, त्यसैले होमस्टे सञ्चालक कोदो गोड्ने र मकै भित्र्याउने काममा व्यस्त छन्।, हिउँदमा धेरै पाहुना हुने भएकाले त्यसवेलाका लागि चाहिने गुन्द्रुक, आलु जोहो गरेर राख्ने काम भइरहेको छ।’

प्राकृतिक सुन्दरताले भरिएको भकुण्डेमा ताल, र दर्जनौँ हिमशृङ्खला अवलोकनका लागि पर्यटक यहाँ पुग्ने गर्छन्। 

हिउँदमा राम्रो चल्ने हुँदा स्थानीयको आयआर्जनको स्रोत होमस्टे बनेको छ। होमस्टेले ग्रामीण क्षेत्रका महिलालाई सक्रिय भई पाहुनासँग बोल्न, सत्कार गर्न र स्थानीय कला संस्कृति प्रदर्शन गर्न सक्ने भएका छन्। जिल्लाको विभिन्न स्थानमा होमस्टे सञ्चालनमा आएपछि मौलिक कला र संस्कृतिको जगेर्नासमेत हुन थालेको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .