ad ad

समाज


जनप्रतिनिधिको माग : पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म आउन दिइयोस्

जनप्रतिनिधिको माग : पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म आउन दिइयोस्

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८० मंगलबार १०:१४, काठमाडौँ

पूर्वी चितवनबाट नारायणगढसम्मको यात्रालाई एउटै सवारी साधनमा पुग्ने व्यवस्था मिलाउन एमालेबाट निर्वाचित जनप्रतिनिधिले माग गरेका छन्। 

नेकपा (एमाले)का पूर्वी चितवनबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र नेताले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई नारायणगढसम्मै जान दिन माग गरेका हुन्। 

नारायणगढसम्म आउन दुई सवारीसाधन प्रयोग गर्नुपर्ने र खर्च पनि बढी हुँदा यात्रु मारमा परेको जनाउँदै उनीहरूले सोमबार चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। 

पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई भरतपुरको केन्द्रीय बसपार्कमा नै रोक्ने र त्यहाँबाट अटो वा म्याजिकमा बजार, अस्पताल तथा सरकारी कार्यालयमा जानुपर्ने बाध्यता रहेको जनाउँदै त्यसलाई सच्चाउन माग गरिएको चितवन क्षेत्र नं १ का प्रदेशसभा सदस्य एवं एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।  

उनले पूर्वी चितवनबाट आएका जनतालाई बसपार्कमा झारेर नियतवश दुःख दिइएकाले तत्कालै नारायणगढसम्म यात्रुवाहक बसलाई जान दिनुपर्ने माग गरे। बसपार्कमा झरेका यात्रुलाई म्याजिक र अटोले मनपरी भाडा असुल गरेको जनाउँदै यो मर्का सहन पूर्वी चितवनवासी तयार नभएको एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले बताए। 

‘एउटै जिल्लामा भएर पनि भरतपुर आउँदा पूर्वी चितवनवासीमाथि दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार भएकाले यसलाई यथाशिघ्र छिटो सच्याइनुपर्छ,’ उनले भने।

एमालेले ज्ञापनपत्रमार्फत जनताको दैनिक जीविकासँग जोडिएका विषयसमेत सातवटा बुँदामा उठाएको छ। 

चितवनमा देखिएको मल, बीउ, कृषि सामग्रीको अभाव भएको भन्दै यस विषयमा आवश्यक पहल गर्न सरकारसँग माग गरिएको छ। यस्तै चितवनमा देखिएको डेङ्गु र आँखा पाक्ने रोग न्यूनीकरण गर्न सरकार सचेत हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। 

‘चितवनमा डेङ्गु र आँखा पाक्ने रोग समस्याका रूपमा फैलिने खतरा रहेकाले जनताको स्वास्थ्यको जिम्मवारी लिएको सरकारले रोगप्रति उदासिन र आवश्यक सतर्कतामा कमी देखिएकाले जनतालाई सुसूचित गरी रोकथाम र उपचारको उचित र पर्याप्त व्यवस्था मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ’, ज्ञापनपत्रमा भनिएको छ। 

पार्टीले सरकारी कार्यालय तथा सार्वजनिक संस्थानबाट हुने सेवालाई प्रभावकारी बनाउन माग गरेको छ। 

सिँचाइ अभावले पश्चिम चितवनका किसानले हालसम्म रोपाइँ गर्न नपाएको भन्दै खगेरी सिँचाइ र नारायणी लिफ्ट सिँचाइलाई पूर्ण क्षमतामा सञ्चालन गर्न भनिएको छ। दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न माग गरिएको छ। 

‘अहिले दैनिक उपभोग्य खाद्यान्न दाल, चामल, तरकारी खानेतेललगायतका वस्तुको अत्यधिक मूल्यवृद्धि भई सामान्य जनताको चुलो बल्न नसक्ने स्थिति सिर्जना हुँदै गइरहेकाले महँगी र कालोबजारीलाई नियन्त्रण गर्न माग गर्दछौँ’, ज्ञापनपत्रमा भनिएको छ। 

भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्नसमेत माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .