समाज


लामो र अग्लो पुल हेर्न आउने विदेशी बढे

लामो र अग्लो पुल हेर्न आउने विदेशी बढे

रासस
असार ९, २०८० शनिबार ७:२९, काठमाडौँ

स्याङ्जामा लामो र अग्लो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ।

गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल दुई वर्ष पहिले निर्माण भएको थियो। अघिल्लो वर्षभन्दा यस वर्ष धेरै गर्मी बढेको छ। गर्मी छल्न भारतीय नागरिक पोखरा, कुस्मा र मुक्तिनाथ आउने गरेका छन्। 

भारतीय नागरिकका लागि पोखरा, कुस्मा र मुक्तिनाथ जान सिद्धार्थ राजमार्ग सबैभन्दा छोटो र सजिलो राजमार्ग हो। सो राजमार्गको छेवैमा भएकाले पनि घुम्न हिँडेका भारतीय नागरिक चिउरीको झोलुङ्गे पुलको अवलोकन गरेर जान्छन्।

यस्तै चीन, जापान, अमेरिका, जर्मनलगायत विभिन्न मुलुकबाट पोखरा घुम्न आएका विदेशी पर्यटक गौतमबुद्धको जन्मथलो लुम्बिनीमा जान पनि सिद्धार्थ राजमार्ग नै बढी प्रयोग गर्छन्। स्थानीय भीमबहादुर रानाले अघिल्लो वर्षका तुलनामा यस वर्ष धेरै भारतीय पर्यटकले चिउरीमा रहेको पुल भ्रमण गरेको बताए।

उहाँले भारतबाट बुटवल पाल्पा हुँदै पोखरा, कुस्मा र मुक्तिनाथ जाने हरेक भारतीय पर्यटकका गाडी अग्लो र लामो झोलुङ्गे पुल हेर्न चिउरीमा रोकिने गरेको बताए। 'कुनै समय यहाँ फोटो खिच्ने र टिकटक बनाउने आन्तरिक पर्यटकको अत्यधिक चाप हुने गर्दछ,' रानाले भने, 'अहिले पुल हेर्न आउने आन्तरिक पर्यटक घटेका छन् तर विदेशी पर्यटक बढ्दै गएका छन्।'

पर्यटकको मनोरञ्जनको साधन मात्र नभएर उनले झोलुङ्गे पुल स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरणका लागि कोसेढुङ्गा सावित भएको बताए। गल्याङ–७ पेलाकोटमा रहेको केदारनाथ मन्दिरमा दर्शन तथा पूजाका लागि तीर्थयात्रीलाई पुलले सहज बनाएको केदारनाथ मन्दिर धार्मिक तथा पर्यटन विकास समितिका सचिव टीकाराम पाठकले जानकारी दिए। उनका अनुसार मन्दिरमा जान लाग्ने दुई घण्टाको बाटो आधा घण्टामा छोटिएको छ।

गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले झोलुङ्गे पुल अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या बढेपछि चिउरीमा हाल पार्किङ र पुलसम्म जान आउन रेलिङसहितको पदमार्ग निर्माण गरिएको बताए। झोलुङ्गे पुल नुवाकोटस्थित एसए शैलेन्द्र जेभीले २०७८ असार मसान्तमा सम्पन्न गरेर सर्वसाधारणका लागि खुला गरेको थियो।

पुल रु एक करोड ८३ लाखमा ठेक्का सम्झौता भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad