ad ad

समाज


साथमा बोकेको नोट ‘खोटो’ हुँदा भारतीय पर्यटक समस्यामा

व्यवसायी भन्छन्–कतिले दुःख पाएका छन्, कोही भोकै पनि परेका छन्
साथमा बोकेको नोट ‘खोटो’ हुँदा भारतीय पर्यटक समस्यामा

फाइल तस्बिर


वाशुदेव मिश्र
जेठ २९, २०८० सोमबार २१:२९, पोखरा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रचण्ड भारतस्थित उज्जैनको महाकालेश्वर मन्दिरमा ‘धर्मभीरू’ बनिरहँदा एक हुल भारतीय पोखराको लेकसाइडमा रहेको माउण्ट कैलाश रिसोर्टमा पौडी खेल्दै थिए। 

तर, पौडी खेलिरहँदा उनीहरूको मन शान्त थिएन। कारण थियो–होटेललाई गर्नुपर्ने भुक्तानी।  तिर्न पुग्ने पाँच सय दरका नोट खल्तीमै थिए।

भारतीय बैंकको क्रेडिट कार्ड, भिसालगायतका सबै विद्युतीय डिभाइसहरू थिए। बैंक खातामा पनि प्रशस्तै पैसा थियो। उनीहरुले होटलका संचालक नरेश भट्टराईलाई गुहारे। रेष्टुरेण्ट एण्ड बार एसोसियन ( रेवान) पूर्वअध्यक्षसमेत रहेका नरेशले ‘छलिए धूप, चलिए पोखरा’ भन्दै भारतीय सहर पुगेर पर्यटक बोलाएको सम्झे। उनले पर्यटकलाई ढुक्क भएर बस्ने अनुमति दिए। 

‘नेपाल राष्ट्र बैंकले २ सय र ५ सय दरका भारतीय नोट लिन मान्दैन, २ हजारको त भारतमै पनि नचल्ने भएको छ तर खुला सिमा र आफ्नै गाडीमा नेपाल आउने भारतीय पर्यटकहरुलाई यो जानकारी छैन,’ उनले भने, ‘जसले गर्दा उनीहरुलाई पोखरा बस्नै समस्या परेको छ, कतिपय ठाउँमा भुक्तानीमै समस्या परेको उनीहरुले सुनाएका छन्।’ 

पोखराबाट नजिकैको सुनौली नाकाको दूरी १८८.५ किलोमिटर छ। भारतीय पर्यटकले नेपाल आउँदा निर्वाध आफ्नै सवारी प्रयोग गर्न पाउँछन्। भिसा लिनु नपर्ने नेपाल गर्मी छल्न तथा धार्मिक यात्राको लागि भारतीय पर्यटकको रोजाइकै सहर हो। तर, यसअघिजस्तो भारतीय रुपैयाँमा कारोबार गर्न नपाउँदा उनीहरू समस्यामा पर्ने गरेका छन्। 

पहिले भारतीय रुपैयाँ बजारमै पाइँदैनथ्यो। भारतीय रुपैयाँ खोज्न व्यापारीहरु होटल–होटल र मुद्रा सटही काउण्टरमा पुग्थे। एक सय भारतीय रुपैयाँको १६५ रुपैयाँसम्म तिर्न तयार हुन्थे। तर, अहिले होटलले मात्र हैन, यहाँका पेट्रोलपम्पले पनि भारतीय रुपैयाँ लिन छाडेका छन्।

अहिले १६० सटही दर भएको भारुको सटही दर अनौपचारिक बजारमा  १५० र १५५ रुपैयाँमा झरेको छ। 

नेपाली बैंकहरुले  एक सय रुपैयाँको नोटमात्र स्वीकार्छ। 

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य बासु त्रिपाठीका अनुसार त्यसको मार पर्यटन उद्योगमा परेको छ। पोखरामा यो सिजन भारतीय पर्यटककै भरमा छ। पर्यटकहरू कि भारतीय ठूला नोटमा भुक्तानी गर्न खोज्छन् कि विद्युतीय कार्ड देखाउँछन्। तर, भारतका सबै बैंकको विद्युतीय कार्ड नेपालमा चल्दैन। 

‘पुरानै ढर्राका भारतीयले करेन्सी नै ल्याउँछन्। सयको कति बोकेर आउने? ५ सय र २ सय र २ हजारको लिएर आउँछन्, उनीहरुलाई नेपालमा आफ्नो करेन्सी चल्दैन भन्ने थाहा नै हुँदैन’ त्रिपाठीले भने,‘संसारका सबै मान्छेसँग अहिले कि नगद हुन्छ कि डिजिटल पैसा हुन्छ।भारतीय बैंकको कार्डमध्ये नेपालमा ९५ प्रतिशत भ्यालिड हुँदैन। कार्डको पछाडि क्रेडिट कार्डमा नट भ्यालिड इन नेपाल एण्ड भुटान भन्ने हुँदो रहेछ। एसबीआई बैंकबाट कुनै कार्ड चल्छ। तर,त्यसले पनि उनीहरुको चाहना पूरा हुँदैन।’ 

त्रिपाठीले नोट र विद्युतीय कार्डहरू नचलेकै कारण भारतीय पर्यटकहरुले कि त दाल–भात खाएर फर्कनु परेको कि त असाध्यै दुःख पाउने गरेको सुनाए। ‘साह्रै दुःख छ, उनीहरु खर्च गर्छु भन्छन्, गोजीमा पैसा पनि छ तर त्यसो पैसा नचल्दा समस्या भएको छ, कतिले भारुलाई नेपाली १५० मै छाडेर हिँडेका छन्, केही भोकै पनि परेका छन्,’ उनले सुनाए।

यसले समग्र पर्यटन उद्योग र देशको अर्थतन्त्रलाई नै ठूलो नोक्सान भएको त्रिपाठीको जिकिर छ। 

त्यसो त, प्रधानमन्त्रीको भारत भ्रमणकै क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा  नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता  भएको छ।  सम्झौतामा नेपालबाट नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमानसिंह प्रधान र भारतका तर्फबाट नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)का सीईओ रितेश शुक्लाले हस्ताक्षर गरेका छन्।

तर, त्यो सम्झौता कार्यान्वयनमा आउन समय लाग्ने नेपाल राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन्। 

अहिले रुसलगायतका देशमा पनि भारतीय रुपैयाँ चल्छ। भारतीयले प्रयोग गर्ने विद्युतीय कार्ड पनि अन्तर्राष्ट्रिय स्तरकै छ। तर, नेपालको हकमा चाहिँ केही बैंकहरुले कारोबार नै निषेध गरेका कारण भारतीयहरुले दुःख पाउने गरेको व्यवसायी नरेश भट्टराईको अनुभव छ।

‘बुझेकाहरू नेपाल आउँदा आफ्नो भिसा र मास्टरकार्ड चल्ने बनाएर आउँदा रहेछन्। सबैले त कसरी थाहा पाउन्?,’ उनले प्रश्नसहित भने, ‘यसबारे नेपाल सरकारले तत्काल पहल थाल्नुपर्छ।’

त्रिपाठीका अनुसार नेपालले केही पहिल्यै भारतीय डिजिटल भुक्तानी कम्पनी ‘रुपे’ सँग डिजिटल भुक्तानी प्रक्रियाको सुरुवात गरेको थियो । तर, त्यसले गति लिएन। अहिले प्रधानमन्त्रीद्वयकै उपस्थितिमा यही प्रक्रिया थालिएको छ। यो प्रक्रिया तत्काल सुरु गर्नुपर्ने उनको माग छ। 

किन घट्यो भारतीय मुद्राको माग 
केही वर्षअघिसम्म हारालुछ हुने भारतीय रुपैयाँको माग एकाएक घट्नुको मुख्य कारण आयातमा भएको कमीलाई लिइएको छ। भारतबाट हुने आयात घटेको छ। तर, माग घट्नुमा भारतीय नीति नै कारक देखिएको विज्ञहरु बताउँछन्। 

भारतले सन् २०१६ को नोभेम्बरमा कालोधन नियन्त्रण गर्ने भन्दै एकाएक ‘नोटबन्दी’ गरिदियो। ५ सय र १ हजार दरका नोटहरुमा प्रतिबन्ध लगायो। २ हजार र ५ सयका नोट जारी गर्‍यो। नोटबन्दीले कालोधन नियन्त्रण भयो कि भएन, त्यो भारत सरकारलाई नै थाहा होला।

अहिले भारतले फेरि २ हजारका नोट नचल्ने घोषणा गरेको छ। आउँदो सेप्टेम्बरसम्म ती नोट बैंकमा बुझाउने समयसीमा तोकेको छ।

अघिल्लो पटकको नोटबन्दीको बेला नेपाल राष्ट्र बैंकसँगै रहेका ५ करोडभन्दा बढी भारतीय नोट अहिलेसम्म भारतले साँटेको छैन। 

‘यसको असर अहिले पनि देखिएको छ, मान्छे सशंकित भएकाले भारतीय ५ सयको नोट लिन पनि आनाकानी गरिएको हो,’ पर्यटन व्यवसायी बासु त्रिपाठी भन्छन्, ‘हिजो हुने अण्डरग्राउण्ड ब्यांकिङ अहिले बन्द भएको छ। हिजो भारुको अवैध सटहीमा कमिसन (जसलाई सीमा क्षेत्रमा बट्टा भनिन्छ) हुन्थ्यो, अहिले नेपालीको भएको छ।’

अर्कोतर्फ, २ हजारका नोट हुने भारतीयहरू अहिले त्यो पैसा खर्च गर्ने ‘मुड’ मा छन्। उनीहरू नेपाल पनि आएका छन्।

नेपाली अर्थतन्त्रको लागि यो राम्रै हो तर ‘कालोधन’ आर्जन गरेका भारतीयहरु बैंकसम्म नपुग्ने बरु नेपाली नोट संकलन गर्ने अभियानमा लागेको हुनसक्ने पनि केही विज्ञहरूको अनुमान छ।

सीमा क्षेत्रमा अहिले भएको गतिविधिले त्यतातर्फ पनि संकेत गरेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी स्वीकार्छन्। ‘नेपालमै पनि छापिएका नोटहरु हराएको गाइँगुइँ नसुनिएको हैन, गलत गर्नेहरुले यताको मुद्रा उता लैजाने र उताको यता ल्याउने गरेका हुनसक्छन्,’ उनले भने, ‘भन्सारमा भएको कडाइले पनि भारुको माग घटेको हुनसक्छ।’  

मुल्मीले चालु अंग्रेजी वर्षको सेप्टेम्बरसम्म यस्तै अवस्था रहने अनुमान लगाउँछन्। ‘नेपालमा भारतीय पर्यटक ल्याउनैपर्छ तर उनीहरुलाई नेपालको अवस्थाबारे सीमामै जानकारी गराउन जरुरी देखियो,’ उनले भने, ‘अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता  छिटो कार्यान्वयन आउँदा यो समस्या समाधान होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .