शुक्रबार (पुस २५) दिउँसो रानीपोखरी परिसर पुग्दा रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापित काम गरिरहेका श्रमिकलाई सुझाव दिँदै थिए। उनका सुझाव रानीपोखरीको पुनर्निर्माण परम्परागत रूपमै होस्, इतिहास नमासियोस् भन्नेमा केन्द्रीत थिए। सोही उद्देश्यअनुसार उनीसहित समितिका पदाधिकारी श्रमिक र निर्माण कम्पनीसँगै हरेक दिन रानीपोखरीमै बिताउँछन्।
एक समय काठमाडौं महानगरपालिकाले कंक्रिटको संरचना बनाएपछि इतिहासमा आँच पुगेको भन्दै व्यापक विरोध भयो। त्यसले कामै रोकियो। अन्ततः महानगर पछि हट्यो। त्यसबेला ठेक्कासम्झौता गरिसकेको महानगरले २ करोड रुपैयाँ गुमाएको थियो। विवाद साम्य पार्न पुनर्निर्माण प्राधिकरणले अघिल्लोवर्ष पुसमा पुरातत्वविद् विष्णुबहादुर कार्कीको संयोजकत्वमा सुझाव समिति गठन गर्यो। समितिको सुझाव र प्रतिवेदन अनुरुप स्थापितको अध्यक्षतामा उपभोक्ता समिति गठन भएपछि रानीपोखरीको पुनर्निर्माणले गति लिएको हो।
पोखरी पुनर्निर्माण गर्ने जिम्मा स्थापित अध्यक्षको उपभोक्ता समितिले गरिरहेको छ। पर्खाल र पोखरी परम्परागत रुपमै पुनर्निर्माण गर्न उपभोक्ता समितिले ९ करोड ५० लाखमा काम गरिरहेको छ। आफूले पाएको जिम्मेवारी अर्को महिना माघमा सक्ने गरी काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष स्थापित बताउँछन्।
‘पुरातात्विक मान्यतालाई कायम गर्दै हामी काममा जुटेका छौं,’ स्थापितले नेपालखबरसँग भने, ‘अहिले परम्परागत तौरतरिकाबाट पानी थमाउन पोखरीवरिपरि पर्खाल लगाउने काम ८५ प्रतिशत सकिएको छ। त्यसबाहेक भुइँमा कालो माटो बिछ्याएर त्यसमाथि माअम्पा (परम्परागत इँटा) लगाउने काम ५० प्रतिशत सकिएको छ। सबैकाम माघ मसान्तसम्म सकिने छ।’
भिडियो:
पोखरीमा कामका लागि जाने बाटो चाहिने हुनाले १५ प्रतिशत भूभागमा पर्खाल निर्माण थाँती राखिएको हो। अध्यक्ष स्थापितका अनुसार अहिले रानीपोखरीमा दैनिक ५०–६० श्रमिक खटिरहेका छन्। उनीहरूले कालो माटो बिछ्याउने, मन्दिर जाने बाटो र मन्दिर निर्माणका काम गरिरहेका छन्।
पोखरीको सतह सम्याउन त्यहींको बालुवा प्रयोग गरिएको छ। त्यसमाथि गोकर्ण, साँखुलगायत भक्तपुरका विभिन्न स्थानबाट ल्याइएको कालो माटो हालिएको हो। कालोमाटोले पानी सोसेर राख्ने र चुहावट हुन नदिने भएकाले यसको प्रयोग गरिएको अध्यक्ष स्थापितले जानकारी दिए।
उपभोक्ता समितिबाट काम गरिने भएपछि शुरुमा पराम्परागत शैलीबाट भक्तपुरको भाजुपोखरी जिर्णोद्धार गरेको महिला तथा पुरुषको समूहलाई रानी पोखरीमा ल्याइएको थियो। उनीहरुले झार उखेल्नुका साथै कालोमाटो खुट्टाले मुछ्नेसम्मको काम गरे। तर, ठूलो परिणामको माटो खुट्टाले मुछेर सम्भव नभएपछि अहिले एक्साभेटर प्रयोग गरिएको छ। पोखरीमा १८ इन्च बाक्लो कालो माटो बिछ्याइँदै छ। त्यसका लागि १२ सय देखि १५ सय टिपरसम्म माटो आवश्यक हुने अनुमान छ।
यसअघि मंसिर(२०७६)मै पर्खाल र भुइँको काम सक्ने समयावधि थियो। तर, समयमा समान नपाइएकाले र वर्षाका कारण ढुवानीमा समस्या भएकाले काम २ महिना पछि धकेलिएको स्थापितले बताए।
‘प्रत्येक दिन ३० टिपर कालो माटो ल्याउने योजना थियो। तर पाउन गाह्रो र वर्षाका कारण ढुवानीमा पनि समस्या भयो,’ उनले भने, ‘यस्तै माअम्पा उत्पादनमा पनि समय लाग्ने भएकाले कामले अपेक्षित गति लिन सकेको छैन।’
अर्कातिर काम सकिएपछि मात्रै भुक्तानी दिने प्राधिकरणको व्यवस्थाले सामान सञ्चय गरिराख्न नसकिएकाले पनि रानीपोखरी पुनर्निर्माणले सोचेजति गति नपाएको स्थापित बताउँछन्।
पर्खाल र भुइँको काम सकिएपछि प्राधिकरणले डिप बोरिङबाट पानी राख्ने तयारी गरेको छ। त्यसबाहेक आकाशे पानी संकलन गरी फिल्टर गरेर पोखरीमा झार्ने र भविष्यमा आवश्यक परेका खण्डमा मेलम्चीबाट ल्याइने पानीको सिस्टमलाई पनि पोखरीसँग जोड्ने योजना छ।
मन्दिर पुरानै शैलीमा

बालगोपालेश्वर मन्दिर, मन्दिर जाने बाटो र बगैंचा निर्माणको जिम्मा सीएम कन्स्ट्रक्सनले पाएको हो। कन्स्ट्रक्सनका कार्यकारी निर्देशक शान्तकुमार श्रेष्ठ आगामी वैशाख (२०७७)मा सक्नेगरी काम भइरहेको बताउँछन्। ‘वैशाख १२ (२०७२) मा भूकम्प गएको थियो। हामी त्यही दिन (वैशाख १२) उद्घाटन गरी खुसी साट्ने लक्ष्यसाथ जोडतोडले लागेका छौं,’ श्रेष्ठले सुनाए।
छोरा चक्रवर्तेन्द्र मल्लको मृत्यु भएपछि शोकमा परेकी आफ्ना रानीलाई खुसी पार्न राजा प्रताप मल्लले इस्वी संवत् १६६५ मा यो पोखरी निर्माण गरेको किंवदन्ती छ। त्यसबेला वर्षमा १ दिन (भाइटीकाका दिन)मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा निर्माण गरिएको थियो। तर सन् १९५१ मा जंगबहादुर राणाले बालगोपालेश्वरलाई युरोपेली प्रभावमा गुम्बज शैलीमा निर्माण गरे।

तर भूकम्पपश्चात् रानीपोखरी पुनर्निर्माण क्रममा विवाद भएपछि पुरातत्वविद् विष्णुबहादुर कार्कीको संयोजकत्वमा २०७४ पुसमा गठित विज्ञ समितिको सुझावअनुसार मन्दिर प्राचीन शैलीमा बनाउन लागिएको हो।
‘सामानहरू पाइएमा र प्राविधिक कठिनाइ नआए २ महिनाभित्र मन्दिर निर्माण सक्ने लक्ष्य छ,’ कन्स्ट्रक्सनका कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, ‘पुलसम्म पुग्ने बाटो निर्माण अन्तिम चरणमा छ। पर्खाल उठाइसकेपछि लगत्तै बगैंचा निर्माण पनि सुरु हुन्छ। फूल रोप्ने, दुबो रोप्ने तथा हिँड्ने बाटो बनाउने काम हुनेछन्।’
यो पनि:
पर्यटकलाई नारायणहिटीमै ४ घण्टा टिकाउने भेषनारायणका यी ४ योजना

प्रतिक्रिया