सोमबार दिउँसोबाट काठमाडौंको बालाजु बसपार्क क्षेत्र तनावग्रस्त बन्यो। यातायात मजदुरको आन्दोलन भड्किँदा सर्वसाधारणले क्षति र सास्ती बेहोर्नु पर्यो। २० जना प्रहरी घाइते भए भने प्रहरीका २ वटा गाडी जले। अस्थायी प्रहरी बिट आन्दोलनकारीले भत्काइदिए।
सर्वसाधारणको क्षतिको भने विवरण प्राप्त भइसकेको छैन। तर साँझ त्यस क्षेत्रबाट सर्वसाधारण संकटकालमा जस्तै हात उठाएर घर फर्किनु परेको छ।
सुरुमा आन्दोलनकारीले ढुंगामुढा र आगजनी गर्दा प्रहरी निरीह देखिएको थियो। साँझ प्रहरीले बल प्रयोग गर्न थालेपछि सर्वसाधारणले जोगिन हात उठाएर घर फर्किनु परेको हो।
सवारी साधन ठप्प भएपछि त्यस क्षेत्रबाट सयौंको संख्यामा सर्वसाधारण दुवै हात उठाएर फर्किएका हुन्।
यातायात मजदुरहरु सोमबार दिउँसो पनि सरकारसँग वार्तामै थिए। यसअघि आइतबार पनि वार्ता भएको थियो र वार्ता सकारात्मक थियो। दुवै पक्ष एक हप्ताभित्रमा माग सम्बोधन गर्न सहमत भएका थिए। नमिलेका केही विषयमा थप छलफल गर्ने भनेका थिए।
सरकारसँग वार्ता गरिरहँदा मजदुरहरुले नयाँ बसपार्कमा दिउँसो १ बजे विरोधसभा तय गरेका थिए। उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठ भन्छन्, ‘हामीले आन्दोलनलाई कम आँकेको त होइन, वार्ता सकारात्मक भएकाले संयमै होला भन्ने ठान्यौं, तर एक्कासि आन्दोलनकारी उग्र भए।’
यातायात मजदुरले भने बसपार्कमा आन्दोलन गर्न रोक लगाउन खोजेपछि आन्दोलन भड्किएको बताए। सवारी नियम उल्लंघन गरे १५ सय जरिवाना र सवारी प्रदुषण जाँचमा फेल भए एक लाख रुपैयाँ जरिवानाको व्यवस्था हटाउनु पर्ने मागसहित उनीहरुले १० बुँदे माग राखेका थिए।
उनीहरुले बसपार्क क्षेत्रमा सवारी सडकमा तेर्स्याएर विरोध गरेका थिए। आवतजावत ठप्प भएको थियो। सर्वसाधारणको पछि भीडभाड थियो। निजी सवारी चले पनि जामले अस्तव्यस्त बनेको थियो।
अपरान्ह आन्दोलनले उग्ररुप लियो। आन्दोलनकारीले प्रहरीलाई घेरा हालेर ढुंगामुढा गर्न थाले। प्रहरीले थप जनशक्ति परिचालन गरे पनि सवारी जामका कारण घटनास्थलमा समयमा पुग्न पाएनन्।
‘त्यहाँ भएको हाम्रो जनशक्तिले पनि सर्वसाधारणको क्षति नहोस् भनेर बल प्रयोग गरेन। एकोहोरो ढुंगामुढा गर्न थाले। हामीले सर्वसाधारणलाई जोगाउन सुरुमा कुनै प्रतिकार समेत गरेनौं,’ एसएसपी श्रेष्ठले भने, ‘पछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्यौं। त्यतिबेला सर्वसाधारणको भीडभाड कम भइसकेको थियो।’
आन्दोलनका कारण सर्वसाधारणले त्यस क्षेत्रमा दिनभर सास्ती बेहोर्नु परेको थियो। बसुन्धारादेखि बालाजु वाइपाससम्म सवारी आवागमन ठप्प भएको थियो।
आन्दोलनकारीको ढुंगामुढा लागेर २० जना नेपाल प्रहरी घाइते भएका छन्। प्रहरीका २ वटा गाडीमा आगजनी भएको छ। स्थायी प्रहरी बिटमा पनि क्षति पुगेको छ।
यस्तै बालाजुस्थित ल्होत्से मलमा तोडफोड भएको छ।
आन्दोलनले उग्र रुप लिएपछि ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। एसपीको कमान्डमा उपत्यकाका ४ वटा गण र एउटा गुल्मबाट २६५ जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
अहिले त्यहाँको अवस्था सामान्य बन्दै गएको प्रहरीले जानकारी दिएको छ। अहिले पनि त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
यातायात मजदुरले मंगलबार उपत्यकामा सवारीसाधान नचलाउने घोषणा गरेका छन्। सरकारले भने मजदुरलाई वार्तामा बोलाएको छ।
Shares

प्रतिक्रिया