समाज


पूर्ण खोप घोषित बाँकेमा कसरी फैलियो दादुरा?

विज्ञ भन्छन् : पूर्ण खोप घोषणा गर्नै गल्ती भयो
पूर्ण खोप घोषित बाँकेमा कसरी फैलियो दादुरा?

समृद्धा केसी
माघ ६ , काठमाडौँ

बाँके पूर्ण खोप घोषित जिल्लामा पर्छ। राष्ट्रिय खोप अभियान अन्तर्गत २०७७ चैत ६ गते भव्य कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गरिएका थियो। 

तर, दुई वर्ष नपुग्दै नियमित खोप अन्तर्गत पर्ने दादुरा खोप नलगाएकै कारण बाँकेमा १२ पुसदेखि तीव्र गतिमा दादुरा फैलिरहेको छ। ३ माघसम्म बाँकेका १९ वटा वडाका एक सय ९५ जना बालबालिकामा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ। 

स्वास्थ्य कार्यलय बाँकेकी प्रमुख सुनिता पौडेलका अनुसार नेपालगञ्ज उपमहानगरका १५ वडामा १८९ जना, कोहलपुरका २ वटा वडामा २ जना, खजुरा गाउँपालिकाको एउटा वडामा ३ जना र नरैनापुरको एउटा वडामा १ बिरामी छन्।

कसरी फैलियो दादुरा? 
दुई वर्षपहिला बाँकेलाई पूर्ण खोप जिल्ला भनिए पनि त्यसपछि खोप लगाउने कार्यलाई प्रथामिकता नदिँदा दादुरा प्रकोप फैलिएको कार्यालयले जनाएको छ। दादुराविरुद्धको खोप शिशु जन्मिएको नौ महिनादेखि १५ महिनासम्ममा दुई मात्रा लगाउनु पर्ने हुन्छ। 

बाँकेमा दादुरा देखिएका ९० प्रतिशतले पूर्ण मात्रा खोप नलगाएको पाइएको प्रमुख पौडेलले जानकारी दिइन्। 

‘के कारणले गर्दा दादुरा फैलियो भनेर पूर्ण रिपोर्ट आउन बाँकी नै छ,’ उनले भनिन्, ‘तर अहिलेसम्म हेर्दा बालबालिकामा कुपोषण र खोपप्रतिको नकारात्मक धारणाले गर्दा करिब ९० प्रतिशतले पूर्ण मात्रा खोप नै नलगाएको देखियो।’ 

खोप लगाउदा बालबालिकामा ज्वरो आउने, दुखेर उनीहरु रुने जस्ता सामान्य असरका कारण अभिभावकले खोप नै नलगाउने गरेको उनको भनाइ छ। 

धेरैजसो संक्रमण मुस्लिम र मधेशी समुदायमा देखिएको उनले बताइन्। 

त्यस्तै अभिभावकहरुमा जनचेतनाको कमी र स्वास्थ्यकर्मीले पनि खोपको महत्व  बुझाउन नसक्दा लगाउनेको संख्या निकै कम भएको उनी बताउँछिन्। 

उनी भन्छिन्, ‘खोप लगाउनु पर्छ भनेर घरघरमा जाँदा अभिभावकले बच्चाहरु नै लुकाउने। खोप लगाउने मनै गर्दैन थिए।’

दादुरा फैलिएका प्रभावित क्षेत्रमा विश्वस्वास्थ्य सङ्गठन, युनिसेफ र स्थानीय सरकारले धेरै सहयोग गरे पनि केन्द्र र प्रदेशले खासै चासो देखाएको छैन,’ उनले भनिन्। 

दादुरा उन्मूलन गर्न थप चुनौती
सरकारले २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गरिसक्ने लक्ष्य लिएको छ। तर नेपालगञ्जमा फैलिएको दादुराका कारण यो लक्ष्य पूरा गर्न थप चुनौती थपिएको देखिन्छ। 

सरकारले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य लिएको थियो। तर यो रोगको संक्रमण दर बढ्न थालेपछि उन्मूलनको लक्ष्य सन् २०२३ मा सारिएको हो। 

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले भने नेपालगञ्जमा फैलिएको दादुरा प्रकोपका कारण सरकारले लिएको लक्ष्य पूरा नहुने बताए। बाँकेलाई पूर्ण खोप जिल्ला घोषित गर्नु नै सरकारको सबैभन्दा ठूलो गल्ती भएको उनको भनाइ छ।

उनी भन्छन्, ‘पूर्ण खोप जिल्ला घोषणा गरेपछि खोप लगाउन को आउँछ? त्यति घोषणा गरेर सरकारलाई  कतैबाट पैसा आयो भन्दैमा खोप नलगाउने? खोप लगाउन कति छुटे,  अवस्था के छ, केही नबुझी हचुवाको भरमा घोषणा गरेको परिणाम अहिले देखिएको हो।’

राष्ट्रिय खोप अभियान पहिलेको भन्दा अहिले निकै खस्किएका कारण पनि यस्ता रोगहरुको प्रकोप बढ्दै गइरहेको उनी बताउँछन्। 

‘डरलाग्दो तरिकाले दादुरा फैलिरेकाले नियन्त्रणमा सबैले चासो देखाउनु पर्छ,’ उनले भने।

गत वर्षतिर पनि जाजरकोट, धादिङ र बाँकेमा फाट्फुट बिरामी भेटिएको परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ।

नियन्त्रणका लागि के गर्दै छ नेपालगञ्ज उपमहानगर? 
स्वास्थ्य कार्यालय बाँकेको सहयोगमा नेपालगञ्ज उपमहानगरले दादुरा फैलिएको वडामा दादुराविरुद्धको खोप र भिटामिन ‘ए’को क्याप्सुल खुवाउने तथा नियन्त्रण अभियान सुरु गरेको स्वास्थ्य कार्यालय बाँकेका खोप सुरपभाइजर नरेश श्रेष्ठले जानकारी दिए। 

त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाले सरोकारवाला र सबै वडाका स्वास्थ्यचौकीसँग समन्वय गरेर बिरामीलाई भेरी अस्पताल पठाउने र घरमै आइसोलेसन गर्न लगाएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए। 

प्रमुख विष्टका अनुसार दादुरा प्रकोप फैलिएपछि १० दिन विद्यालय बन्द गरेर खोप अभियानलाई निकै तीव्र गतिमा लगिएको छ। 

‘नेपाल सरकारले दादुरा उन्मूलन गर्ने लक्ष्य लिएको बेलामा हाम्रो ठाउँमा यसरी दादुरा फैलिनु निकै लाजमर्दो कुरा हो,’ उनले भने ‘पूर्ण खोप जिल्ला भनिए पनि खोप प्रभावकारी भए जस्तो देखिँदैन।’ 

दादुरा फैलिनुको कारण पत्ता लगाउन स्वयंमसेविकालाई घरघरमा पठाएर खोप कार्ड नै हेर्न लगाइरहेको उनले जानकारी दिए। 

‘स्वास्थ्य स्वयंमसेविकाहरु, गैरसरकारी संस्थाका स्वयंसेवकहरु तथा स्वास्थ्यकर्मीहरु मार्फत जनचेतना दिने काम पनि भइरहेकोे छ,’ उनले भने। 

दादुरा फैलिएपछि स्थानीय बासिन्दामा खोप चाहिँ लगाउनु पर्ने रहेछ भन्ने चेतना केही हदसम्म भए पनि बढेको उनी बताउँछन्। 

बाँकेमा ६ महिनादेखि १५ वर्षमुनिका ४२ हजार ९८० बालबालिकाहरु छन्। तीमध्ये २ माघसम्ममा २२ हजार १० जनालाई दादुरा–रुबेलाबिरुद्धको खोप लगाइएको  कार्यालयका खोप सुपरभाइजर श्रेष्ठले जानकारी दिए। 

नेपालमा दादुराविरुद्धको पछिल्लो खोप अभियान सन् २००४ देखि सुरु भएको हो। 

कस्तो रोग हो दादुरा? 
दादुरा कोरोनाभन्दा पनि छिटो फैलिने सरुवा रोग भएको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले जानकारी दिए। एक जना दादुरा संक्रमितले झन्डै १८ जनालाई सार्न सक्ने भएकाले यसलाई निकै तीव्र गतिमा फैलिने सरुवा रोग मानिन्छ।

‘दादुरा संक्रामक रोग हो जुन मिजल्स भाइरसको कारणबाट हुन्छ,’ उनले भने सामान्यतया दादुरा ५ वर्षमुनिका बालबालिकामा धेरै लाग्छ र छिट्टै महामारीको रुप लिन पनि सक्छ। यदि बालबालिकाको समयमा उपचार भएन भने गम्भीर प्रकारको जटिलता हुनुका साथै मृत्युसमेत हुन सक्छ।’

डा. पुनका अनुसार दादुरा जुनसुकै उमेर समूहमा देखिए पनि पाँच वर्षमुनि र ३० वर्षमाथिका व्यक्तिहरुलाई भने बढी असर पार्नसक्ने भएकाले ती उमेर समूहले विशेष सावधानी अपनाउनु पर्छ। 

लक्षण
शरीरमा दादुराको भाइरस प्रवेश गरेको ७ देखि १४ दिनसम्ममा लक्षणहरु देखिने डा. पुनले बताए। 

डा. पुनका अनुसार दादुरा भएका व्यक्तिमा ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, आँखा रसाएको जस्तो रातो हुने र मुख हुँदै शरीरभरि रातो बिबिरा देखिन्छन्। यस्ता लक्षणहरु देखिनासाथ बिरामीलाई अस्पताल लैजानु पर्छ।

दादुरा तीव्र गतिमा फैलिने भएकाले लक्षण देखिएका व्यक्तिहरुले जति सक्यो चाँडो भिडभाडबाट टाढा बस्नु पर्छ। त्यस्तै खोप लगाउनुपर्छ।

‘दादुराले बिरामीलाई गम्भिर बनाउनुका साथै निमोनिया हुने वा मस्तिष्क लगायत शरीरका विभिन्न अंगमा प्रत्यक्ष असर पार्न सक्छ। समयमा उपचार पाएन भने बिरामीको मृत्यु नै हुन सक्छ,’ उनले भने।

नेपालगञ्जको सन्दर्भलाई जोड्दै उनले खोप कार्यक्रमलाई तीव्र गतिमा नलगे महामारीकै रुप पनि लिन सक्ने पनि बताए।

माघ ५, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.