जङ्गली हात्तीको आक्रमणबाट नेपालमा बर्सेनि मानिसको ज्यान जाने क्रम बढेको छ। यही भदौ १३ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट १८ वर्षीया मीना जोशीको ज्यान गयो। घरनजिकै हात्ती देखेपछि भाग्ने क्रममा बाँसको झाडीमा हात्तीले जोशीलाई आक्रमण गरेको थियो। बर्सेनि जङ्गली हात्तीको आक्रमणबाट नागरिकको अकालमै ज्यान गएको भए पनि मानवीय क्षति न्यूनीकरण गर्न हात्ती नियन्त्रणको उपाय नखोजिएको हात्ती पीडितको आरोप छ।
संरक्षित क्षेत्र (निकुञ्ज–आरक्ष) र नजिकको बस्ती क्षेत्रमा हात्तीको आक्रमणबाट पछिल्लो १७ वर्षमा कम्तीमा दुई सयको मृत्यु भएको पाइएको छ। निकुञ्ज–आरक्ष रहेको भन्दा बाहिरका जिल्लामा हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु हुने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। विभागका अनुसार हालसम्म झापामा मात्रै ३७ को मृत्यु भएको छ। यसैगरी बर्दियामा ३५, चितवनमा २०, सप्तरी र बारामा १३–१३, सर्लाहीमा १२, पर्सामा ११, सुनसरी र उदयपुरमा ९/९, धनुषा र सिन्धुलीमा ८/८, मोरङमा ७, सर्लाही र रौतहटमा ६/६, मकवानपुरमा ३ र कञ्चनपुरमा यही भदौ १३ गते १ जनाको ज्यान गएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डिलबहादुर पुर्जापुनका अनुसार पछिल्ला वर्षमा हात्ती, बाघ र गैँडालगायत वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। यसरी ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहतस्वरुप रु १० लाख दिने नीतिगत व्यवस्था गरिएको भए पनि हात्ती नियन्त्रणको उपायमा भने ध्यान पुग्न सकेको छैन।
घाइते हुने व्यक्तिहरका साथै बाली र घरगोठमा क्षति पुगेका परिवारलाई पनि १० देखि ३० हजारसम्म क्षतिपूर्तिको व्यवस्था गरिएको छ।मानवीय बस्तीमा पसेर पटक–पटक वितण्डा मच्चाएकामध्ये अहिलेसम्म विभिन्न स्थानमा आठवटा हात्तीको घाँटीमा रेडियो कलर जडान गरेर सरकारले तिनीहरुको आउजाउ अनुगमन गरिरहेको सूचना अधिकारी पुर्जापुनले बताए।
हात्तीका लागि उपयुक्त बासस्थान पछिल्लो समय विभिन्न कारण खण्डीकृत हुँदै गएको तथा हात्ती हिँड्ने बाटो (करिडोर) कृषिकर्म, सहरको विस्तारलगायत कारण अतिक्रमणमा परेका कारण जङ्गली हात्ती मानवीय वस्तीमा पस्ने र बितण्डा मच्चाउने गरेको अनुमान गरिएको छ। सरकारले अघि बढाएको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, विद्युत् प्रसारण लाइन, सिँचाइ, सडक विस्तारलगायतले बासस्थान खल्बलिएपछि हात्तीको ओहोर–दोहोरमा समस्या आएको विज्ञहरुको बुझाइ छ। रासस
Shares
प्रतिक्रिया