ad ad

समाज


‘मिटरब्याजीले उठीबास लगायो, सरकारले पनि ठग्यो’

‘मिटरब्याजीले उठीबास लगायो, सरकारले पनि ठग्यो’

फाेटाे/भिडिओ : विशाल कार्की


राधिका अधिकारी
साउन २५, २०७९ बुधबार १५:३०, काठमाडौँ

नाम महादेव तेली। उमेर ६१ वर्ष। घर परासी सुस्ता ३ श्रीनगर। अहिले उनको बसाई राति गौशालास्थित धर्मशाला। दिनभर काठमाडौंको माइतीघर मण्डला। उनले माइतीघर मण्डलाको सडक किनारमा तातो घामको राप सहँदै बस्न थालेको हप्ता दिन भयो। उनलाई थाहा छैन अझै कति दिन यही सडक किनारमा बिताउनुपर्ने हो। गाउँ छोडेर न्याय खोज्न काठमाडौं आएका तेली न्याय नभेटिएसम्म घर फर्किने पक्षमा छैनन्। 

उनले ५ वर्ष अघि परासीकै बनासी जैसवालसँग व्यवसाय गर्न १२ लाख ऋण लिएका थिए। तेलीले यो ५ वर्षमा जैसवाललाई ३५ लाख रुपैयाँ बुझाइसके। तर उनको घर खेतको लालपुर्जा अझै जैसवालसँग छ। लालपुर्जा फिर्ताका लागि तेलीले अब ६० लाख रुपैयाँ ठीक पार्नु पर्ने छ। 

सुस्तामा तेलीको ९ कठ्ठा जग्गा छ। त्यहीभित्र बनाएको सानो चिटिक्कको घर। आफ्नै खेतको उब्जनीले जेनतेन वर्ष धान्छ। दुई छोरी विवाह भएर घर गैसके। छोरा बुहारी र नाति नातिनासँग खुशी साथ जीवन बिताइरहेका तेलीको जीवन मिटर ब्याजले अँध्यारो बनाएको छ। ५ वर्षयता तेलीका आँखामा निद्रा परेको छैन। मनमा चैन छैन्। जिन्दगीभर दुःख गरेर जोडेको घर–खेतको पूर्जा फसेपछि तेली गाउँमै चुप लागेर बस्न सकेनन्। 

एकसाता अघि केही हजार रुपैयाँ ऋण काडेर काठमाडौं हिँडेका तेलीले काठमाडौं आइपुग्न हजार रुपैयाँ खर्च गरे। ८ सयको टिकट काटेर रात्रिबस चढेका उनले दुई सयको बाटोमा खाना खाए। खोजीमा भएको अलिअलि रुपैयाँ सक्किसक्यो। उनीसँगै आन्दोलनरत सबैले खानाका लागि चन्दा संकलन सुरु गरेका छन्। 

न्याय माग्नेहरुको भिडमा भेटिएका ७७ वर्षीय प्रेमनारायण कोइरी राम्रोसँग उभिन सक्दैनन्। नवलपरासी सेरावत ७ बाट न्याय माग्दै काठमाडौं आएका उनको दायाँ खुट्टाले राम्रोसँग भर दिँदैन। एउटा खुट्टाको भरमा हिँडिरहेका प्रेमनारायण चस्माबिना आफू नजिकैको आकृति ठम्याउन सक्दैनन्। आफ्नै जिन्दगीका थुप्रै घटनाक्रम विस्मृत बन्दै गएका छन् उनको चेतनबाट। सबै कुरा भुल्दै जाँदा पनि भुल्नै सक्दैनन् मिटरब्याजी साहुले दिएको मानसिक पीडा। 

उनले २०७३ सालमा भत्किएको घर बनाउन साहुसँग ९ लाख रुपैयाँ लिएका थिए। घर बनाउन लिएको त्यहि ऋणले प्रेमनारायणलाई बेघर बनाइदियो। गाउँकै वसन्त कोहारले ९ लाख रुपैयाँ ऋण दिएर प्रेमनारायणको जमिन बन्धक राखिदिए। उनले दुई कठ्ठा जग्गा बेचेर २०७७ सालमा ९ लाख साँवा र ब्याज बुझाए। ९ लाख ऋणको साँवा ब्याज गरेर उनले १६ लाख रुपैयाँ बुझाए। 

तर साहुले उनको जमिन फुकुवा गरेन। उल्टै ४२ लाख रुपैयाँ तिर्नुपर्ने हिसाब देखायो। प्रेमनारायणलाई साहुले ४२ लाख नतिरे १२ कठ्ठा जग्गा र त्यही निर्माण भएको घर खाइदिने धम्की दिँदै आएका छन्।

तातो घाममा न्याय माग्दै बसेका प्रेमनारायण मलीन स्वरमा भन्छन् ‘९ लाख ऋण लिएको मैले १६ लाख बुझाइसकें। साहु अझै ४२ लाख माग्दै मानसिक पीडा दिइरहेको छ।’

आफूलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले पनि न्याय नदिएको उनको दुखेसो छ। काठमाडौंमा सरकार छ, सरकारले न्याय दिन्छ भनेर सेरावतदेखि बुढो शरीर घिसार्दै आएका प्रेमनारायणलाई मर्ने बेलामा न्याय हेरेर मर्ने मन छ।

भन्छन् ‘सासले शरीर कतिबेला छोडेछ ठेगान छैन। कम्तिमा मर्ने बेलामा न्याय पाउँछु कि भनेर काठमाडौं आएको हजुर ।’

उनी काठमाडौंले न्याय दिनेमा आशावादी देखिन्छन्। उनलाई न्याय माग्नै आफ्नै साथीहरुको भीडमा बस्न पनि मन लाग्दैन। साहुले बन्धक बनाएको घर–खेतको लालपुर्जा च्यापेर सडक किनारमा छेउ लागेर एक्लै बस्छन्। माइतीघरमा एकनासले झोक्राएर बसेका प्रेमनारायण मिटरब्याजीको पासोबाट मुक्ति चाहान्छन्।

प्रेमनारायणका छोरा लक्का जवान छन्। बन्धक भएको घर–खेत र साहुले दिएको मानसिक यातनाका कारण उनका छोरा विक्षिप्त छन्। उनी प्रेमनारायणलाई ‘मेरो सबै सम्पत्ति धितो राखेर बेघरको बनाइदिस्’ भन्दै गाली गरिरहन्छन्। प्रेमनारायणलाई छोराको गालीले सपनामा पनि तर्साउँछ।

भन्छन् ‘उसका लागि भए पनि पुर्जा फिर्ता गर्नु छ।’ 

सुस्ता ५ रतन गल्लीका रामसुभग मुसहरका थुप्रै सपना थिए। परिवार थियो। दु:खजिलो गरेर खाने थोरै खेत, मुस्किलले जीवन चलेको थियो। ७ वर्ष अघि साहुसँग लिएको १ लाख ५० हजार रुपैयाँले उनको यो मुस्किलको जिविका खोसियो। ओठको हाँसो र परिवारको शान्ति खोसियो। हिजोआज उनी माइतीघर मण्डलामा आफ्नो जीवनका यी यावत कुरा फर्काउन प्रदर्शन गरिरहेका छन्। 

रामसुभगले ७ वर्ष अघि छोरालाई विदेश पठाउन जगदीश बनियाँसँग १ लाख ५० हजार ऋण लिए। बनियाँले ३ लाखको कागज बनाए। मलेसिया गएका उनका छोराले त्यहाँ कमाइ गर्न सकेनन्। गएको केहि महिनामै बस्न सक्दिन भनेर फोन गरे। रामसुभगले छोरा भन्दा ठूलो पैसा ठानेनन्। आफ्नै देश फिर्ता बोलाए। 

उनले बनियाँको ऋण तिर्न जग्गा बेचे। साहुलाई ९ लाख बुझाए। अझै उनको ऋण चुक्ता भएको छैन्। रामसुभगको एक कठ्ठा घडेरी बचेको छ। त्यहि घडेरी पनि बेचिदिने धम्की दिइरहन्छन् बनियाँ। उनले अझैं २० लाख माग गरेका छन्। बेलाबेला बनियाँले पुलिस लाएर पिट्ने धम्की पनि दिदै आएका छन्। 

भिडिओ 

६३ वर्षका रामशुभगको दोस्रो अनसन हो। यसअघि २१ दिनको धर्ना र प्रदर्शनपछि गृहमन्त्रालयको न्याय दिन आश्वासन बोकेर उनी सुस्ता फर्किएका थिए। तर साहुले धम्कीको खबर पठाउन छाडेनन्। गृहको आश्वासन कागजमा मात्रै सिमित भयो। त्यसपछि उनी सबै कागजात बोकेर काठमाडौं फर्किए। साहुले १ लाख ५० हजारको सावाँ ब्याज हिसाव गरेर बाँकी पैसा फिर्ता गरोस् भन्ने उनको माग छ। 

आफ्नो जग्गाको लालपुर्जा फिर्ता पाउने आशमा आन्दोलन गरिरहेकाहरुको पंक्तिमा भेटिन्छन् ३८ वर्षका हृदयश कुर्मी। उनी घरको आर्थिक अवस्था मजबुत बनाउने सपना बोकेर कतार उडे। ६३ सालमा कतार उड्नु अघि उनले पनि जगदीश बनियाँसँग ९० हजार ऋण लिएका थिए। उनले कतारमा १८ महिनासम्म कमाएको सबै रकम बनियाँलाई बुझाए। 

ऋण चुक्ता भएपछि उनले केहि समय कतारमै बिताए। तर, गाउँ फर्किएपछि पनि घरको आर्थिक अवस्था सुधारिएन। उनी दोस्रो पटक १ लाख ९० हजार लिएर भारत पसे। भारतमा मजदुरी गरेर कमाएको पैसा साहुलाई तिर्दै गए। तर, ऋण तिर्दै जाँदा ऋणको भार घट्नुको सट्टा बढ्दै गयो।

उनलाई साहुको ऋण थाप्लोमा बोकेर बस्न मन लागेन। २०७२ सालमा ११ कठ्ठा जग्गा बेचेर २० लाख रुपैयाँ बुझाए। तर उनी आजसम्म पनि ऋण मुक्त हुन सकेका छैनन्। बाँकी भएको जग्गा साहुकोमा बन्धक छ। उनलाई ऋणबाट मुक्ति चाहिएको छ, बन्धक भएको जग्गा फुकुवा गर्नुछ।

भन्छन् ‘मसँग केही बाँकी छैन। कमाएको सबै पैसा साहुलाई बुझाए। जग्गा बेचे, भएको जग्गा साहुको बन्धक छ। आफूमाथि भएको अन्याय सहन नसकेर काठमाडौं आएको हुँ।’

जगदीश बनियाँसँगै ६४ सालमा १ लाख लिएकी त्रिसर्दादेवी राजभाको दुःख पनि उस्तै छ। जगदीशसँग १ लाख लिएर साउदी अरब पुगेकी राजभाले ६ वर्षको कमाइ साहुलाई बुझाइन्। त्यसपछि छोरालाई मलेसिया पठाइन। उनका छोराले पनि ३ वर्षको कमाइ साहुलाई बुझाए। राजभाका आमाछोराले १ लाख लिएको ऋणको सावाँब्याज गरेर १८ लाख बुझाए। 

तर उनको जग्गा साहुको बन्धक छ। उनी पनि आफ्नो बन्धक जग्गा फुकुवा हुने आशमा आन्दोलनमा सरिक भएकी छिन्। उनी भन्छिन् ‘हामी आमाछोराको ९ वर्षको कमाइ साहुले खाइदियो, मलाई न्याय चाहिएको छ।

नवलपरासी बर्दघाटका अजय आलेमगरका सपना निधारबाट छुटेका पसिनासँगै बगिरहेछन्। २८ वर्षका अजयले १२ कक्षा पास गरेका छन्। उनका बुवा पनि रिटायर अफिसर हुन्। बर्दघाटमै २० कठ्ठा खेत छ। तर, यो खेतको पुर्जा साहुको बन्धक छ। 

उनका बुवाले छोरीलाई विदेश पठाउन भनेर चितवनका हेमराज थापासँग ७ लाख ऋण लिने सहमति गरे। तर विदेशको प्रकृया पुरा भएन। अन्य कामका लागि एक लाख लिए। हेमराजले अजय परिवारको नाममा १६ लाखको तमसुक बनाएको रहेछ। यो पनि अन्यले केही वर्षअघि मालपोत कार्यालयको ठेलीमा खोजेर भेट्टाएका हुन्। अजयले केही समय विदेश बसेर साहुलाई २ लाख बुझाए। 

अजय विदेश रहेका बेला साहुले उनका बुवासँग १ करोड माग्यो। ६० टेकेका उनका बुवाले सहन सकेनन्। बिरामी परे। त्यसपछि अजय नेपाल फर्किए। अहिले प्यारालाइसिसले थलिएका छन्। आमा सधैँकी बिरामी। बुवाआमा दुवैलाई नियमित औषधि खुवाउनु पर्छ। आम्दानीको बाटो छैन। भएको जग्गा साहुको बन्धक छ। हेमराजले एजेन्टमार्फत जग्गा खाइदिने धम्कीको खबर पठाइरहन्छन्। अजयसँग पैसा तिर्ने उपाय छैन। उनी न्याय खोज्दै काठमाडौं आइपुगेका छन्। 

बर्दघाटकै कृष्णबहादुर सार्कीको पीडा पनि उस्तै छ। कमजोर आर्थिक अवस्थाका कारण कृष्णले स्कुल लेभलको पढाइ पनि पुरा गर्न पाएनन्। घरका जेठाछोरा कृष्णको थाप्लोमा थियो परिवारको जिम्मेवारी। सानैमा इन्डिया पसेका उनले निक्कै वर्ष भारतमा मजदुरी गरे। भारतको मजदुरीले परिवार धान्न मुस्किल भएपछि उनका बुवाले बर्दघाटकै होम रानासँग १ लाख ऋण काडेर खाडी मुलुक पठाए। 

कृष्णले विदेशमा कमाएको ३ लाख रानालाई बुझाए। उनी ३ वर्ष विदेशमा बसे। यता उनका  बुवाको अवस्था नाजुक भएको थियो। साहुले आफ्नो भएको १० कठ्ठा जग्गा बन्धकी राखिदिएपछि मानसिक रुपमा विक्षिप्त भए। छोराले कमाएर पठाएको पैसा सिरानीमा राखेर सुत्थे। उनलाई आश थियो पैसा दिएपछि साहुले आफ्नो जग्गा फुकुवा गरिदिन्छन्।

तर, भइदियो उल्टो, कृष्णका बुवा साहुको धम्की सहन नसकेर बिते। कृष्णले बुवाको अन्तिम अनुहार देख्न पाएनन्। उनी बुवाको मृत्युको खबर पश्चात नेपाल फर्किए। उनको बुवाको मृत्यु भएको १ वर्ष भयो।  

कमाएर परिवार पाल्नु पर्ने कृष्ण मेरो जग्गाको लालपूर्जा फिर्ता दे भनेर आन्दोलनमा हिँडिरहेका छन्। उनलाई आफ्ना छोरालाई राम्रोसँग पढाउन मन छ। छोरालाई राम्रो शिक्षा दिन पनि उनलाई फेरि विदेश जानु छ। विदेश जाने पैसा साथमा छैन। जग्गा धितो राखेर ऋण लिन साहुको बन्धक छ। त्यही बन्धक भएको जग्गा फुकुवाको माग गर्दै काठमाडौं आएका कृष्ण काठमाडौंले न्याय दिने आशमा छन्।

न्याय खोज्दै सुस्ता, बर्दघाट, सेरावतका उनीहरु गौशाला स्थित धर्मशालामा बस्छन्। झण्डै ७० जनाको टोली पशुपति नजिकै धर्मशालामा पाल टाँगेर बसेका छन्। पाल मुनी एकैपटक सबैजनाले निदाउने वातावरण छैन। यथार्थ सबै एकैपटक सुत्न ठाउँ पुग्दैन। उनीहरु पालो गरेर सुत्छन्। कतिका आँखा रातभरि निदाउन सक्दैनन्।

बर्खे झरीले हिलाम्मे जमिनमा पाल टाँगेर बसेका उनीहरुलाई पालले राम्रोसँग ओत दिन सकेको छैन। गौशालामा टाँगिएको पालमुनि बसिरहेका उनीहरु हरेक बिहान सरकारको खोजी गर्दै माइतीघरमा प्रदर्शन गर्छन्। 

गाउँबाट बोकेर आएको सामल सक्किसक्यो। बोकेर आएको पैसा निख्रिँदै गयो। मंगलबार बिहान तरकारी नभएर नुनसँग भात खाएर प्रदर्शनमा आएको रामसुभग मुसहरले सुनाए। उनीहरुसँग निस्तो भात निल्नुको विकल्प छैन। 

धर्नामा बसेका मध्ये धेरैजना यसअघि पनि धर्ना बसेर फर्किएका किसान हुन्। गृह मन्त्रालयका प्रतिनिधिले उनीहरूसँग सम्झौता गरेर गाउँ फर्काएका थिए। तर उनीहरुका दुःखका दिन सकिएनन्। साहुको ऋणबाट छुटकारा मिलेन। त्यसपछि उनीहरु पुनः धर्ना बस्न काठमाडौं आए।

धर्नाको मोर्चा सम्हालिरहेका रामसुभग मलिन स्वरमा सुनिए ‘हामीलाई सरकारले पनि झुक्यायो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .