ad ad

समाज


यी १७ अस्पतालमा निःशुल्क हुन्छ कोरोना संक्रमणको उपचार

यी १७ अस्पतालमा निःशुल्क हुन्छ कोरोना संक्रमणको उपचार

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल


नेपालखबर
साउन १७, २०७९ मंगलबार ८:५१, काठमाडौँ

पछिल्लो समय कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ। महामारी नियन्त्रणका लागि सरकारले देशका १७ वटा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको निःशुल्क उपचारबापत सम्बन्धित अस्पताललाई अनुदान दिने व्यवस्था गरिएको हो। 

गत असार ३१ गतेको निर्णयानुसार कोरोना संक्रमणको मध्यम अवस्था (मोडरेट केस) र गम्भीर अवस्था (सिभियर केस) का बिरामीले तोकिएका १७ अस्पतालमा उपचार गर्दा शुल्क तिर्न नपर्ने मन्त्रालयले जनाएको छ।

यसरी कोरोना संक्रमितको निःशुल्क उपचार गरिने अस्पतालमा प्रदेश–१ को विराटनगरस्थित कोसी अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तोकिएको छ। 

यसैगरी मधेश प्रदेशमा जनकपुरको जनकपुर प्रादेशिक अस्पताल र वीरगन्जको नारायणी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुनेछ। 

त्यसैगरी बागमती प्रदेशमा टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, चितवनको भरतपुर अस्पताल, काठमाडौंस्थित वीर अस्पताल र महाराजगन्जमा रहेको त्रिवि शिक्षण अस्पताल, ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि कोरोनाको निःशुल्क उपचारका लागि तोकिएको छ। 

गण्डकी प्रदेशमा पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बागलुङको धौलागिरि अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ। 

यस्तै कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीरेन्द्रनगरमा रहेको सुर्खेत प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुनेछ। सुदूरपश्चिम प्रदेशमा डडेलधुरास्थित डडेलधुरा अस्पताल र कैलालीमा रहेको सेती प्रादेशिक अस्पताललाई कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने अस्पतालका रूपमा तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .