ad ad

समाज


देशका धेरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना

२४ घण्टाका लागि चेतावनी
देशका धेरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
साउन १५, २०७९ आइतबार ६:२४, काठमाडौँ

अहिले (आइतबार बिहान ६ बजेर ७ मिनेट जाँदा मौसमविद्सँग कुरा गरेका बेला) काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले दिएको जानकारीअनुसार यतिबेला बागमती, गण्डकी, लुम्बिनी र प्रदेश १ का एक दुई स्थानमा पानी परिरहेको छ। 

महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै राति देशका पहाडी भेगमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी ठाउँमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र  मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसमविद् मानन्धरका अनुसार मनसुनको न्यून चापीय रेखा जताजता जान्छ उतै वर्षाको सम्भावना बढी हुन्छ। ‘अहिले देशको पूर्वतर्फ न्यून चापीय रेखा नर्मल स्थानभन्दा केही उत्तर (नेपालतर्फ) छ, त्यसैले पूर्वतर्फका प्रदेशमा भारी वर्षाको सम्भावना भएको हो’, उनले नेपालखबरसँग भनिन्, ‘पश्चिमतर्फ चाहिँ न्यून चापीय रेखा नर्मल स्थान आसपास रहेकाले त्यता भारी वर्षाको सम्भावना छैन।’

मौसम पूर्वानुमान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ : देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .