ad ad

समाज


१७ डीआईजीले फुली लगाए, जिम्मेवारी पाएनन्

१७ डीआईजीले फुली लगाए, जिम्मेवारी पाएनन्

नेपालखबर
असार १९, २०७९ आइतबार १९:७, काठमाडौँ

नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। एसएसपीबाट डीआईजीमा बढुवा भएका डीआईजीहरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। 

नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयले २०७९ असार १७ गते उनीहरुलाई बढुवा गरेको थियो। 

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। 

वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदिप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा डीआईजीमा बढुवा भएका थिए। 

महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी नायब महानिरीक्षकहरूलाई बधाई दिँदै भविष्यमा नेपाल प्रहरी संगठनको उच्च तहमा पुग्न सक्षम भएको प्रमाणित गराउने गरी काम गर्न निर्देशन दिए। पदोन्नतिपछिका दिनहरू अझ चुनौतीपूर्ण रहेकोले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

प्रहरी महानिरीक्षक सिंहले संगठनका सीमित पदमा मात्र पदोन्नति गर्नुपर्ने बाध्यता भएको चर्चा गर्दै पदोन्नतिमा छुटेका प्रहरी अधिकृतहरूले अझ व्यावसायिकताका साथ दत्तचित्त भएर कार्यसम्पादन गर्नुपर्ने बताए।

पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक वसन्तबहादुर कुँवरले कर्मको जीवन दिने आमारूपी नेपाल प्रहरी संगठनप्रति सदैव इमानदार, बफादार र पेसागत व्यावसायिक निष्ठा कायम राखी जुनसुकै किसिमको गैरव्यावसायिक आचरण, व्यवहार, हाउभाउ र जीवनशैलीप्रति शून्य सहनशीलता अपनाउँदै सांगठनिक लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

जिम्मेवारी अझै अनिश्चित
प्रहरी महानिरीक्षकमा बढुवा भए पनि उनीहरुको जिम्मेवारी भने अझै निश्चित भइसकेको छैन। ७ वटा प्रदेशसहित महत्वपूर्ण निकाय नेतृत्वविहीन छन्। यस्तै सीआईबी, उपत्यका प्रहरी कार्यालय र हेडक्वार्टरका सबै विभाग डीआईजीविहीन छन्। 

प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेश पनि नेतृत्वविहीन छन्। मधेशमा मसाउद आलम खाँ, लुम्बिनीमा नलप्रसाद उपाध्याय र सुदूरपश्चिममा मोहनकुमार आचार्य कार्यरत छन्। 

नेपाल प्रहरीमा जनपदतर्फ २० जना डीआईजीको दरबन्दी रहेकोमा १७ जनाको पदस्थापन हुन बाँकी छ। सबै प्रदेशमा नयाँ डीआईजी पठाउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ। 

यसअघि प्रदेश प्रमुखमा जान हारालुछ हुने भए पनि यसपटक वरीयतामा अगाडि रहेका डीआईजीहरु प्रदेशमा जान मानिरहेका छैनन्। 

नेपाल प्रहरीमा मंसिरसम्ममा चार जना एआईजीको दरबन्दी खाली हुँदैछ। ती दरबन्दीमा बढुवाका लागि लबिइङ गर्न उनीहरु प्रदेश जान नमानेका हुन्। 

उनीहरु डीआईजीमा बढुवा भएसँगै नेपाल प्रहरीमा ३२ एसएसपी पनि रिक्त भएका छन्। एसएसपी बढुवामा ढिलाइ हुँदा काठमाडौं परिसर, अपराध महाशाखा, ट्राफिक महाशाखा, विमानस्थल सुरक्षा कार्यालय लगायत नेतृत्वविहीन भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .