ad ad

समाज


आज धान दिवस मनाइँदै

२७ अर्बको चामल र १५ अर्बको धान आयात
आज धान दिवस मनाइँदै

नेपालखबर
असार १५, २०७९ बुधबार ७:१०, काठमाडौँ

असार १५ गते हरेक वर्ष आउँछ र जान्छ। सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर।

मुलुक कृषि प्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो।

हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ। मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन,कंक्रिटका जङ्गल बढ्दै गएको छ।

खेती गर्नेको आत्मसम्मान समेत बढ्न सकेको छैन। सोही कारण हरेक दिन विदेशिने युवाले पठाउने विप्रेषण खर्चबाटै चामल आयात हुने गरेको छ। भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने विवरण हेर्ने हो भने नेपालको परिचयमा समेटिएको ‘कृषि प्रधान देश’ भन्ने विश्लेषण  पनि अब जिस्क्याएजस्तो हुन थालेको छ। 

नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको विवरण केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ।

हरेक वर्ष कृषि क्षेत्रको विकासका लागि भनेर गरिएको खर्चसमेत वास्तविक किसानले पाउन नसकेको अवस्था छ।

सोही अवस्थालाई ध्यानमा राखेर सरकारले आगामी आवको बजेटमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको हो। किसानको आत्मसम्मान बढाउने कार्यक्रमसमेत बजेटमा स्पष्ट व्यवस्था गरिएको छ तर मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने विषय केवल नारामै सीमित छ।

मुलुकमा कृषि उपजको आयात बढ्दो देखिएको छ। खाद्यान्न आयातमा मुलुकको अर्बौं रकम बाहिरिरहेको तथ्याङ्क सार्वजनिक भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौं रकम बाहिरिएको छ।

विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म  २७ अर्ब १२ करोड एक लाख २३ हजार रुपैयाँ मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ। 

त्यसबाट सरकारले दुई अर्ब ५४ करोड ९२ लाख ८२ हजार बराबरको राजस्व संकलन गरेको छ। भारतबाट मात्रै २६ अर्ब ९३ करोड २९ लाख १० हजार रुपैयाँ मूल्य बराबरमा ४९ करोड छ लाख ८६ हजार ९३५ केजी चामल आयात भएको छ। 

त्यस्तै मुलुकमा १५ अर्बभन्दा बढीको धान आयात भएको छ। विभागका अनुसार चालु आवको पहिलो ११ महिनामा रु १५ अर्ब ९२ करोड ११ लाख ७७ हजार मूल्य बराबरको ५४ करोड दुई हजार १८० केजी धान आयात भएको छ। 

त्यसबाट सरकारले ७९ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।

त्यस्तै धानको बीउमात्रै ८७ करोड पाँच लाख ७२ हजार  रुपैयाँ बराबरको कूल ५१ लाख १५ हजार ३० केजी आयात भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .