ad ad

समाज


वरीयतामा फर्किए वसन्त, फेरिए आईजीपीका दाबेदार

वरीयतामा फर्किए वसन्त, फेरिए आईजीपीका दाबेदार

बढुवा सिफारिसमा परेका एसएसपी वसन्त कुँवर


नेपालखबर
असार ९, २०७९ बिहिबार १३:२९, काठमाडौँ

२८ वर्षपहिले वसन्त बहादुर कुँवरले प्रहरी निरीक्षकमा पहिलो नम्बरमा नाम निकालेका थिए। त्यसपछि उनी कहिले पनि आफ्नो वरीयतामा अडिएनन्। 

डीएसपी, एसपी र एसएसपीमा बढुवा हुँदा झन् झन् पछाडि धकेलिए। अवकाशको दुई वर्षपहिले भर्ना हुँदाको वरीयतामा फर्किएका वसन्त नेतृत्वको समेत बलियो दाबेदार बने। 

एसएसपी हुँदासम्म उनलाई आईजीपीको दाबेदारका रुपमा हेरिएको थिएन। यो ब्याचबाट आगामी चैतदेखि नेतृत्वमा पुग्छन्। त्यसअघि नै नेपाल प्रहरीमा तीन एआईजी रिक्त हुने सम्भावना छ। आईजीपीविरुद्ध सर्वोच्चमा मुद्दा लडिरहेका एआईजी विश्वराज पोखरेल मुद्दा नजिते आगामी साउन २० गते अनिवार्य अवकाशमा जानेछन्। 

यस्तै मंसिरमा रविन्द्र धानुक पनि उमेर हदकै कारण अवकाश हुनेछन्। त्यसअघि मुकुन्दराज आचार्य अवकाशमा जाँदा ती जना एआईजी रिक्त हुनेछ। 

त्यतिबेला आईजीपी धिरजप्रताप सिंहकै ब्याची बढुवा भएमा आगामी चैतमा डीआईजीबाट सिधै आईजीपी बनाउने अवस्था हुन्छ। तर त्यसअघि रिक्त हुने एआईजीमा हाल डीआईजी सिफारिस भएका मध्यबाट गरिए आईजीपीको सम्भावना बलियो हुन्छ र त्यो सम्भावनामा सबैभन्दा अगाडि छन् वसन्त। 

भर्ना हुँदा पहिलो नम्बरमा भएका कुँवर डीएसपी हुँदा ६ नम्बरमा र एसपीमा १२ नम्बरमा पुगेका थिए। पछि एसएसपीमा ब्याचबाट १३औँ नम्बरमा पुगेका कुँवर एकैपटक १२ स्थान अगाडि आइपुगेका हुन्। 

एसएसपी हुँदा पहिलो नम्बरमा रहेका सन्दीप भण्डारी सातौँ नम्बरमा पुगेका छन्। उनको नेतृत्वमा पुग्ने सम्भावना अब टाढिएको छ। दोस्रो वरीयतामा टेकप्रसाद राई यथावत् छन्। उनी यसअघि एसएसपीमा पनि दोस्रो नम्बरमै थिए। 

तेस्रो नम्बरमा अशोक सिंहले फड्को मारेका छन्। उनी कुँवरभन्दा झण्डै दुई वर्षपछि मात्रै एसएसपी भएका थिए। तर प्रधानमन्त्री र आईजीपी निकटका रुपमा चिनिएका सिंहले पनि अप्रत्याशित फड्को मारेर नेतृत्वको दाबेदार बनेका हुन्। 

यसअघि वरीयतामा अगाडि आउने चर्चामा रहेका उमेशराज जोशी र रामदत्त जोशी भने वरीयताको १०औँ नम्बरभित्र पनि अटाएनन्। 

चौथो नम्बरमा दीपक थापा सिफारिस भएका छन्। उनी कुँवरभन्दा पछिल्लो ब्याचका हुन्। कुँवर आईजीपी भए थापा पनि आईजीपी हुनेछन् छोटो समयका लागि। आफ्ना ब्याचीभन्दा थापा निकै अगाडि बढिसकेका छन्। सके आगामी चैतमा नभए अर्को वर्ष उनी आईजीपी बन्ने सम्भावना बलियो बनेको छ। 

उनको ब्याचबाट टेकबहादुर तामाङ र भीम ढकाल मात्रै डीआईजी सिफारिसमा परेका छन्। 

यस्तै श्यामलाल ज्ञवाली वरीयतामा यथावत् रहँदा किरण बज्राचार्य केही अगाडि पुगिन्। 

काठमाडौं परिसर प्रमुख सुदीप गिरीले पनि अप्रत्याशित अगाडि आउँदा मिरा चौधरी र टेकबहादुर तामाङ पनि पहिलेकै अवस्थामा टिक्न सफल भए। तेस्रो नम्बरमा रहेका उमेशराज जोशी ११, १३औँमा रहेका भीमप्रसाद ढकाल १२, रामदत्त जोशी १३औँमा रहँदा पोषराज पोखरेल र बुद्धिराज गुरुङ त्यसपछि छन्। 

१६औँ स्थानमा दुर्गा सिंह बढुवा हुँदा उनले यसअघिको ब्याच भेटाइन्। यो ब्याचबाट चार जना महिला निरीक्षकमा भर्ना भएर एसपीसम्म सँगै बढुवा भएका थिए। तर एसएसपीबाट दुर्गा सिंह र किरण राणा छुटेका थिए। दुई वर्षपछि एसएसपी भए पनि अहिले डीआईजीमा भने उनीहरु पनि आइपुगेका हुन्। 

सरकारले २०७५ मा एसएसपी भएका १३ जना नै डीआईजी सिफारिस भएका छन्। २०७७ मा एसएसपी भएका मध्यबाट चार जना बढुवा भए। तर पछिल्लो ब्याचबाट भने वरीयतामा पछाडि नै रहेका तानिएको छ। दुई महिला तान्दा काठमाडौं हाँकेका दुई एसएसपीले डीआईजी बन्ने अवसर पाएका छन्। 

नेपाल प्रहरीका सरुवा बढुवामा सधैँ विवादित बन्दै आएको देउवा सरकार यस पटकको बढुवा सिफारिसमा भने कम विवादित बनेको छ। अब एक हप्ता उजुरी गर्ने समय रहनेछ। त्यसपछि सरकारले बढुवाको निर्णय गर्नेछ।

बढुवा भएसँगै सबै प्रदेश र विभागमा नयाँ डीआईजीहरु पुग्नेछन्। हाल कार्यरत डीआईजीलाई पनि सरुवा गरेर सबै प्रदेशमा नयाँ डीआईजी पठाउने गृह मन्त्रालयको तयारी छ। हाल तीन जना डीआईजी मात्रै कार्यरत छन्। नेपाल प्रहरीको जनपदतर्फ २० डीआईजीको दरबन्दी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .